तीन धारमा विभक्त एमालेभित्र घम्साघम्सी, वामदेवको अझै फरक मत!

थाहा खबर

काठमाडाैं

रमेश पराजुली

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को एकपक्षीय निर्णय गर्दै जाँदा सत्तारुढ एमालेभित्रको विवाद उत्कर्षमा छ। 

ओलीले बालुवाटारमा आफू पक्षका नेताहरूलाई बोलाएर एकलौटी निर्णय गर्न थालेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट त छँदै छ, जसले पार्टीभित्र विवाद मात्र हैन, स्पष्ट तीन चिरा भएको छ। 

ओली र खनाल–नेपाल समूह एकअर्काविरुद्ध खुइल्याउन उत्रे पनि अर्का नेता वामदेव गौतमले पार्टी एकता जोगाउन भन्दै अभियान चलाइरहेका छन्। एकता भंग हुनुअघि नै अभियान थालेका गौतम अहिले एमालेभित्र मतैक्यता खोजिरहेका छन्।  

तर, गाैतमले चलाएको एकता अभियानको कुनै अर्थ नभएको प्रधानमन्त्री ओलीले शनिबारको संसदीय दलको बैठकमा जवाफ फर्काइसकेका छन्। ‘दुई वटा पार्टीभित्र पो एकता अभियान हुन्छ। अहिले पार्टी एउटै छ। अनि एकता अभियानको अर्थ के हो?’ ओलीले वामदेवलाई यस्तो जवाफ दिएका थिए। तर, नेता गौतमले पार्टीभित्रको देखिएको दरार हटाएर एकताबद्ध नगरेसम्म आफ्नो अभियान नरोकिने बताए।  

त्यसो त ओलीले बालुवाटारमा आफूनिकट नेतालाई बोलाएर एकलौटी निर्णय गर्दैगर्दा असन्तुष्ट खनाल-नेपाल समूहले पनि समानान्तर कमिटीको गतिविधि बढाइरहेका छन्। 

यद्यपि ओलीइतर समूहले बहिष्कार गरेको केन्द्रीय कमिटी बैठकलाई ओलीले गुट भेलाको संज्ञा दिँदै यस्तो कार्य गर्नेमाथि कारबाही प्रक्रिया बढाउने निर्णय गरे। बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। 

प्रकाशित मिति: : 2021-03-21 17:50:00

प्रतिकृया दिनुहोस्