‘कानूनी रूपमा मात्र एमाले एक छ, राजनीतिक र भावनात्मक कोणबाट अलग भइसक्यौँ’

२८ फागुनमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकपक्षीय रूपमा केन्द्रीय कमिटी हेरफेर र केन्द्रीय सदस्यहरू मनोनयन गरेपछि माधवकुमार नेपाल-झलनाथ खनाल समूह पार्टीको नवौँ महाधिवेशनमा निर्वाचित कमिटीहरू ब्युँताउन लागिपरेको छ। २ चैतमा दुई पक्षबीच वार्ता भए पनि त्यो सकारात्मक दिशामा अगाडि बढेको छैन। नेपाल-खनाल समूहको अबको रणनीति के होला? एमाले उपाध्यक्ष तथा नेपाल-खनाल समूहकी प्रभावशाली नेतृ अष्‍टलक्ष्‍मी शाक्य भन्छिन्, ‘एमाले राजनीतिक र भावनात्मक रूपमा एक रहेन।’ पार्टीभित्रको अन्तरद्वन्द्वमा केन्द्रित रहेर शाक्यसँग काठमाडौं प्रेसका लागि शुष्‍मा बरालीले गरेको संवादः

पार्टीमा समानान्तर कमिटीको आवश्यकता किन पर्‍यो?

सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपाका प्रचण्ड-नेपाल समूह दुई पार्टीका रूपमा अलग हुनुपर्ने भयो। र, हामी आफ्नै पुरानो पार्टी एमालेमा फर्कियौँ। अदालतको निर्णयलाई आत्मसात गर्दै ढिलो नगरी पुरानो पार्टीमा गयौँ। तीतो, पिरो, नमिठो जे जस्तो भए पनि आफ्नै पुरानो पार्टी हो, आत्मालोचना गरौँला, छलफल गरौँला, मन माझामाझ गरेर अगाडि बढ्न सकिन्छ भन्‍ने लागेर पुरानो पार्टीमै फर्कियौँ।

पार्टी अध्यक्ष त केपी ओली नै हुनुहुन्छ। अध्यक्षको नाताले उहाँले राम्रै व्यवहार गर्नुहोला, बोलाउनुहोला, बैठक पनि राख्‍नुहोला, शीर्ष नेताहरूबीचमा कुराकानी, छलफल होला भन्‍ने लागेको थियो। तर, उहाँले हामीमाथि ठ्याक्कै उल्टो व्यवहार गर्नुभयो। २८ फागुनमा गुटको भेला बोलाएर हामीलाई कुनै सूचना, जानकारी नदिई अत्यन्तै अपमानित ढंगले अध्यक्ष र महासचिव मात्र राखेर अरू सबै पदाधिकारी हटाएको घोषणा गर्नुभयो। जब कि, पार्टीको विधानअनुसार त्यस्तो निर्णय गर्न मिल्दैन, बिनाबैठक केपी ओलीले आफ्ना ‘यस म्यान’हरूको गुटको भेला गरेर विधानविपरीत अवैध तरिकाले गरेको निर्णय हाम्रा लागि मान्य छैन। र, यो निर्णय अवैध रहेकाले कुनै पनि हालतमा हामी मान्‍न सक्दैनौँ।

केपी ओलीले यो निर्णय फिर्ता लिनुपर्छ भनेर वक्तव्य जारी गरेका छौँ। ओलीको यो निर्णय अत्यन्तै अराजक, स्वेच्छाचारी र मनपरि ढंगले आएको छ। पार्टीमा मिल्ने आधार पनि नखोज्‍ने, सहज वातावरण पनि नदिने यो प्रवृत्तिविरुद्ध छौँ। उल्टै गुटको भेलाबाट ७ चैतमा केन्द्रीय कमिटीको बैठक छ भनेर अनेकौँ ढंगका बोली र व्यवहार भइरहेका छन्, जुन अत्यन्त अपमानजनक छन्।

प्रकाशित मिति: : 2021-03-16 14:28:00

प्रतिकृया दिनुहोस्