डडेल्धुराबाट १० दिनअघि काठमाडौं आएका थिए ६१ वर्षका रामचन्द्र ओझा–श्रीमती भारतीदेवी ओझाका साथमा।
श्रीमतीकाे पित्तथैलीको पत्थरीकाे उपचारका लागि उनी काठमाडाैंकाे वीर अस्पताल धाए। तीन दिनअघि मात्र रामचन्द्रले वीरमा श्रीमतीकाे स्वास्थ्य परीक्षण गराए।
त्यसपछि डाक्टरले भारतीदेवीकाे पत्थरिकाे अप्रेशन गर्नुपर्ने सुझाए। त्यही अप्रेशनकाे मिति तय गर्न उनलाई साेमबार बाेलाइयाे।
तर बिडम्बना, साेमबार चिकित्सकले देशभर आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गरिदिएपछि भारतीदेवीकाे अप्रेशन मिति नै ताेकिएन।
रामचन्द्र अहिले चिन्तितमा छन्–श्रीमतीकाे उपचार कहिले हुने हाे?
हुनत उनी श्रीमतीको उपचार डडेल्धुरामै गराउन चाहन्थे तर सुगर–जण्डिसकी पनि बिरामी रहेकी भारतीदेवीको स्वास्थ्यलाई मध्यनजर गर्दै उनी काठमाडौं हानिए, श्रीमतीलाई डोर्याउँदै–डोर्याउँदै।
काठमाडौंमा राम्रो उपचार पाउने सपना बुनेर आएका रामचन्द अहिले भन्छन्– डाक्टरको गुनासो सरकारसँग हो तर बिरामीसँग होइन। अस्पतालमा बिरामीको उपचार हुनुपर्छ।
000
ओखलढुङ्गाका कुलबहादुर शाही पनि २ दिनअघि काठमाडाैं आइपुगे, सुगर अनि पत्थरिकाे उपचारका लागि।
तर चिकित्सकहरूले स्वास्थ्य सेवा बन्द गरिदिएपछि अहिले उनकाे उपचार पनि अन्याेलमा छ।
आफ्नो उपचार गराउने मिति सोमबार तय भइसकेकाे बताउँदै उनी भन्छन्–डाक्टरको माग पूरा होस्। बिरामीले चाँडै उपचार पाओस्।’