कोरोना संक्रमितको लास ब्यवस्थापन गर्ने आरएनए–१६ टीमकी पुनमको 'भिडियाे स्टाेरी'

कमल प्रभात

भक्तपुर

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढन थालेपछि भक्तपुरकी २४ वर्षीया पुनम कर्माचार्यको ब्यस्तता हिजो-आज झन बढेको छ।

लासहरुको गणित हरेक दिन बढ्न थालेपछि उनको ब्यस्तता पनि झन् बढेको हो। भक्तपुरमा रहेका अस्पताल तथा ‘होम–आइसोलेसन’मा रहेका कसैको मृत्यु हुनु भनेको उनको ब्यस्तता झन् बढनु हो। फोनको घण्टी बज्यो भने उनको मन भारी हुन्छ। 

उनलाई लागिरहन्छ, फोनको घण्टी नबजोस्। तर किन रोकिन्थ्यो र ! कसैले श्वास फेर्न छोड्यो भने पुनमलाई फोन गर्छन् र भन्छन्, 'हजुर कता हुनुहुन्छ ? लास उठाउनु पर्याे’ भनेर।'

सर्वसाधारणको जीवन र दैनिकी सकसपूर्ण बन्दै जाँदा पुनमको कार्यबोझ भने अझै बढ्दै गएको छ। कोरोना बढेसँगै देशभरि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ। अस्पतालमा बेड छैनन्, बिरामीहरुलाई अस्पतालको चौरमा राखेर उपचार गर्नु पर्ने बाध्यता छ। आम नागरिक ज्यान जोगाउन भन्दै घरभित्र लुकेर बस्न बाध्य छन्,तर पुनम भने मृतकको शव व्यवस्थापनमा ब्यस्त छिन्।

भक्तपुरको कुनै पनि स्थानमा कोरोनाबाट कसैको मृत्यु भएमा  पुनमको टोली पुगेर शवलाई सङ्क्रमण नफैलिने गरी ‘प्याकिङ’ गर्छ र त्यो शवलाई सेनाले अन्त्यष्टिको लागि लैजान्छ।

पुनम ‘रेस्क्यु एन्ड अवेयरनेस’ (आरएनए–१६)की अगुवा अभियन्ता हुन्। पुनमसँगै उनको टिमले अहिले शव प्याकीङ गर्ने मात्र हैन, कोरोना संक्रमण नियन्त्रणबारे चेतनापनि प्रदान गर्दै आएको छ।

आरएनए–१६ मा ११ जना सदस्य छन्। जसमध्ये चार जना युवती छन्। त्यसमा विशेष गरेर शव व्यवस्थापनमा पुन र उनकी साथी जीना खटिन्छन्।पुनम नर्सिङ पढेकी युवती हुन्। हाल ‘मेडिकल व्यवस्थापन’ पढ्दै गरेकी उनले ख्वपः पोलिटेक्निकल इन्स्टिच्युट, च्याम्हासिंहबाट प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ गरेकी छिन्।

नर्सिङको काम गरेकी उनी संसार कोरोना महामारीले आक्रान्त बनेका बेला सामाजिक कार्यमा लागेकी हुन्। मूलतः नेपाली समुदायमा छोरी मान्छेलाई शव हेर्न र मलामी जान बन्देज छ। उनलाई पनि सुरुका दिनमा शव देख्दा डर लाग्थ्यो। अहिले भने कामग गर्दै जादा बानी परिसकेको अनुभव सुनाउछिन्।



कोरोना संक्रमित शव 'प्याकिङ' गर्ने पुनम



पुनम बाल्यकालदेखि नै निडर थिइन्। उनी बक्सिङ खेलाडी समेत हुन्। पुनले करिब २० वटा भन्दा बढी शवको व्यवस्थापन गरेकी छिन्। सामाजिक कामको सिलसिलामा पुनमले धेरै कठिनाइ भोग्नुपरेको छ। सुरुका दिनमा उनलाई परिवारले अनुमति दिएन। टोल–समाजले पनि नकारात्मक टिप्पणी गर्‍यो। ती कुरालाई कुनै वास्त नगरिकन उनी समाज सेवामा लागिरहेकी छिन्।

कोरोना महामारीमा निडर भएर अग्रपंतिमा खटिएकी पुनम जीवनभर सामाजिक सेवामा खटिने योजनामा छिन्।

प्रकाशित मिति: : 2021-05-19 18:08:00

प्रतिकृया दिनुहोस्