खोइ चिनियाँ सिलिन्डर ? सांसदले लगे !

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

चीन सरकारले अनुदानमा दिएको ४०० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगायो । तर अधिकांश अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नपाएको भेटिएको छ ।

२८ वैशाखमा स्वास्थ्य सेवा महाशाखाले विभागलाई पठाएको पत्रअनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जलाई ५० वटा सिलिन्डर तोकिएको छ । तर अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासका अनुसार ४० वटा मात्र सिलिन्डर आएको छ । चिनियाँ सिलिन्डर कति पायो अस्पतालले भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई ५० वटा कोटा तोकिएको रहेछ । तर हामीले ४० मात्र पायौं । अरु तिर पनि वितरण गर्नुपर्ने भयो, बाँकी पछि दिन्छौं भन्नु भएको छ ।’

वीर अस्पतालको अवस्था पनि फरक छैन । अक्सिजन अभावमा बेड थप्न नसकिरहेको वीरले ५० वटा कोटा पाएको थियो । तर, २५ वटा मात्र पाएको छ । ट्रमा सेन्टरका लागि २५ वटा दिने भनेर जानकारी दिएपनि अझै पनि त्यहाँ पुगेको छैन ।

निजामती अस्पतालले ४५ वटामध्ये ३० वटा मात्र पाएको छ । अस्पतालका सूचना अधिकृत डा. सुमनबाबु भट्टराई भन्छन्, ‘हामीलाई ३० वटा सिलिन्डर आएको छ । नौ वटा अक्सिजन कन्सन्ट्रेटर पनि आएकाले व्यवस्थापन भएको छ । बाँकी पछि दिन्छौं भन्नुभएको छ ।’

सशस्त्र प्रहरीको एपीएफ अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज लगायतका अधिकांश अस्पतालमा स्वास्थ्य सेवा महाशाखाले तोकेअनुसार चिनियाँ सिलिन्डर पुगेको छैन । एपीएफले २५ वटामध्ये २० वटा, आयुर्वेदले २० मध्ये १५ वटा र केएमसीले २० मध्ये १० वटा मात्र सिलिन्डर पाएको छ ।

प्रकाशित मिति: : 2021-05-16 21:50:00

प्रतिकृया दिनुहोस्