७६७ किमी क्षेत्रमा अप्टिकल फाइबर जडान 

देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ। 

पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले उक्त क्षेत्रमा फाइबर जडान सम्पन्न गरेको हो।

सम्झौताअनुसार टेलिकमले तीन प्रदेशमा दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनुपर्दछ। प्राधिकरणले मध्यपहाडी लोकमार्गको छ हजार ३३१ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई तीन खण्डमा विभाजन गरेर तीन छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो। 

तीन खण्डमध्येमा एक खण्डमा विस्तारको काम भए पनि दुई खण्डको काम शुरु हुनै सकेको छैन। प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ साल असोज १२ गते दुई वर्षको सम्झौता गरेको थियो।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम शुरु गरेको बताए। उनका अनुसार पहिलो खण्डअन्तर्गतका तीन प्रदेशमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन, सामान खरीदलगायतका काम गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ। 

प्रकाशित मिति: : 2021-03-24 18:40:00

प्रतिकृया दिनुहोस्