प्रदेश सभा सदस्यको घरमै पशुपतिको शिवलिंग, त्यो पनि शाैचालयमा !

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

पशुपति मन्दिरको मूल शिवलिंग प्रदेश सभा सदस्य तथा पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको घरमा रहेको पाइएको छ। शिवलिंग भएको ठाउँमा शौचालय निर्माण गरिएको भेटिएको छ। 

पशुपति मन्दिरका मूल भट्टले गर्भ गृहमा प्रवेश गर्नुअघि उक्त शिवलिंगमा शपथ लिन्छन्। पशुपति क्षेत्रमा यस्ता ११ वटा शिवलिंग छन्। शिवका पुजारीले ती एकादश रुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भ गृहमा प्रवेश गर्न पाउँदैनन्।

पुरातात्त्विक महत्त्वका सामग्रीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न नमिल्ने व्यवस्था छ। घना बस्ती अगावै मन्दिरका मुल शिवलिंगहरु यत्रतत्र रहेका थिए। मन्दिरका जग्गाहरू अतिक्रमण गरी शिव लिंगमाथि विभिन्न भौतिक संरचना निर्माण भएका छन्।

वैद्य यसअघि २०६७ देखि ७० सम्म विकास कोषको कोषाध्यक्ष थिए। त्यसअघि विभिन्न कार्यसमितिमा सदस्यसमेत भई काम गरिसकेका छन्।

विकास कोषको जग्गा अतिक्रमण गरी उनले घर निर्माण गरी विकास कोषका एक अधिकारीले बताएका छन्। विभिन्न शक्तिको आडमा रहेर उनले शिवलिंग रहेको जग्गामा घर बनाएको ती अधिकारीले प्रस्ट पारे।

‘पशुपति मन्दिरको मूल भट्टले जहाँ बस्न दिन्छन्, त्यहीँ बस्ने प्रचलन थियो। यहाँको बस्तीहरु पुरानो बस्ती हो। शिव लिंगको ठाउँलाई नछोडी घर बनाएका छन्,' ‍उनले भने, ‘त्यो जमिन पशुपतिले अधिग्रहण गर्न चाहेको छ। पुरातात्विक महत्वका ती शिवलिंग सर्वसाधारणको दर्शनमा राख्ने हाम्रो चाहना हो।'

प्रकाशित मिति: : 2021-03-03 22:20:00

प्रतिकृया दिनुहोस्