खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

राजधानी दैनिक

प्रशान्त वली

कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा खोप लगाउनबाट वञ्चित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइएको छ । जसमध्ये पहिलो र दोस्रो मात्रा ५ लाख ५३ हजार ५ सय ८९ जनाले लगाएका छन् । कोभिड १९ खोपको लक्षित समूहको प्राथमिकीकरणलाई आधार मान्दा २ करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउनुपर्ने हुन्छ ।

हालसम्म प्राप्त ३२ लाख ४८ हजार खोप प्राप्त भएकोमा २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइसकीएको छ । जस अनुसार पाँच लाख ८२ हजार १३ मात्रा खोप बाँकि रहेको देखिन्छ ।

– दुई करोड १२ लाखले पाएनन् दुईवटै मात्रा
– २६ लाख ६६ हजार मात्रा लगाइयो

यस्तै, खोप लगाउनबाट वञ्चित भएकाले यथाशीघ्र खोप दिलाउन सरकारसँग माग गर्दै आएका छन् । उनीहरूले खोप उपलब्ध गराउन सरकार गम्भीर नभएको बताएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथामविरुद्धको खोप निकट भविष्यमै लगाउने तयारी थालिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यसका लागि बिभिन्न राष्ट्रलाई पत्राचार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृृदेश त्रिपाठीका अनुसार खोप खरिदका लागि संयुक्त राज्य अमेरिका, बेलायत, रुस, भारत, चीन, नर्वे सरकारसँग खोप खरिदका लागि सहजीकरण गर्न अनुरोध गरिएको छ । उनले युरोपियन युनियनको स्टोरमा रहेका खोपलाई प्राप्त गर्नका लागि संवाद अघि बढाइएको बताए । स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘ती देश खोप उपलब्ध गराउन सकारात्मक देखिएका छन्, हामी प्रयासरत छौं ।’

प्रकाशित मिति: : 2021-05-25 06:44:00

प्रतिकृया दिनुहोस्