ठूला आइएनजिओले किन छाड्दैछन् नेपाल?

देशसञ्चार

काठमाडौँ

गोविन्द लुइटेल

नेपालमा काम गर्न आएका ठूला दातृसंस्थाको सहयोगमा परिचालित अन्तराष्ट्रिय सामाजिक संस्थाहरु धमाधम फिर्ता भइरहेका छन्।

२०७७ चैतसम्म २१ वटा त्यस्ता ठूला आइएनजिओ नेपाल छाड्ने निधो गरिसकेका छन्। अरु केही पनि छाड्ने तरर्खरमा छन्। तीन वर्षको अवधिमा २१ वटा विदेशी सामाजिक संस्था नेपालबाट बाहिरिएका हुन्।

समाज कल्याण परिषद्ले देशसञ्चारलाई उपलब्ध गराएको १६ वटा आइएनजिओको खर्च मात्रै १ अर्ब ३७ करोड ६९ लाख ३५ हजार चार सय ६६ रुपैयाँ देखिएको छ। १६ वटा आइएनजिओले नेपालमा रहँदा उक्त रकम खर्च गरेका हुन्। (हे. बक्स)

अन्य पाँच वटा संस्थाहरुको विस्तृत खर्च र परियोजनाबारे परिषद्ले जानकारी दिएन । स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको हिमालयन ट्रष्ट नेदरल्याण्ड, स्वास्थ्यमै काम गदै आएको मेडिकल टीम इन्टरनेशनल, जेपाइगो, विएएमआई, भूकम्पको क्षेत्रमा काम गर्दै आएको टिएआईको परियोजना र बजेटबारे परिषद्ले जानकारी नदिएको हो । यी पाँच वटाले पनि नेपालबाट फिर्ता हुने निर्णय गरिसकेका छन् ।

भूकम्पको क्षेत्रमा काम गर्न आएकाहरु परियोजनाका काम सकेर विदा भएपनि अधिकाँश शिक्षा, स्वास्थ्य मानवअधिकार, सुशासन, बालशिक्षा र पूर्वाधारको क्षेत्रमा काम गर्ने आइएनजिओहरुले नै अहिले नेपाल छाडेका छन् ।

विश्वव्यापी फैलिएको कोभिड महामारीको यो एक बर्षको अवधिमै नेपाल छाड्ने आइएनजिओ ९ वटा छन् । ती २१ वटै संस्थाले नेपाल नबस्ने निर्णय गरी समाजकल्याण परिषद्‌मा ‘फेजआउट’को निवेदन दिइ बाहिरिने आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् ।

परिषदले ‘फेज आउट’ हुने आइएनजिओको दायित्व मूल्याङ्कन गरिरहेको छ । परिषद्का निर्देशक दुर्गाप्रसाद भट्टराईले टीम गठन गरी ती संस्थाको काम कारर्वाही, संस्थाको सम्पति व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

नेपाल छाडेर जाने संस्थाहरुको कर्मचारी, घरधनीप्रतिको दायित्व तथा सामाजिक दायित्व पूरा गरे गरेनन् भन्ने कुरा परिषद्ले हेर्ने गर्दछ । राज्यबाट सहुलियतमा लिइएका सरसामानको उपयोगिता, कार्यक्रमको बजेट र खर्च तथा उपलब्धिजस्ता विषय समितिले हेर्नेछ । कानुन अनुसार आइएनजिओको जिन्सी तथा भौतिक सम्पति नेपाल सरकारको हुन जान्छ ।

प्रकाशित मिति: : 2021-05-04 18:37:00

प्रतिकृया दिनुहोस्