विदेशको सपना देखाएर ठगिको धन्दा चलाउदै कन्सल्टेन्सी, स्मिता र दीवश फरार

कमल प्रभात

काठमाडौँ

अष्ट्रेलिया गएर पैसा कमाएर सुखमय जीवन बिताउँला भन्ने सपना बोकेकी ओखलढुंगाकी शारदा खत्री अहिले प्रहरी कार्यालय र अदालतमा धाउदा-धाउदै थाकिसकेकी छन्।

कक्षा १२ को पढाई सकेर उनी ०७६ सालमा प्रफेक्ट स्टडी कन्सल्र्टटेन्सी पुगिन्। उच्च अध्ययनको लागि अष्ट्रेलिया जान भन्दै पुतलीसडकमा रहेको प्रफेक्ट स्टडी कन्सल्टेन्सीबाटै आएल्स गरिन्।

आएल्समा राम्रो अंक ल्याएकी शारदालाई कन्सल्टेन्सीले अष्ट्रेलिया पठाउन २३ लाख रुपैयाँ माग्यो। उनलाई त्यती ठुलो रकम जुटाउन सजिलो थिएन। गाउँमा वरपर गरेर महंगो ब्याजमा ऋण लिईन्। र कन्सल्टेन्सीले भने बमोजिम नै ०७६ सालको साउनमा प्रफेक्ट कन्सल्टेन्सीकी सञ्चालिका स्मिता श्रेष्ठको बैंक खातामा पैसा जम्मा गरिदिईन्। 

पैसा दिएको लामो समयसम्म पनि उनको भिसा आउने छाटकाँट देखिएन। उनले महिनौ सम्म भिसा पर्खेर बसिन्। र लामो समयसम्म पनि भिसा नआएपछि शारदाले कन्सल्टेन्सीसँग आफ्नो पैसा फिर्ता मागिन्।

कन्सल्टेन्सीकी सञ्चालिका तथा व्यवस्थापक स्मिता श्रेष्ठले उनलाई फिर्ता गर्दै रु २३ लाखकै चेक दिइन्। तर जब शारदा चेक लिएर बैंक पुगेर पैसा साट्न खोजिन्, तब चेक दिईएको खातामा पैसा नै थिएन। 

शारदाले तुरुन्त स्मितालाई फोन गर्न खोजिन्। तर सम्पर्क हुनै सकेन। उनी अत्तालिदै कन्सल्टेन्सीको अफिसमै पुगिन्। त्यहाँ पुग्दापनि अफिसको ढोका बन्द थियो। त्यसपश्चात शारदालाई तनाब सुरु हुन थाल्यो।

एकातिर अष्ट्रेलियाको सपना। गाउँको ऋण। र अर्कोतिर अष्ट्रेलिया पुर्याईदिन्छु भन्ने कन्सल्टेन्सीको ढोका बन्द। त्यसैमाथी कन्सल्टेन्सीकी सञ्चालिकाको झुटो चेक र उनको सम्पर्कविहीन। 

शारदाको मन र मस्तिष्कमा एक्कासी डरको पहिरो जान थाल्यो। ऋण खोजेर ल्याएको पैसा डुब्ने हो की भन्ने पिर पर्न थाल्यो।उनले कन्सल्टेन्सीकी सञ्चालिका स्मितालाई लगातार फोन गर्ने प्रयास गरिन्। एक दिन बित्यो। दुई दिन बित्यो। हप्तौ बित्यो। हुँदा हुँदा महिनौपनि बित्यो। तरको स्मिताको फोनमा सम्पर्क हुनै सकेन। त्यसपछि विस्तारै उनलाई आफु ठगिएको महशुस हुन थाल्यो। 

आफु ठगिएको महशुस भएपछि उनी प्रहरीमा गइन्। सबै घटना बताउँदै ठगिको उजुरी दर्ता गरिन्। त्यसको केही दिनमा प्रहरीले कन्सल्टेन्सीका अर्का सञ्चालक दीवस शर्मा र स्मितालाई पक्राउ गर्यो। तर केही दिनमै उनीहरुलाई धरौटीमा रिहा गर्यो।

अहिले शारदालाई मानसिक तनाबले हैरान बनाएको छ। गाउँबाट ल्याएको ऋणको ब्याज दिनहुँ बढ्दैछ। तर,आफ्नो पैसा फिर्ता हुने कुनै टुंगो छैन्। शारदा भन्छिन्, 'घरबाट दैनिक फोन आउछ, पैसा कहिले फिर्ता हुन्छ भनेर। जवाफ दिनै सक्दिन।' शारदा अचेल मानसिक तनाबले दिक्कलाग्दो देखिन्छन्। 

उक्त कन्सल्टेन्सीबाट ठगिनेमा शारदा मात्र छैनिन्। अनुसन्धानबाट कन्सल्टेन्सीले अरु दर्जनौलाई ठगेको पाईएको छ। कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुलाई विभिन्न देशहरुमा पठाइदिने भन्दै कन्सल्टेन्सीले दर्जनौभन्दा बढिलाई ठगेको पाईएको हो।

कन्सल्टेन्सीले विद्यार्थीहरुबाट ठुलो रकम बुझेर उनीहरुलाई अलपत्र पारेको छ। सोही कन्सल्टेन्सीबाट साइप्रस जानको लागि दार्चुलाका राज गिरीले पनि ६ लाख बुझाएका थिए। तर उनलाई युरोपको सपना देखाएर पैसा असुल्ने स्मिता सम्पर्कविहीन भइन्।  

राजले पनि भिसाको लागि सामो समयसम्म पर्खे। तर भिसा आएन। न त पैसा नै आयो। उनलाई पनि पैसा फिर्ता माग्दा स्मिताले चेक दिएकी थिईन्। तर खातामा पैसा नै थिएन। 

त्यसैगरी ठगिनेमा लम्जुङका आविस्कार तिवारी पनि छन्। उनले पनि फ्रन्स जानको लागि कन्सल्टेन्सीलाई ५ लाख बुझाएका थिए। त्यस्तै सिन्धुपालचोककी निमा शेर्पाले अष्ट्रेलिया जानको लागि २३ लाख बुझाए। उनको पनि भिसा आएन्। न त पैसा नै फिर्ता भयो।  

उच्च अध्ययनको लागि विदेशको सपना देखेर हिँडेका कयौ विद्यार्थीहरु अचेल झोलामा ठगिको प्रमाण र मस्तिष्कमा तनाब लिएर दिनहुँ प्रहरी कार्यालय र अदालतसम्म धाईरहेका छन्। 

यसरी दर्जनौ विद्यार्थीबाट कारोडौँ ठगि गर्ने प्रफेक्ट कन्सल्टेन्सीका सञ्चालिका स्मिता र अर्का सञ्चालक दीवस अहिले सम्पर्कमा छैनन्। फरार छन्। उनीहरुको सामाजिक सञ्जाल निष्क्रिय छ। मोबाइल अफ छ।

साथै प्रहरीको अनुसन्धानबाट स्मिताले दोहोरो नागरिकतासमेत ल्याएको खुल्न आएको छ।

उनले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई वटा नागरिकता लिएको पाईएको हो।

ठगिएका विद्यार्थीहरुप्रति अरु सम्बन्धित निकायहरुले पनि चासो देखाएका छैनन्। जसले गर्दा विद्यार्थीहरुले दुःख पाईरहेका छन्। 

प्रकाशित मिति: : 2021-03-19 06:58:00

प्रतिकृया दिनुहोस्