चाँगुनारायण अस्पताललाई उपकरण सहयोगका लागि अपिल

रमेश गिरी
कोभिड–१९ सङ्क्रमित स्थानीयको उपचार गर्दै आएको जिल्लाको ग्रामिण क्षेत्रको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले नहेरेपछि चाँगुनारायण नगरपालिकाले सहयोगको आव्हान गरेको छ। 

विगत १० दिनदेखि यसलाई कोरोना अस्पतालमा रुपान्तर गरेपछि कोभिड सङ्क्रमित बिरामीको चाप बढ्दै गएको तर दुवै तहका सरकारबाट सहयोग नपाएपछि नगरप्रमुख सोमप्रसाद मिश्रले अस्पतालका लागि अत्यावश्यक उपकरणका सामाग्रीे जुटाइदिन आव्हान गरेका हुन्। 

आफै कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसिरहँदा नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएको तर उपकरणको अभाव भएर समस्या परेपछि आइसोलेसनबाट सहयोगको आव्हान गर्नु परेको नगरप्रमुख मिश्रले बताए। 

गतवर्ष कोभिड–१९ को महामारी फैलिएपछि सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिएलगत्तै चाँगुनारायणले वडा नं. ४ हुचिढुङ्गामा निर्माण भएको सुविधा सम्पन्न स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालको रुपमा विस्तार गरी २०७७ मङ्सीर २८ गते तत्कालिन शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए। 

अन्य अस्पतालमा शय्या, अक्सिजन र भेन्टिलेटर नपाइरहेका अवस्थामा यहाँका कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक पर्ने डिजिटल एक्सरे, आइसियूका लागि मोनिटर ६ थान, १० थान हाइडोलिक शय्या सहयोग गर्न उहाले सार्वजनिक रुपमा आव्हान गरेका हुन्।

नगरप्रमुख मिश्रले भने, 'ग्रामिण क्षेत्रमा रहेको यो अस्पतालमा अहिले कोरोनाका बिरामीले शय्या भरिएको छ, नगरपालिकाले सबै खर्च व्यहोर्दै आएको यो अस्पताललाई अहिलेसम्म सङ्घ र प्रदेश सरकारले कुनै सहयोग गरेको छैन, माथिल्लो सरकारले कम्तीमा उपकरण सहयोग गरिदिए हुन्थ्यो, सरकारको आँखा नपरेपछि बाध्य भएर नागरिकस्तरमै सहयोगको आव्हान गरेको हो।' नगरपालिकाले अहिले स्वास्थ्यका लागि दैनिक एक लाख रुपैयाँ खर्च गर्दै आएको र पिपिइ सेटको समेत अभाव हुदै गएको उहाको भनाइ छ। 

नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्राफी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आइसियू शय्या, भेन्टिलेटर, प्रयोगशाला विस्तार र जनशक्ति व्यवस्थापनको माग गर्दै पत्राचार गरेको छ। 

भक्तपुरमा सबै सरकारी अस्पताललाई सङ्घीय सरकारले सहयोग गरेको तर यो अस्पताललाई सरकारले सहयोग नगरेको भन्दै स्थानीयले सामाजिक सञ्जालमा आलोचना गरेका छन्। सङ्घंीय सरकारसँग उक्त अस्पतालको लागि बजेट व्यबस्थापनका लागि सांसद महेश बस्नेतले पहल गरिरहेको  बताए। 

नगरपालिकाले सानो १४ र ठूलो ३६ वटा गरी ५० वटा अक्सिजन सिलिण्डरको जोहो गरी वडा नं. ३ र ४ का वडाध्यक्षहरुले आलोपालो गर्दै रातभरि लाइन बसेर अक्सिजन ल्याउने गरेका छन्। अहिलेसम्म अक्सिजन छैन भनेर बिरामी फर्काउनु  र बिरामी आफैलाई अक्सिजन ल्याउ भन्नुपर्ने अवस्था नआएको नगरप्रमुख मिश्रको भनाइ छ। 

नगरपालिकाले नागरिकका लागि नेपाल इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ भने एम्बुलेन्स र शव वाहन पनि सञ्चालनमा ल्याएको छ। जिल्ला खेलकुद समितिका अध्यक्ष श्रीभक्त कासिछावाले चाँगनारायण नगर अस्पताल र आइसोलेसनमा रहेका बिरामी र कुरुवालाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेका गरेका छन्। रासस 

प्रकाशित मिति: : 2021-05-19 19:12:00

प्रतिकृया दिनुहोस्