कुनै पनि बहानामा घरमा सुत्केरी गराउनु हुँदैन : डा. संगीता मिश्रा

अनलाइनखबर

काठमाडौँ

कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको कारण यातायात ठप्प हुँदाको सिधा असर गर्भवतीहरुलाई पनि परिरहेको छ । यातायात नपाउँदा नियमित जाँचका लागि अस्पताल जान समस्या भएको छ ।

कतिपय गर्भवती भने अस्पतालमै संक्रमित भइने डरले नियमित परीक्षणमा गएका छैनन् । नियमित जाँच नगराउने गर्भवतीहरु कस्तो प्रशुती जोखिममा पर्छन् ? लगायत विषयमा अनलाइनखबरकी नुनुता राईले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी प्रमुख डा.संगीता मिश्रासँग गरेको संक्षिप्त कुराकानी :

कोभिड–१९ को दोस्रो लहरमा नियमित जाँच गर्न अस्पताल आउने गर्भवती संख्या कस्तो छ ?

कोभिडको दोस्रो लहरमा भन्दा पनि निषेधाज्ञापछि नियमित जाँचमा आउनेको संख्या आधा घटेको छ । सामान्य समयमा दैनिक छ देखि साढे छ सय जना आउने गरेकोमा अहिले घटेर तीन सय देखि साढे तीन सय जना आइरहनुभएको छ ।

यसको कारण संक्रमणको डर हो कि निषेधाज्ञा ?

बढी त निषेधाज्ञाकै कारण हो । निषेधाज्ञाले गर्दा यातायात ठप्प भएकाले धेरै जना नियमित जाँचमा अस्पताल आउन सक्नुभएको छैन । संक्रमित हुने डरले अस्पताल नआउनेहरु पनि छन् । गर्भवती आफैं वा परिवार डराएर अस्पताल नआएको जानकारी हामीलाई छ, जुन एकदमै गलत हो ।

नियमित जाँच किन जरुरी छ ?

सामान्य अवस्थामा पनि सकेसम्म जाँचका लागि अस्पताल आउनु राम्रो हो । अस्पताल जान नसकिने अवस्था हो भने नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको परामर्श लिन जरुरी छ । आफ्नै हिसाबले म ठीक छु भनेर नियमित जाँच छुटाउन हुँदैन ।

आफूलाई केही असहज भएजस्तो लाग्दा वा समस्या हो कि भन्ने शंका भयो भने त झन् तुरुन्तै अस्पताल जानुपर्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर अस्पताल जानैपर्छ । यो समयमा एकदमै सावधानी अपनाउनुपर्छ । सानो लापरबाहीले अर्कै समस्यामा पार्न सक्छ ।

प्रकाशित मिति: : 2021-06-08 16:39:00

प्रतिकृया दिनुहोस्