किन छाप्‍न हुँदैन हजारको नोट ? 

हिमाल खबर

काठमाडौँ

रामेश्वर खनाल  

नेपालले अब एक हजार दरको नयाँ नोट छाप्‍न बन्द गर्नुपर्छ। छाप्‍न बन्द गर्ने मात्र होइन, तीनदेखि पाँच वर्षमा अहिले चलनचल्तीमा रहेका ठूला दरका नोट क्रमशः प्रयोगबाटै हटाउनुपर्छ। सानोतिनो कारोबारका लागि रु.५० वा १०० दरका नोट कायम राखे पनि ठूला दरका नोट दीर्घकालमा विस्थापित गर्दै लैजानुपर्छ। 

मेरो यस्तो कठोर जिकिरका पछाडि तीन प्रमुख कारण छन्।

पहिलो, नेपालमा पछिल्ला महीनाहरूमा नगदरहित कारोबारमा अभूतपूर्व क्रान्ति आएको र डिजिटल भुक्तानीप्रति मानिसहरूको ठूलो विश्वास जगाइदिएको छ। नेपाल टेलिकमको फोरजी देशैभरि विस्तार भएको र डिजिटल भुक्तानीका लागि पूर्वाधारहरू बनेका कारण यस्तो परिवर्तन सम्भव भएको बुझ्न कठिन छैन। 

ग्रामीण क्षेत्रको पछिल्लो परिवर्तन नदेखेका कतिपय मानिसले गाउँका मानिसले डिजिटल भुक्तानी सेवा वा मोबाइल ब्यांकिङ चलाउन सक्दैनन् भन्ने तर्क गर्छन्, जुन सर्वथा गलत हो। किनकि, साधारण लेखपढ गर्न सक्नेले पनि फेसबूक, टिकटक, ट्विटर, युट्युब चलाउन सकेको देखिन्छ। केही महीनाअघि कास्कीको पुम्दीभुम्दीमा घाँस काटेर फर्किइरहेका किशोरीहरूले बाटैमा रोकिएर डेटा चलाई टिकटकमा भिडिओ अपलोड गरिरहेको देखेर म आश्चर्यमा परेको थिएँ।

तथ्यांक हेरौं, बितेको १२ महीनामध्ये कात्तिकलाई एउटा समयसीमा राख्ने हो भने, त्यसभन्दा अघि र पछिको अवधि तुलना गर्दा एटीएमबाट निकालेको रकम र संख्या कात्तिकपछि तुलनात्मक रूपमा बढेको छैन। कात्तिक अगाडि त आर्थिक क्रियाकलाप खुम्चिएका थिए, त्यसपछि सञ्चालनमा आउँदा एटीएम कारोबार बढ्नुपर्नेमा बढेको छैन। जबकि, डिजिटल कारोबार व्यापक बढेको छ। मोबाइल ब्यांकिङ मात्र होइन, आरटीजीएसमार्फत कर्पोरेट पेमेन्टमा पनि अभूतपूर्व प्रगति भएको छ। यसले चेक काटेर रकम भुक्तानी गर्ने चलन निकै घटाएको छ। अब खल्तीमा नगद नै राखेर हिँड्नुपर्ने वा नगद तिरेर मात्रै कारोबार गर्नुपर्ने आवश्यकता रहेन, डिजिटल कारोबार गर्न सक्ने विकल्प छ। त्यसैकारण मैले ठूला दरका नोटको आवश्यकता क्रमशः घट्दै छ भनेको हुँ। 
 

 

प्रकाशित मिति: : 2021-06-03 15:20:00

प्रतिकृया दिनुहोस्