होशियार ! अनलाइनबाट मोबाईल किन्दै हुनुहुन्छ ? सस्तोको लोभमा ठगको फेला पर्नुहोला (भिडियाेसहित)

सामाजिक सञ्जाल फेसबुक पेज तथा अनलाइनमा देखिने विज्ञापनको प्रयोग गरी ठग्नेहरु सक्रिय रहेको खुलेको छ। 

एक लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने मोवाइल ४० हजार रुपैयाँमै पाइने अनि डेढ लाख पर्ने ल्यापटप कम्प्युटर ८० पनि नपर्ने भन्दै फेसबुकमा आउने विज्ञापनले आम नागरिक ठगिने गुनासो प्रहरीसमक्ष पुग्ने गरेको छ।

अनलाइनबाट हुने ठगी बढ्न थालेपछि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेको थियो तर पनि ठगी गिरोहले विभिन्न माध्याम प्रयोग गर्दै आमनागरिकलाई ठगी गर्ने क्रम बढ्दै गएको छ।

सामाजिक सञ्जाल फेसबुककै माध्यमबाट ठगी गर्ने गिरोहका दुई जनालाई आइतबार ललितपुर प्रहरीले सार्वजनिक गरेको छ। 

‘स्काई मोबाइल’ नामको फेसबुक पेज बनाएर पर्सा जिल्लाको अजय भन्ने प्रमोद साह र मेवालाल साह तेलीको समूहले एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले प्रमोदलाई पर्साबाट र मेवालाललाई काठमाडौंबाट पक्राउ गरेको हो। 

पक्राउ परेका दुई जनाले विदेशबाट सञ्चालित ठग गिरोहको पैसा सङ्कलन गर्ने र विदेश पठाउने गरेको ललिपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। 

एसएसपी बज्राजार्चका अनुुसार, महंगा ब्राण्डका मोबाइल तथा ल्यापटप कम्प्युटरहरु ५० प्रतिशत सस्तोमा भन्दै विज्ञापन गर्ने र सम्पर्कमा आएका व्यक्तिलाई ई–सेवामा रहेको विभिन्न व्यक्तिको नाममा रहेका खातामा जम्मा गर्न लगाउने अनि त्यहाँ रकम जम्मा भएपछि सम्पर्कबिहीन हुने गरेका थिए। 

एक लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने आइफोनलाई ४० हजारमा पाइने भन्दै उनीहरुले विभिन्न व्यक्तिलाई प्रभावमा पार्ने गरेको प्रहरीले जनाएको छ।  

पैसा लिएपछि उनीहरुले एकपछि अर्को खातामा जम्मा गर्दै अघिका प्रमाणहरु नष्ट गर्ने गरेको प्रहरी अनुन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार, सुरुमा फोन गर्दा विदेशीले उठाएर बोल्ने गर्छन्। त्यसका कारण पनि ग्राहकले सही नै व्यापार होला भन्ने ठान्छन्। यो ग्राहकलाई भ्रम दिनका लागि तयार गरिएको प्रपञ्च हो। 

पक्राउ परेका साहले विरगञ्जमा आईएमई मनी ट्रान्स्फरको शाखा नै चलाउँदै आएको पनि प्रहरीले जनाएको छ। 

उनको आईएमईमा आउने ग्राहकको विवरणबाट ई–सेवामा खाता खोल्ने अनि एक जनाले त्यसमा जम्मा गर्नासाथ त्यो खाता बन्द गरी सम्पर्क बिहीन हुने र अर्को खाता खोल्दै रकम बटुल्ने गरेको प्रहरीले जनाएको छ। 

उनीहरुबाट पीडित बनेकाहरु प्रहरी सम्पर्कमा आउने क्रम जारी छ। उनीहरुबाट ठगिएकाहरुलाई सम्पर्कमा आउन प्रहरीले आग्रहसमेत गरेको छ।

ठग गिरोहले प्रभावमा पार्न अमेरिकाबाट सामान पठाएको भन्दै नक्कली ‘वेवसाइट’ बनाएर नक्कली ट्रयाक नम्बर दिएर सामान आउँदैछ भन्दै झुलाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले उक्त ठग गिरोहका अरु व्यक्तिलाई इण्टरपोलको सहयोगमा खोजी गर्ने तयारी गरेको पनि जनाएको छ। 

एसएसपी बज्रचार्यले भनिन्, ‘नेपालमा पक्राउ परेका दुई जना ठगले गिरोहको रकम सङ्कलन गरी विदेश पठाउने गरेको देखियो । बाँकी विदेशमै बसेको पाइएको छ । हामी अनुसन्धान गर्दैछौँ ।’

यसरी हुन्छ ठगी

फेसबुकमा ‘स्काई मोबाइल’ नामक एक पेज छ, त्यहाँ महँगा तथा नयाँ मोडलका आईफोन, सामसुङ तथा अन्य विभिन्न ब्राण्डका मोबाइलहरु रसिदमा ४० देखि ५० प्रतिशत छूट त्यो पनि तीन दिनमा घरमै डेलिभरी दिन भनिन्छ। 

त्यो देखेपछि विभिन्न व्यक्तिले पेजमा भएको फोनमा फोन गर्छन्। त्यो फोन विदेशीले उठाउँछ र के सामान चाहिएको हो भन्दै माग फाराम भर्न लगाउँछ। 

फाराम भरेपछि केही रकम सुरुमै माग्छ । अनि त्यसपछि उसलाई तपाईंको सामान केही दिनमा आइपुग्छ भन्दै झुलाउँछ । विभिन्न बहाना बनाउँदै केही दिनपछि थप रकम माग्छ । 

रकम खातामा आइनपुगुञ्जेलसम्म विभिन्न बहानामा झुलाइन्छ। जब रकम आइसक्छ, अनि पहिला रकम जम्मा गर्न लगाएको ई–सेवाको खाता बन्द हुन्छ। 

त्यहाँ भएको पैसा अर्कोको नाममा भएको बैक खातामा जम्मा हुन्छ। त्यसपछि त्यो रकम एटिएम कार्डबाट  झिकिन्छ। त्यो रकम झिकेर बिदेश पठाउने काम पर्सामा पक्राउ परेका प्रमोद साहले गर्दै आएका थिए। 

साहको आफ्नै आईएमई सेन्टर भएका कारण विभिन्न ग्राहको विवरण राखी ई–सेवामा खाता खोल्ने पहिला रकम त्यो खातामा आउँछ । अनि एक पटक प्रयोग पछि त्यो खाता बन्द गर्दै अन्य खातामा सार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2021-01-17 20:07:00

प्रतिकृया दिनुहोस्