एनआरएनएमा सुवेदीको उम्मेदवारीले तरंग 

बुद्धिसागर सुवेदीले एनआरएन अमेरिकाको २०२१–२०२३ को अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। केही दिन अघिदेखि नै उम्मेदवारी दिने चर्चा चलिरहेकै बेला उनले आज घोषणा गरे। उनको उम्मेदवारीले एनआरएनएमा चर्चा थप चुलिएको छ। 

एनआरएन अमेरिकाको साधारण सदस्य हुँदै विन्सकन्सिनको संस्थापक च्याप्टर अध्यक्षसमेत रहेका ५१ वर्षीय सुवेदीले बिहान जुममार्फत विस्कन्सिनबाट उम्मेदवारी घोषणा गरेका हुन्। हाल उनी उपाध्यक्ष छन्।  डेढ दशकदेखि उनी गैर आवासीय नेपालीको हितमा सक्रिय छन्। 

घोषणा सभामा सुवेदीले गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएलाई अझ व्यापक बनाइ थप उचाइँमा पुर्याउन आफूले सक्दो प्रयास गर्ने वचनवद्धता व्यक्त गरे। उनले आफूभन्दा अग्रजले देखाएको र हिँडेको बाटोलाई आत्मसात गर्दै सामूहिक भावनालाई समेटेर आफूले सबल र सक्षम एनआरएन बनाउने प्रतिवद्धता व्यक्त गरे। 

उनले भने,‘सहमति र सहकार्यको मूलमन्त्रलाई आत्मसात गर्देै यो सबै अमेरिकन नेपालीको संस्था हो भन्ने भावना जागृत गराउने खालका कार्यक्रम ल्याउने छु।’ 

उनले आफ्नो कार्यकालमा गर्न सकिने थुप्रै कामको फेहरिस्त प्रस्तुत गर्दै नेपालको संविधानमा उल्लेख भएको गैर आवसीय नेपालीलाई प्रदान गरिने दोहोरो नागरिकताको प्रयासलाई आफूले प्रमुख मुद्धाका रुपमा उठाउने प्रतिवद्धता व्यक्त गरे। एनआरएनएमा युवा विद्यार्थी र महिलाको सहभागितालाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले भने, ‘नेपाली भाषा, संस्कृति र साहित्यको बढोत्तरीका लागि निरन्तर लाग्ने र अमेरिकी नागरिकता लिएका नेपालीलाई नेपाल प्रवेश गर्दा लाग्ने गरेको भिसा शुल्क निःशुल्क बनाउनतर्फ मेरो प्रयास रहनेछ।’ 

उनले घोषणा सभामा अमेरिकामा रहेका नेपालीको लागत संकलन गर्न सक्दो प्रयास गर्ने, च्याप्टर अध्यक्षको भेला गराएर ती स्थानका समस्या संकलन गर्ने, टीपीएस र असाइलमका लागि हेल्प डेस्क खडा गर्ने, थप च्याप्टर बनाउन प्रयास गर्ने, एनआरएनको सामूहिक लगानीलाई पनि प्राथमिकतामा राखेर काम गर्ने वचनवद्धता व्यक्त गरे।  

चितवनको माडीमा आफ्नो बाल्यकालीन जीवन बिताएका सुवेदी सामाजिक कार्यकर्ताका रुपमा आफूलाई चिनाउन सफल भएका छन्। नेपालमा रहँदा विद्यालयस्तरदेखि कलेजस्तरसम्म र गाविसस्तरदेखि अमेरिकाको च्याप्टर अध्यक्ष हुँदै हालका उपाध्यक्ष र सदस्यता वितरणका प्रमुख सुवेदी एक कुशल व्यवस्थापकका रुपमा पनि परिचित छन्।  

घोषणा सभामा उपस्थित युवाले सुवेदीले कोभिडको महाव्याधीका बेला पनि सदस्यता वितरणमा गरेको लगातारको प्रयास उदाहरणीय रहेको बताए। उनीहरूले एनआरएनको ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी सुवेदीले यो अभियानलाई उत्कर्षमा पुर्याउन सक्ने विचार पनि व्यक्त गरे। 

विस्कन्सिन च्याप्टरका अध्यक्ष टुकप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न यो घोषणा सभामा आइएनएलएसका महासचिव सर्वज्ञ वाग्ले, लाल काफ्ले, एनआरएनका संस्थापक उपाध्यक्ष श्याम कार्की, राजेश पण्डित, हरि गैरे, कुलानन्द शर्मा, दिलु पराजुली, गोविन्द सुवेदी, किरण मरहठ्ठा, गुणराज लुइँटेललगायतले आ–आफ्नो जिज्ञासा तथा शुभकामना दिएका थिए। कार्यक्रमको पहिलो सत्र सरु शर्मा र दोस्रो सत्रको संयोजन सतिस चापागाईँले गरेका थिए। 
 

प्रकाशित मिति: : 2021-03-01 13:27:00

प्रतिकृया दिनुहोस्