भूमेस्थानमा पूजा आराधना गरी मनाइयो उभौली

News Sanjal
News Sanjal

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ। 

 नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सीमित व्यक्तिले भूमेस्थानमा पूजा आराधना गरेका छन्। 

बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ। यो पर्व प्रकृतिपूजक भएको यस विषयका अनुसन्धाताको भनाई छ। 

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किराँत समुदायको चाडपर्वका विषयमा अनुसन्धातरत समाजशासत्री कीर्तिकुमार दुमी राईले बताए। यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ। यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।  

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। यस वर्ष डेढ महीनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गरिएको किराँत राई यायोक्खाले जनाएको छ। 

ललितपुरको सानो हात्तीवनमा रहेको साकेलास्थान जसलाई किराँत समुदायले पितृको पूजा स्थलका रुपमा मान्छन् त्यहाँ समेत पूजारीले विधिपूर्वक पूजा आराधना गरिएको छ। 

विगत वर्षमा हजारौँ मानिस हात्तीवनमा जम्मा भई चण्डी र साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गरिन्थ्यो। विगत वर्ष र यस वर्ष पनि कोरोना महामारीका कारण त्यसो गर्न नसके पनि पूजा विधि भने पूरा भएको यायोक्खाले जनाएको छ। 

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ। 

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउने गरेको किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले बताए। रासस 

प्रकाशित मिति: : 2021-05-26 21:17:00

प्रतिकृया दिनुहोस्