‘सम्बन्ध बग्दै गएपछि समुद्र बन्छ, छाल आउँछ, तर डगमगाउँदैन’

काठमाडौंप्रेस

काठमाडाै‌ं

सम्बन्ध एउटा बिन्दुमा पुगेपछि समुद्रजस्तो हुँदो रैछ । सुरु–सुरुमा एक–अर्कालाई बुझ्न नसक्दा सम्बन्ध खहरे खोलाजस्तै अस्थिर हुँदो रैछ– छिनमै रिसाउने, छिनमै भड्किने खालको । अलिअलि एक–अर्कालाई बुझ्न थालेपछि नदीको रूप लिँदो रैछ । बुझ्दै जाँदा, एक–अर्कालाई भोग्दै जाँदा सम्बन्ध समुद्रजस्तो विशाल बन्दो रैछ— जसलाई हल्लाउन पनि महाविपत्ति नै आउनुपर्छ ।

अहिले मेरो र विनोदजी (श्रीमान् विनोद मानन्धर)को सम्बन्ध पनि समुद्रजस्तै छ । आज आएर हामी छुटिने कुरा असम्भवजस्तै हुन्छ । सानातिना छाल, तरङ्ग त आउँछन् नै ।

परिवारभित्र

परिवार एउटा यस्तो संस्था हो— परिवारको कुनै सदस्य कहीँकतै कमजोर हुन पुग्यो, समस्यामा प¥यो भने परिवारभित्र छलफल गरेर समाधान खोजिन्छ । सदस्यको जस्तोसुकै समस्यामा परिवारले साथ दिन्छ, एक्सन लिन्छ । हामीकहाँ परिवारको महत्त्व छ र हामी मानसिक र आन्तरिक हिसाबले शक्तिशाली छौँ । पारिवारिक नाता–सम्बन्ध, पारिवारिक प्रेम–भावना र विश्वासकै कारण हामी नेपाली बलिया छौ, हामीलाई सानातिना दुःखले छुन सक्दैन ।

मेरो सानो परिवार छ– श्रीमान् (विनोद) मानन्धर), छोरी कविता, सासूआमा र मेरीआमा । मेरीआमा मसँगै त बस्नुहुन्न, आफ्नै घरमा बस्नुहुन्छ । तर, मेरो घर र उहाँको घर नजिकै छ, दिनरातजसो सम्पर्कमा रहन्छौँ ।

माइती–मावली

परिवारको कुरा गर्दा चेलीले माइतीलाई भुल्न सक्दैनन् । अलिकति बाल्यकालतिर फर्कंदा म सानैदेखि मावली हजुरआमाकी प्यारी थिएँ ।

मेरो बुवा आर्मी हुनुहुन्थ्यो, इलामको गणपति । म दुई वर्षकी हुँदा बुवा खस्नुभएको हो रे । बुवाको दुई विवाह हो, मेरी आमा कान्छी हुनुहुन्छ । म ललितपुरको झरासीमा जन्मेकी हुँ । मेरी आमातिर म र एउटी बहिनी मात्र हौँ । म जेठी हुँ ।

प्रकाशित मिति: : 2021-02-14 09:00:00

प्रतिकृया दिनुहोस्