जून र घाम भेट हुँदैन भन्थे भेट भयो, हामी सहमति पालना गर्छौ‌ं : विप्लव (भिडियाे)

नेकपाका महासचिव विप्लवले सरकार र आफ्नो पार्टीको सभागृहमा भएको भेटलाई जून र घामबीच भएको भेट जस्तै भएको बताएका छन्। उनले ग्रामीण भेगमा गाइने गीत स्मरण गर्दै यस्ताे अभिव्यक्ति दिएका हुन्।

तीनबुँदे सम्झौता–पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै उनले भने, ‘यो सहमति जून र घामबीच भेट भएजस्तै हो तर हामी यसको पालना गर्न प्रतिबद्ध छौँ।' 

‘विप्लव’ले दु:ख नपाउने कम्युनिष्ट नेता नभएको र मृत्युको नजिक नपुगेको कुनै नेता नभएको बताउँदै भने, ‘दु:ख नपाउने कम्युनिष्ट नेता छैन, मृत्युको नजिक नपुगेको कुनै नेता छैन। समाजमा एक थरी शोषक र पीडितहरु छन्। दोश्रो थरी बोल्न सक्दैनन् र तेस्रो वर्ग उठ्न समेत सोच्न सक्दैन।’

'कम्युुनिष्टहरु सधै अन्याय शोषणको विरुद्ध लडेको छ। समाजका सबै उत्पीडनहरु मिल्काएर शान्ति कायम गर्ने कम्युनिष्टहरु हुन', उनले भने, 'अझै पनि नेपालमा सामाजिक रुपान्तरण, राज्यको रुपान्तरण हुन सकेको छैन। ००७ सालदेखि आजसम्म उत्पीडित समुदाय कहिल्यै सन्तुष्ट छैन।’

उनले संसदीय व्यवस्थाको व्याख्यासँग आफूहरु सहमत हुन नसकेकोले विद्रोह सुरु गरेको पनि बताए। प्रश्न गरे, 'जनमत, सार्वभौम सत्ता, नेपाली जनताले स्वन्त्रताको श्वास फेर्न नपाउने ?'

सम्बाेधनका क्रममा विप्लवले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ।’ 

उनले राष्ट्र निर्माणमा इमान्दारीपूर्वक लाग्ने पनि बताए। देशकाे स्वाधीनताकाे रक्षामा लागिपर्ने पनि बताए। उनले सरकारले इमान्दारी देखाएकाेमा पनि प्रशंशा गरे।

सबै नेपालीले निर्भयपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै विप्लवले भने,‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी र केही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि लुकेको हाम्रो महान् आकांक्षा छ।'

प्रकाशित मिति: : 2021-03-05 15:29:00

प्रतिकृया दिनुहोस्