कोरोनाका बिरामीले अस्पताल भरिएपछि आफैँ ‘आइसोलेसन’ बनाउँदै स्थानीय तह

कमल प्रभात

काठमाडौं

ललितपुर महनागरपालिकाको च्यासःमंका खलका अध्यक्ष श्याम व्यञ्जनकारलाई एक साताअघि साथीले फोन गरे– अस्पतालमा ‘बेड’ पाइएन, मिलाइदिनुपर्‍याे भनेर।

उनले केही अस्पतालमा बेडको लागि पहल गरे तर पाएनन्।

उनले कोशिश गरेका सबै अस्पताल कोरोना संक्रमितले भरिभराउ थिए। ‘बेड’ मिलाइदिन नसकेपछि उनलाई शंका लाग्यो– कारोनाको भयावह अवस्था सृजना हुने हो कि !

भयावह अवस्थाको अनुमान गरेका उनलाई लाग्यो– अब आफ्नै तहबाट केही पहल गर्नुपर्छ। तत्कालै टोलका साथीहरुसँग छलफल गरे र निचोड निकाले– टोलमै अक्सिजनसहितको ‘आइसोलेसन सेन्टर’ बनाउने।



सदनमा 'सब डन'

वागमती किनारमै जलाइन थाले काेराेना संक्रमित शव 



अहिले ललितपुर महानगरपालिकाको वडा नम्वर ९, च्यासलस्थित गुठीघरमा अध्यक्ष व्यञ्जनकारको अगुवाइमा च्यासः मंका खल, च्यासल युथ क्लब र युथ रेडक्रस सर्कल मिलेर अस्थायी ‘आइसोलेसन सेन्टर’ बनाएका छन्।

‘आइसोलेसन सेन्टर’ मा डाक्टर, अक्सिजनसहितको १० शैय्याको व्यवस्था मिलाइएको छ। समुदायमा कोही संक्रमित भएको अवस्थामा सोही ‘आइसोलेसन सेन्टर’ मा उपचार गराउने प्रबन्ध उनीहरुले गरेका छन्।

‘आइसोलेसन सेन्टर’ मा चार जना डाक्टर छन्। कोरोना संक्रमितको उपचार गर्न तम्तयार बसेका उनीहरुले अहिले कोरोनाविरुद्ध गर्नुपर्ने कामबारे परामर्श दिँदै आएका छन्।

चेतनामूलक परामर्शले कोरोना संक्रमण फैलनाबाट जोगिन महत्वपूर्ण भूमिका निर्वाह गरेको त छ नै, त्यसबाहेक समुदायभित्र कसैलाई कोरोना भाइरस संक्रमण भएमा उपचार नपाएला कि भन्ने चिन्ता पनि दूर गरेको छ।

स्वरुप बदलेको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै गम्भीर बिरामीको संख्यामा ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका शैय्या भरिएको र अब बेड उपलब्ध गराउने नसक्ने बताइसकेको छ।

मन्त्रालयका अनुसार, अस्पताल भर्ना भएकामध्ये १७ प्रतिशत संक्रमितको अवस्थ्या गम्भीर छ। गत वर्ष यसै सिजनदेखि फैलिएको कोरोना संक्रमणको पहिलो लहरमा ‘क्वारेन्टाइन’को व्यवस्थापन नै रोग नियन्त्रणको मूख्य उपाय थियो। दोस्रो लहरमा भने संक्रमितको उपचार कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ।

नगरमा  ‘बेड’को माग बढ्न थालेपछि ललितपुर महानगरपालिकाले सुनाकोठीस्थित ‘नेपाल युथ फाउन्डेसन’को पोषण पुनर्स्थापना गृहको भवनमा ५० शैय्याको ‘आइसोलेसन सेन्टर’ बनाएको छ। सोमबारदेखि सञ्चालनमा आएको ‘आइसोलेसन सेन्टर’ मा चिकित्सक, नर्स, अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन (अक्सिजन ‘कन्सन्ट्रेट’)  सहितको सेवा सुरु गरेको हो।



लकडाउनको सार्थकता

कोभिड-१९ एक बृहत् गोलाकार घोटाला 



ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोरोना ‘पोजेटिभ’ लाई उपचार गरिने र स्थानीयलाई कोरोनाको बारेमा परामर्श दिइने बताए। नेपाल युथ फाउन्डेसन, पाटन अस्पताल लगायत अन्य ‘रिफरल’ अस्पताल र महानगरबीच त्रिपक्षीय सम्झौता गरी ‘आइसोलेसन सेन्टर’ सञ्चालन गर्ने मेयर महर्जनले बताए।

यसैगरी, महानगरको वडा नं ४ बागडोलस्थित ज्यापू समाजको नवनिर्मित वृद्धाश्रममा पनि ‘आइसोलेसन सेण्टर’ लागि तयारी अवस्थामा रहेको बताएको छ। उपत्यकाकै अर्को जिल्ला– भक्तपुरका स्थानीय तहहरु पनि ‘आइसोलेसन’ निर्माण जुटेका छन्।

भक्तपुरको चाँगुनारायण नगपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक सय शैय्याको ‘आइसोलेसन’ सञ्चालनको तयारी गरेको छ। नगरप्रमुख सोम मिश्रका अनुसार, होम आइसोलेसनमा बसेकाहरूका लागि समेत डाक्टरको परामर्श व्यवस्था गरिएको छ। नगरपालिकाले कोभिड विशेष शव–वाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिइएको उनले जानकारी दिए।  

मध्यपुर–थिमी नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शैय्याको ‘आइसोलेसन’ सञ्चालन गरेको छ।भक्तपुर नगरपालिकाको ब्रह्मायणीस्थित आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याइसकेको छ।

काठमाडौंको थानकोट क्षेत्रको चन्द्रागिरी नगरपालिकाले डाक्टर र अक्सिजनसहितको १५ शैय्याको ‘आइसोलेसन सेण्टर’ बनाउने निर्णय भएको प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिएका छन्। उनका अनुसार चन्द्रागिरी नगरपालिकामा रहेको सशस्त्र प्रहरी अस्पताल र मनमोहन अस्पतालले कोरोनाका बिरामी धान्नसक्ने अवास्था नरहेकोले ‘आइसोलेसन सेण्टर’ बनाइएको हो। ‘आइसोलेसन सेन्टर’मा कोरोना ‘पोजेटिभ’ भई गम्भीर असहज अवस्थामा पुगेका संक्रमितको उपचार गरिने छ।

काठमाडौंको नागार्जुन नगरपालिकाले पनि नगरका संक्रमित व्यक्तिको उपचारको लागि वडा नं. १, ७ र १० मा गरी विभन्न स्थानमा ६० शैय्याको ‘आइसोलेसन’ बनाएको छ। नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतका अनुसार, कोरोना संक्रमित सबैलाई ‘आइसोलेसन’ राखिने छ। आवश्यक परेमा अन्य क्षेत्रमा ‘आइसोलेसन’को व्यवस्था मिलाइने छ।



काेराेनाकालमा प्राथनाः  कसैको आँखाबाट आँसु नखसून् 

कोरोना नियन्त्रणमा बेहद् खेलाँची



काठमाडौं महानगरपालिका, कागेश्वरी–मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा बुढानीलकण्ठ नगरपालिकाले पनि संक्रमितको उपचारको लागि अस्पतालले थेग्न नसक्ने अवस्था आउनसक्ने भएको भन्दै ‘आइसोलेसन सेण्टर’ बनाउने तयारीमा जुटेको बताएका छन्।

यसरी कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै उपत्यकाका अधिकांश स्थानीय तहले ‘आइसोलेसन सेन्टर’ बनाएका छन्।

अहिले काठमाडौं उपत्यकामा दिनहुँ सााढे तीन हजारभन्दा बढी संख्यामा कोरोनाका नयाँ बिरामी थपिन थालेका छन्। यो सङ्ख्या दिनदिनै बढ्दै गएको छ।

च्यासः मंका खलःका अध्यक्ष श्याम व्यञ्जनकार संक्रमणको संख्याले त्राश फैलाएको बेला स्थानीय स्तरमा भएको ‘आइसोलेसन’ निर्माणको पहलले आम नागरिकमा केही हदसम्म सान्वना दिएको बताउँछन्। उनले भने, ‘भारत लगायतका देशको भयावह अवस्था देख्दा कतै नेपालमा पनि त्यस्तै विपत्ति आइपर्ने हो कि भन्ने त्राश छ। यस्तो  बेलामा नागरिकलाई सान्त्वना मिलेको छ।’

नार्गाजुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतको धारणा पनि उस्तै छ। उनी भन्छन्, ‘संकटका बेला पनि सरकार सहयोगी बन्न नसकेको भन्दै धेरैले अलोचना गरेका बेलामा हाम्रो प्रयासले जनतामा आशा पलाएको छ। सबै स्थानीय तहले यसै गरी कार्य गर्ने हो भने कोरोनासँगको युद्ध हामीले जित्ने छौँ।’ 

प्रकाशित मिति: : 2021-05-04 08:44:00

प्रतिकृया दिनुहोस्