फेसबुकबाट पुनः ५० करोड प्रयोगकर्ताको तथ्यांक चोरी भएको आरोप, कम्पनीद्वारा खण्डन

Photo - time Magzine
Photo - time Magzine

डेटा सुरक्षाको विवादलाई लिएर हरेक दिन फेसबुक चर्चामा रहने गर्दछ।

यसपल्ट पनि फेसबुकबाट ५० करोड प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर बाहिरिएपछि सोसल मिडिया प्लेटफर्म फेसबुक पुनः विवादमा परेको छ।

एकजना ह्याकरको दावी अनुसार उसले फेसबुकमा भएको ५० करोड प्रयोगकर्ताको सूचना इन्टरनेटमार्फत निःशुल्क वितरण गरिरहेको छ। यो तथ्यांकमा प्रयोगकर्ताको फोन नम्बर र अन्य सूचना समावेश छन्।

अहिलेसम्म यो खुल्न सकेको छैन कि, लिक भएको तथ्यांकमा कुन–कुन देशको प्रयोगकर्ताको विवरण समावेश छ। विश्वमा २ दशमलव ७ अर्ब फेसबुक प्रयोगकर्ता छन्।

यस विषयमा इजारायली साइबर क्राइम इन्टेलिजेन्स फर्म हड्सन रकका संस्थापक एल गलको भिन्न विचार छ।

उनी भन्छन्, ‘यी डेटाबेसमा फेसबुकसँग जोडिएको फोन नम्बरनै हुने गर्छन्, जुन जनवरीदेखि सर्कुलेट छ र टेक पब्लिकेसन मदरबोर्डले जसको रिपोर्ट दिएको थियो।’

उनले फेसबुक प्रयोगकर्तालाई सोसल इन्जिनियरिङको आक्रमणबाट सर्तक रहन आग्रह गरेका छन्। यस्ता आक्रमणबाट ह्याकर्सले आउँदो महिना प्रयोगकर्ताको फोन नम्बर र निजी तथ्यांक उपलब्ध गर्न सक्छन्।

गलले केही तथ्यांकको आधिकारीकता प्रमाणित गरेको बताएका छन्। जसमा केही चिनेजानेका मानिसको फोन नम्बर समावेश रहेको उनले बताए। तर, फेसबुकले यी तथ्यांक पुरानो भएको बताएको छ।

उसले यी तथ्यांक अगस्ट २०१९ को भएको र यसमा सुधार भइसकेको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-04-04 11:58:00

प्रतिकृया दिनुहोस्