खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले के गर्छ ?

सरिशा अछामी

कोभिड–१९ फैलिन नदिन सरकारले गत वर्षको चैत ११ देखि लकडाउन ग¥यो । पटक–पटक लकडाउन अवधि थप्दै जाँदा सर्वसाधारणले थुप्रै अभाव र अप्ठेरोसँगै खाद्यान्न अभाव पनि झेल्नुपरेको थियो । त्यही समस्या हटाउन ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ले चैत २६ देखि नयाँ प्रविधि भित्र्यायो, ‘नेपाल फुड जिओभी डट एनपी’ । लिमिटेडकी सूचना अधिकारी शर्मिला सुवेदी (न्यौपाने)का अनुसार, त्यतिबेला अनलाइनमार्फत काठमाडौं र सुर्खेतमा चामल, गहुँ र दाललगायत सामग्री घर–घरमा पुर्याएर सेवा दिइएको थियो ।  

अहिले पनि उक्त वेबसाइटमा जाँदा ‘स्थान छनोट गर्नुहोस्’ भनेर काठमाडौं र सुर्खेत देखाउँछ । काठमाडौंमा क्लिक गर्दा ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ काठमाडौंको चारवटा बुँदामा सूचना देखिन्छ– १) हाललाई खाद्यान्नको डेलिभरी उपत्यकाको चक्रपथभित्र मात्र हुनेछ । २) खाद्यान्न अर्डर कन्फर्म गरेको एक दिनभित्र डेलिभरी दिइनेछ । ३) एकजना ग्राहकले कम्तीमा दुई हजारदेखि बढीमा पाँच हजार रुपैयाँसम्मको अर्डर गर्न सक्नुहुनेछ । ४) लकडाउन अवधिभर डेलिभरी गरेबापतको शुल्क लिइने छैन ।

त्यस्तै, सुर्खेतमा क्लिक गर्दा पनि चारवटै बुँदामा काठमाडौंकै प्रकृतिको सूचना देखिन्छ । 

सूचना अधिकारी सुवेदी भन्छिन्, ‘०७६ को चैत २६ गतेदेखि ०७७ साउन २८ गतेसम्म चामल चार सय ६५ क्विन्टल, सिमी १३ क्विन्टल, रहरदाल ८ क्विन्टल, केराउ १ क्विन्टल, घिउ ९८ क्विन्टल अनलाइन व्यापार भएको थियो ।’ 

खाद्यान्नको कारोबार गर्न २०३१ मंसिर १६ गते ‘नेपाल खाद्य संस्थान’को स्थापना गरिएको थियो, जसले खाद्यान्न खरिद गर्ने र दुर्गम जिल्लामा पु¥याउने गर्दै आएको थियो । २०७६ साउन २८ देखि नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभिएर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ बनेको हो । 

प्रकाशित मिति: : 2021-02-25 21:10:00

प्रतिकृया दिनुहोस्