कसरी जित्‍ने कोभिडविरुद्धको युद्ध?

हिमाल खबर

काठमाडौँ

वातावरण र विकासमा बहस गर्ने उद्देश्यले ६० जनाको साझा इमेलबाट १३ चैत २०६२ मा शुरू भएको याहूग्रूप एनएनएसडीईई (नेपाल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट–इकोनोमी एन्ड इन्भाइरोमेन्ट)मा अहिले करीब पाँच हजार सहभागी छन्। नेटवर्कका सञ्चालक अर्जुन ढकालका अनुसार, एनएनएसडीईईमा राजनीतिक दलका नेता, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, विधायक, कर्मचारी, अर्थशास्त्री, कूटनीतिज्ञ, नागरिक अगुवा, प्राध्यापक, पत्रकार लगायत विभिन्न पेशा, व्यवसाय र क्षेत्रका मानिसले मुलुकका जल्दाबल्दा विषयमा गम्भीर बहस गर्ने गरेका छन्। 
शिक्षा, स्वास्थ्य, अर्थनीति, विज्ञान, वातावरण, दिगो विकास, इन्धन, सामाजिक सुधार, राज्य पुनःसंरचना जस्ता विषयमा निरन्तर बहस हुँदै आएको एनएनएसडीईईमा ‘कोभिडविरुद्धको युद्ध कसरी जित्ने ?’ भन्ने प्रश्नमा यही २०–२९ वैशाखबीच आएका विचार अहिले देशले सामना गरिरहेको स्वास्थ्य संकटबाट पार पाउन उपयोगी हुने लागेर यहाँ प्रस्तुत गरेका छौं।

एनएनएसडीईईका सञ्चालक तथा वातावरणविद् अर्जुन ढकालले बहसको शुरूवात गर्दै लेखेका छन्ः अहिले गाउँबस्ती, टोलछिमेक, आफन्तजन जताततै कोरोना संक्रमित बढेका छन्। सबैतिर समयमा एम्बुलेन्स पाइएन, अस्पतालमा शय्या छैन, अक्सिजनको अभाव भयो, औषधि पाइएन, सहयोग चाहियो भनेको सुनिन्छ। संक्रमित र सहयोग गर्न चाहनेहरू सबै निरीह बनेका छन्। अर्थतन्त्र तहसनहस हुने नै भयो।

खोप पाएर यथास्थितिमा फर्किन लामो समय लाग्नसक्छ। द इकोनमिस्ट पत्रिकाका अनुसार, हाम्रो जस्ता गरीब राष्ट्रले उत्पादन भएको खोपको दुई प्रतिशत मात्रै पाएका छन्। र, पनि हामीले यथाशक्य चाँडो उठ्नैपर्छ। यसका लागि तत्काल गर्नुपर्ने दुई काम छन्ः संक्रमितको उपचार र रोकथाम तथा नियन्त्रण।

उपचारको कुरा गर्दा अस्पतालहरूको अवस्था कहालीलाग्दो छ। शय्या छैन, अक्सिजन छैन, औषधि छैन। कतै भए पनि महँगो छ। त्यसमाथि, हाम्रो वर्गीय संरचनामा भीआईपीका लागि अस्पतालका शय्या पनि सुरक्षित छन्। कतिपयले रोकेरै राख्ने गरेका छन् भन्ने सुनिन्छ। 

संक्रमणको रोकथाम तथा नियन्त्रण सम्पर्कमा भएकाहरूको खोजी, परीक्षण र एकान्तवासबाट चाँडो गर्न सकिन्छ। हाम्रो संक्रमणदर भारतकै अवस्थामा पुगेको छ। १ अर्ब ४० करोड जनसंख्या भएको भारत हामीभन्दा करीब ४६ गुणा ठूलो छ। यस हिसाबले दैनिक आठ–नौ हजारको हाम्रो संक्रमित संख्या भारतको चार लाख बराबर हुन्छ।
 

 

 

प्रकाशित मिति: : 2021-05-13 11:54:00

प्रतिकृया दिनुहोस्