मन खाेलेर रुनुहाेस् !

Breaknlinks
Breaknlinks

आँशुलाई विज्ञानले ग्रन्थीश्रावको रुपमा व्याख्या गरे पनि मलाई लाग्छ- जब दुःख र खुशीमा निःशब्द भइन्छ, तब आँशुले आफै अभिव्यक्त हुन्छ।

अझ भनौं जब मन पिडाले गाँठो परेर धमिलीन थाल्छ, मज्जाले रुन सके मन प्रफुल्ल भएर फेरि मुस्कुराउन सकिन्छ। मानिस अनेक कारणले रुन्छन्। धेरै जसो मानिस पिडामा रुने गर्छन्। केही मानिस खुशीमा पनि रुन्छन्।

आमाको ध्यान आफूतिर केन्द्रीत गर्न बालक रुने गर्छ। हामी पनि बाल्यकालमा कति रोयौं होला, त्यसको लेखाजोखा गर्न असम्भव छ। हुन पनि बाल्यकालमा हामी रुनुपर्ने कारण पनि अनौठा हुन्थे।

आठ वर्षकी हुँदा म मामा घर गएको दिन साह्रै रोएकी थिए, त्यो अनौठो अर्थको रुवाइ मेरो स्मरणमा अझै पनि ताजा छ।

आमा–बुबा र भाईसँग मामा घर गएको थिए। उमेरान्तर धेरै भएर होला, म जेठी दिदिसँग डर मान्नु स्वाभविक थियो। म माइली दिदिसँग बढी मिल्थे। मेरो साथी वा दिदि जे भने पनि उहाँ नै हुनुहुन्थ्यो। आमा बुबासँग मामा घर गएको मान्छे खुशी हुनुपर्ने हो। म भने मामा घर पुग्नासाथ जोरजोरले रोएको थिए। जति अध्यारो हुँदै जान्थ्यो म त्यती बढी माईली दिदिलाई सम्झिदै रुन्थे। अरुले नरोउ भनेर फकाउन अनेक बहाना गरे पनि मेरो मनले मान्दैन थियो।

जब बादल फाटेर झरी सुरु हुन्छ र झरी परिसकेपछि आकाश सफा हुन्छ, मलाई मेरो अनुहार पनि त्यस्तै लाग्छ। मलाई पनि आकाश जस्तै सफा हुन मन लाग्छ। रोइसकेपछि मनमा भएका सबै पिडा हटेको महसुश हुन्छ। मजाले रोएपछि चिसो पानीले मुख धुँदा आनन्द महसुश हुन्छ, अनि हल्का मुस्कुराउदै ऐना हेर्न रुचाँउछु। ऐना हेर्दै ऐनामा देखिएको आफ्नो दृश्यसँग गफ गर्दै ‘ल भन् न त रनिता किन यति धेरै दुखी छस्?’ भन्न मन लाग्छ। जुन मलाई खुब मन पर्छ।

ऐनामा मुस्कुराई रहेको आफ्नो अनुहार देख्दा अनि पिडा नदेख्दा म ढुक्क हुन्छु। मलाई रोइसकेपछि अगाडी बढ्ने शक्ति मिले जस्तो लाग्छ। त्यसैले जीवन जिउँने बाटोलाई सहज बनाउँछ जस्तो पनि लाग्छ, मलाई आँशुले।

जसरी म स–साना कुरामा खुशी हुन्छु, त्यस्तै मलाई स–साना कुराहरुले पनि भित्रैसम्म छुन्छ। यही कुराले आँशु झर्छ भन्ने नै हुँदैन। प्रकृति, जीवजन्तु, मानिस कसैमा पनि घटेको दुखद अवस्थाले छिट्टै मलाई मर्माहत बनाउँछ। कहिलेकाहीँ यसै कुनै कारण बिना नै आँशु झर्छ। त्यस्तो बेलामा लाग्छ हामी आफैँलाई थाहा नभएका कति पिडाहरु हामी भित्र होलान्। केही पिडा अभिव्यक्त गर्न नसक्दा आँशुले मनको पिडालाई व्यक्त गरिदिन्छ।

हामीसँगै जन्मदै आएको संवेगहरुमा आँशु पनि पर्छ। भित्रै मनबाट मजाले हाँस्नलाई भित्रै मनबाट पनि मजाले रुन जरुरी हुन्छ। रुन नसक्नेहरु कहिल्यै पनि मजाले हाँस्न सक्दैन्न् भन्ने मलाई लाग्छ। मनलाई शीतल, शान्त र हल्का पार्न पनि आँशु बगाउनुपर्छ।

सानैदेखि एकान्तप्रेमी भएर होला रुन पनि मलाई कोही चाँहिदैन, बरु मन लागेको बेला बाथरुममा बसेर रुन मन लाग्छ। मजाले झरी परेको बेला झरीसँगै रुनुको मजा नै बेग्लै हुन्छ। बाथरुमा गएर धित मरुन्जेल रोएर पानीले मुख धोएपछि मुस्कुराउदै गीत गाउँदै बाहिर निस्कनुको आनन्द नै बेग्लै। आँशु कसैको अगाडी झारेर कमजोर हुनुभन्दा आफैसँग रोएर पछि मनलाई अझ मजबुत बनाउँछ।

भारी भएको मनलाई आँशुले पखालेर हामी खुशी हुन्छौ। कुनै कुराहरुमा हामी यति धेरै खुसी हुन्छौ कि जुन कुरालाई अभिव्यक्त गर्न नसकेर आँशुमार्फत् व्यक्त गरेका हुन्छौ। जीवनमा आँशु र खुसी दुबैको उक्तिकै महत्व हुन्छ। खुसी हरपल अनुहारमा छाएको हुन्छ, भने आँशुलाई इज्जतले झर्न दिनुपर्छ। ताकि झरेपछि सुन्दर मनको आकाशमा इन्द्रेणी लाग्न सकोस्।
 

प्रकाशित मिति: : 2021-06-02 14:11:00

प्रतिकृया दिनुहोस्