भारतबाट फर्किने नेपालीको गौरीफन्टा नाकामा बिचल्ली

अनलाइनखबर

काठमाडौं

 डोटीको बोगटान गाउँपालिका–७ का टेकबहादुर बोहरा शनिबार बिहान ६ बजे गौरीफन्टा नाकामा उत्रिए । भारतको गोवामा रोजगारी गर्दै आएका बोहरा दोस्रो लहरको कोरोना कहर तीव्र बनेसँगै रोग र भोकबाट बच्न स्वदेश फर्किएका हुन् ।

भारतमै पीसीआर परीक्षण गरेर फर्किएका बोहरा बिहान १० बजेसम्म गौरीफन्टा नाकामा गाडीको खोजी गरिरहेका थिए । नाकामा सयौं गाडीहरु खडा गरिएका भएपनि सबैले आ–आफ्नै ढंगले भाडाको बार्गेनिङ गर्न थालेपछि उनी समस्यामा परेका देखिन्थे । पहिला ५३५ रुपैयाँ भाडा तिरेर धनगढीबाट डोटी जाने गरेका उनी यसपालि भने यातायात व्यवसायीले कोरोना कहर र निषेधाज्ञाको कारण देखाउँदै अचाक्ली भाडा असुल्न थालेपछि दोधारमा परे । 

‘भारतबाट बिहान ६ बजे यहाँ आइपुगेको हुँ,’ बोहराले अनलाइनखबरसँग भने, ‘अहिले घडीमा १० बज्न लाग्यो, तर अहिलेसम्म गाडी मिलेको छैन । लैजान्छु भन्नेहरुसँग भाडाको कुरा मिलिरहेको छैन ।’

उनका अनुसार सीमा नाकामा लामबद्ध राखिएका सवारी साधनपिच्छे. नै भाडादर फरक–फरक छ । सोही अनुसार व्यवसायीले यात्रुसँग बार्गेनिङ गरिरहेका थिए । ‘डोटीको भाडा ५३५ रुपैयाँ मात्र छ,’ उनले भने, ‘अहिले एक हजारदेखि तीन हजारसम्म मागिरहेका छन् । हामी मजदुरहरुको ढाड सेक्ने काम भएको छ ।’

भारतबाट नेपाली सीमा नाकासम्म पुगाउँदा समेत नेपाली टुर एण्ड ट्राभल व्यवसायीहरुले मनपरी रुपमा भाडा असुल्ने काम गरिरहेको गुनासो समेत यात्रुहरुले गरेका छन् ।

प्रकाशित मिति: : 2021-05-01 15:57:00

प्रतिकृया दिनुहोस्