‘नयाँ भेरियन्टको भाइरस आक्रामक र घातक छ’

अनलाइनखबर

काठमाडौँ

नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’पनि भनिएको हो ।

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको जानकारहरू बताउँछन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नयाँ भेरियन्टको कोरोना भाइरस के हो ? र यो कत्तिको घातक छ ? भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीसँग अनलाइनखबरका सुदर्शन अर्यालले गरेको गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।

नेपालमा देखिएको भनिएको नयाँ भेरियन्ट कस्तो हो ?

नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस यसअघिको भाइरसभन्दा जटिल र घातक खालको छ । कुनैपनि महामारी निम्त्याउने भाइरस हरेक भेरियन्टमा परिवर्तन हुँदै आउँछ । कुनै एकदमै आक्रामक तरिकाले आएको हुन्छ भने कुनै हल्का तरिकाले आएको पाइन्छ । तर अहिले आएको नयाँ भाइरस अन्यको तुलनामा आक्रामक र बढी घातक मानिन्छ ।

यसको मूल भारतबाट भएकोले यसलाई ‘भारतीय भेरियन्ट’ नाम दिइएको हो । प्रसारको हिसाबले यो युके भेरियन्टभन्दा अझै तीब्र गतिमा प्रसार हुने खालको छ । यसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्नेछ ।

प्रकाशित मिति: : 2021-05-19 09:38:00

प्रतिकृया दिनुहोस्