नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता यही चैत २१ देखि २८ गतेसम्म हुनेछ। प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघि सम्झौता भइसकेको छ।
सम्झौताअनुसार ललितपुर महानगरपालिकाले रु २० लाख उपलब्ध गराउने छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालको महिला क्रिकेटलाई अगाडि बढाउने उद्देश्यका साथ क्यानलाई सहयोग गरेको बताए। क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आगामी दिनमा पनि क्यानलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकासँग गरिएको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताए।
टी–२० महिला क्रिकेट प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। गत पुसमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमिफाइनल खेलेका प्रदेश नं १, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको टोली तथा ललितपुर महानगरपालिकाको टोलीले सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले रु २५, उत्कृष्ट ब्याट्सवुमन र उत्कृष्ट बलरले जनही रु १५ हजार तथा ‘प्लेयर अफ दी म्याच’ले रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन्। यसअघि गत महिना काठमाडौैँ मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भएको थियो।
सो प्रतियोगिताको उपाधि पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै जितेको थियो। उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता एपिएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको थियो। प्रतियोगितामा पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ को टोली सहभागी भएका थिए। रासस