स्वास्थ्यकर्मीलाई खोप छैन, एमाले समर्थक व्यवसायी र कार्यकर्ताका लागि ‘प्राइभेट’ खोप अभियान

जनप्रतिनिधि नै बेखबर, स्थानीयको विरोध, सामाजिक विकास मन्त्री राई विवादमा

रातोपाटी

काठमाडाैं

काठमाडौँमा सिमित खोप रहेको कारण देखाउँदै फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुले सेरम इन्सटिट्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नपाइरहेका बेला प्रदेश १ मा भने सत्तारुढ दलले आफू निकट व्यवसायी र कार्यकर्तालाई खोप लगाएको खुलेको छ ।

​सामाजिक विकास मन्त्री उषाकला राईले आफु निकटका मान्छेलाई लुकाएर कोभिसिल्ड खाेपको दोस्रो डोज दिएको थाहा पाएपछि लफडा भएको हो । मन्त्री राई निकट कार्यकर्ता र केही उद्योगी व्यवसायी र कर्मचारीलाई खोप दिएको थाहा पाएपछि स्थानीयवासीले खोप केन्द्रमा अवरोध पुर्याएपछि खोप कार्यक्रम नै बिथोलिएको छ ।

एमाले समर्थक कार्यकर्ता र केही उद्योगी तथा कर्मचारी खोप लगाउन अपरान्ह विराटनगरको तीन पैनी चोकमा पर्ने सिटी सिनेमा हल पुगेका थिए । करिब ३ सय जनालाई सोप लगाउने कार्यक्रम रहेकोमा २ सय बढीलाई खोप लगाएपछि स्थानीयको अवरोधका कारण खोप लगाउने कार्यक्रम बिथोलिएको थियो ।

हालै एमाले प्रवेश गरेका उद्योगी किशोर प्रधानले आफूलाई आफन्तले खोप लगाउने कार्यक्रम रहेकाले सिटी सिनेमा आउन भनेकाले आफू र श्रीमती खोप लगाउन केन्द्रमा पुगेको बताए । उनले लाइनमा बसेर आफू र श्रीमतीले खोप लगाएपनि कसले आयोजना गरेको हो भन्नेबारेमा आफुलाई केही थाहा नभएको बताए ।

प्रकाशित मिति: : 2021-05-28 18:53:00

प्रतिकृया दिनुहोस्