कोरोना लाग्यो ? ११८० मा फोन गर्नुहाेस् बाँकी सबै महानगरले हेर्छ: विद्यासुन्दर शाक्य

कोरोना भाइरस संक्रमितलाई उपचारका लागि अस्पताल लैजान  काठमाडौं महानगरपालिकाले १० वटा एम्वुलेन्स तयारी अवस्थामा राखेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए, ‘यदि तपाईंलाई कोविड–१९ को उपचार गराउन अस्पताल जानुपरे १०२ मा, अन्य रोगको उपचारका लागि अस्पताल जानुपरे हटलाइन ११८० मा सम्पर्क गर्न सक्नुहुनेछ।’ 

कोरोना भाइरस संक्रमितहरुलाई सहयोगका लागि प्रयोग गरिने एम्बुलेन्स सेवाले बिरामीलाई अस्पताल पुर्याउने र उपचारको समन्वय गर्नेसम्मको सहयोग त गर्छ तर अहिले अस्पतालमा शय्या नै खाली नहँुदा उपचार चुनौतीपूर्ण बनेको शाक्यले बताए। 

प्रमुख शाक्यका अनुसार, रोग लुकाएर घरमै सिकिस्त भई बस्नुभन्दा अस्पतालको पेटीमै भए पनि पुग्न सकियो भने उपचार हुनसक्छ। त्यसैले महानगरले दिएको एम्बुलेन्सको सेवा लिएरै उपचारमा लाग्न उनले सबैलाई अनुरोध गरे।

उनले अनुरोध गरे, ‘स्वास्थ्यसम्बन्धी कुनै पनि समस्यामा हुनुहुन्छ र सहयोग गर्ने कोही छैन भने ढुक्कसाथ  वडा–अध्यक्ष वा जनप्रतिनिधिलाई सम्पर्क गर्नुस्। यदि कसैलाई कोविड–१९ को शंका लागेमा महानगरको हटलाईन ११८० मा सम्पर्क गरी निःशुल्क पीसीआर परीक्षण गर्नुहोस्।’  
कोरोना भाइरस संक्रमित भएर होम आईसोलेसन बसेकाहरुलाई कुनै सहयोग आवश्यक परेको सूचना दिएमा वडाले आवश्यक सहयोग गर्ने पनि उनले बताए। 

‘सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरे तापनि आम नागरिकहरुलाई खाद्य सुरक्षालगायतका दैनिक जीवन सहज गराउन हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु बिक्री–वितरणको सहज व्यवस्था गरिएको  पनि उनले बताए। भने, ‘यदि कसैलाई दैनिक गुजाराका लागि समस्या  छ भने सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेर सहयोग लिन सक्नुहुने छ।’ 

मेयर शाक्यले अत्यावश्यक सेवाका लागि बिहान सवारी साधन सञ्चालन गर्न दिँदा कतिपय संक्रमति व्यक्तिहरुले परीक्षण नगरी लक्षण लुकाएर राखेकोले संक्रमण फैलदै गएकोप्रति चिन्ता पनि व्यक्त गर्दै भने, ‘आफूलाई लक्षण भएका व्यक्ति कोरोना परीक्षण गरी ‘पोजेटिभ’ भएमा आइसोलेसनमा बसिदिन आग्रह समेत गरे।’


कोरोनाका बिरामीले अस्पताल भरिएपछि आफैँ ‘आइसोलेसन’ बनाउँदै स्थानीय तह

प्रकाशित मिति: : 2021-05-11 20:36:00

प्रतिकृया दिनुहोस्