‘अपवादबाहेक खोप लगाएकामा गम्भीर समस्या देखिएको छैन’

हिमाल खबर

काठमाडौँ

 डा. शेरबहादुर पुन  

कोरोना महामारीको दोस्रो लहरले व्यापकता लिन थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको १६ दिनभन्दा बढी भइसकेको छ। निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ? यतिका दिन निषेधाज्ञा भइसक्दा पनि संक्रमितको संख्या किन घटिरहेको छैन? जस्ता जिज्ञासा धेरैले राखिरहनुभएको छ।

कोरोना संक्रमणको अहिलेको अवस्था स्थिर हो, अलिकति तलमाथि भइरहने। संक्रमितको संख्या अझै बढ्ने क्रममा छ या घट्ने क्रममा, एक–दुई दिनको तथ्यांक हेरेर निष्कर्षमा पुग्न सकिँदैन। आगामी साताको ‘ट्रेन्ड’ हेरेर मात्र हामी कुन अवस्थामा छौं भन्ने कुरा गर्न सकिन्छ।

अहिले निषेधाज्ञाले समुदायमा मानिसका भेटघाट बन्द भएका छन्। जमघट छैनन्। तर पनि, संक्रमितको संख्या नघट्नुको कारण भनेको निषेधाज्ञाअघि नै घर–घरमा भाइरस पुग्नु हो। घर–घरमा पुगेको भाइरसले जे गर्नसक्ने हो, त्यही गरिरहेको छ। जसलाई अप्ठेरो पार्नसक्छ, उसैलाई पारिरहेको छ।

अहिलेसम्मका अध्ययनमा मानिसको शरीरमा भाइरस प्रवेश गरेको पाँचदेखि ६ दिनमा लक्षण देखाउन शुरू गर्दछ भनिएको छ। जुन बेला लक्षण देखिन्छ, त्यो बेला भाइरसको ‘लोड’ पनि बढी हुन्छ र त्यही बेला अर्कोमा सर्ने सम्भावना पनि बढी हुन्छ। तीन सातासम्मको अवधिमा घरमा भाइरसले कस–कसलाई संक्रमण गर्ने हो, गरिसक्छ।

अहिले आएर हामीले संक्रमण केही कम होला कि भन्ने अनुमान गर्नुको कारण मानिसहरूले आफ्नो परिवारभन्दा बाहिरका व्यक्तिसँग सम्पर्क गर्न पाएका छैनन् भन्ने आधारमा हो। यही अवस्था रहिरहे अबको केही हप्तापछि संक्रमण दर कम होला भन्ने लागेको हो।
 

प्रकाशित मिति: : 2021-05-18 21:13:00

प्रतिकृया दिनुहोस्