चोरको आँखा बुद्धका मूर्तिमा, रित्तिन थाले डोल्पाका गुम्बा 

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य हो– डोल्पा।

त्यसो त डोल्पाको प्राकृतिक सुन्दरतासँग समिप्यता गाँस्न वर्षेनी हजारौँ पर्यटकहरु डोल्पा आइपुग्ने गर्दछन्।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो ताल, धो भ्याली, शे–गुम्बा, रिबु गुम्बा लगायतका गुम्बाहरु पर्यटकका मुख्य आकर्षण हुन्।

त्यति मात्र नभई त्यहाँको धर्म–सँस्कृति,जीवनशैली पनि पर्यटकले निकै रुचाउने गर्दछन्।

उपल्लो डोल्पाको यात्रामा बाटाघाटामा कलात्मक रुपबाट चिस्तुम, गुम्बाहरु निर्माण गरिएको देख्न पाइन्छ। रुख, लाप्का र पुलहरुमा विभिन्न रङ्का थान्काहरु पनि झुन्डाइएका हुन्छन्।

बस्ती नजिक पुग्नुअघि बौद्ध धर्म झल्काउने कलात्मक प्रवशेद्वारहरु खडा गरिएका हुन्छन्।

यी सबै बौद्ध धर्मप्रतिको अटूट आस्था र त्यसको प्रचारप्रशार हो। गाउँमा पुगिसकेपछि त केही दूरीको अन्तरमा गुम्बा तथा चिस्तुम देख्न पाइन्छ।

यस्ता गुम्बा, चिस्तुम र घर–घरमा बेरिएका थान्का चित्रले आफ्नो घर परिवार र गाउँठाउँको रक्षा गर्ने जनविश्वास रहेको छ। जिल्लामै बौद्धमार्गीहरुको मुख्य वासस्थानको रुपमा रहेको उपल्लो डोल्पामा र तल्लो डोल्पाका केही क्षेत्रमा देखिने यस्ता संरचना आस्थाका मुख्य धरोहर हुन् तर पछिल्लो समयमा तिनै धरोहरहरु एकपछि अर्को गर्दै चोरी हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। उनीहरुलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचिन एवं ऐतिहासिक गुम्बाहरुलाई जोगाउन हम्मेहम्मे परेको छ।

रित्तिन थाले गुम्बा

बौद्धमार्गीहरुका आस्थाका धरोहरका रुपमा रहेका प्राचिन मुर्तिहरु प्रत्येक बर्ष चोरीहुन थालेकाछन्। तल्लो डोल्पा र माथिल्लो डोल्पासम्म पर्ने विभिन्न प्राचिन मूर्तिहरु एकपछि अर्को गर्दै श्रृङ्खलाबद्ध रुपमा चोरी हुन थालेपछि गुम्बा नै रित्तिन थालेका हुन्।

पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, शेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बा लगायतका प्राचिन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चोरी भएकोमा चार थान मात्रै बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
डिएसपी पाण्डेका अनुसार, ०७२ मंसिर २७ गते शे–फोक्सुण्डो गाउँपालिका ३ मा रहेको शेलरी सोम्दो गुम्बाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेला पर्न सकेको छैन।

त्यसैगरी डोल्पो बुद्ध गाउँपालिका वडा नं ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत्र २८ गते राति ४ थान बुद्धका मूर्ति र बौद्ध धर्मसम्बन्धी एक पुस्तक चोरी भएको थियो।

पुरातात्विक मूर्तिहरुहरुसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थहरु पनि हराएका थिए।
हराएका ४ थान मूर्तिहरुमध्ये ३ थान मूर्ति र १ थान बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको प्रहरीले जनाएको छ। एक थान मूर्ति अझै फेला परेको छैन्।

पुरातात्विक मूर्ति र धर्मग्रन्थ जाँचका लागि पुरातत्व विभाग काठमाडांै लगिएको दुई वर्ष चार महिनापछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरातत्व विभागले जनाएको छ।

‘गुम्बाका मूर्ति सबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको छ, चोर पत्ता लागेर पनि कोही कारागारमा छन्, कोही धरौटीमा छुटिसके, मूर्ति भने अझै पत्ता लाग्न सकेका छैनन्’, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामाले भने।

त्यस्तै, छार्काताङसोङ गाउँपालिका– १ को बोन गुम्बाबाट ०७३ जेठ २८ गते हराएको एक थान बुद्धमूर्ति प्रहरी र स्थानीयको सक्रियतामा तत्काल बरामद गरिएको थियो।

त्यस्तै शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँमा पर्ने छ सय वर्षपुरानो थासोङ छोलिङ गुम्बाबाट ०७५ सालमा हराएका सात थान मुर्तिहरु अझै पत्तालाग्न सकेको छैन।

‘गुम्बाका मूर्ति सबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको छ, चोर पत्ता लागेर पनि कोही कारागारमा छन्, कोही धरौटीमा छुटिसके, मूर्ति भने अझै पत्ता लाग्न सकेका छैनन्’, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामाले भने। 

‘तस्करहरुले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीहरुको आस्था पनि लुटेका छन्। अहिले रित्ता गुम्बाहरुमा आस्था जोगाउनुपर्ने बाध्यता छ’, लामाले थपे।
नेपालकै गहिरो शे–फोक्सुन्डो तालको छेउमै रेहेको उक्त गुम्बा तालपछि अर्को आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै आएको थियो। ताल पुगेका पर्यटकहरु एक पटक गुम्बा पुगेरै फर्किने गरेको वडा अध्यक्ष लामाले बताए।

गुरुङ र लामा समुदायको बाहुल्य रहेको उपल्लो डोल्पाका विभिन्न स्थानमा पुग्न सदरमुकाम दुनैदेखि तीनदेखि सात दिनसम्म लाग्ने गर्दछन्।
त्यसैगरी, काइके गाउँपालिका वडा नं १ मा पर्ने खागर गुम्बाबाट यसै वर्ष १४ वैशाखमा चोरी भएका दुई थान मूर्ति अझै फेला पर्न सकेको छैन।
एक वर्षअघि पूजा गरेर राखेका मूर्तिहरुको पुनः पूजा गर्न जाँदा चोरी भएको पाइएको प्रहरीले जनाएको छ। हराएका मूर्तिका विषयमा अनुसन्धान सुरु भइसके पनि अहिले नै पत्ता नलागिसकेको प्रहरीको भनाइ छ।

काइके गाउँपालिकाका युवा पर्यटन व्यवसायी जगबहादुर बुढाका अनुसार ठूलै राजनीतिक संरक्षणको आडमा मात्रै यस्तो प्राचिन मूर्तिको चोरी हुनेगरेको आशङ्का व्यक्त गर्छन्। ‘प्रमाणबिना ठ्याक्कै भन्न त गारो छ तर यस्तो काम मामुलि मान्छेले गर्नै सक्दैन्, ठुलै राजनीतिक संरक्षण पाएको अपराधिक गिरोह नै लागेको हुनुपर्छ’, बुढामगरले भने।

प्रहरीले अहिलेसम्म छिटफुट व्यक्ति समाते पनि गिरोह पत्ता लगाउन नसक्दा तस्करहरुको मनोबल बढेको उनको भनाइ छ।
सीआईबीले अनुसन्धान गर्न माग

प्राचिन गुम्बाहरुको श्रृङ्खलाबद्ध तस्करी गर्ने अपराधिक गिरोह पत्ता लगाउन  केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोली खटाउन माग गरिएको छ।

काइके गाउँपालिकाका युवक मानप्रसाद बुढाले भने, ‘जिल्लाका दर्जनौँ पुरातात्विक गुम्बाहरु विगतदेखि नै अहिलेसम्म योजनाद्ध रुपमा चोरी भइरहे पनि गिरोह पत्ता लाग्न नसक्नु दुःखद् कुरा भएको बताए।

“निरन्तर चोरी भइरहेको छ,तस्करीमा संलग्न मुख्य गिरोह चाहिँ पत्ता लागेको सुनिँदैन्,अनुसन्धान पेचिलो नहुँदा तस्करहरुको मनोवल उच्च भएको पाइएको छ,अब केन्द्रिय अनुसन्धान ब्युरोको टोली खटाएरै अनुसन्धान सुरु गर्नुपर्छ।’ 

‘बौद्धमार्गिहरुको आस्था नै सखाप हुनेगरी हुँदै आएको मूर्ति तस्करी केही स्थानीय व्यक्तिको सुराकीबिना तस्करले मात्र गर्न सक्दैन्, अब किटानीसहित केन्द्रीय अनुसन्धान व्युरो पुग्ने तयारी गरेका छौँ’, बुढाले थपे।

मूर्ति तस्कर गिरोह पत्ता लगाउन प्रहरीको अनुसन्धानलाई सघाउन जुनसुकै सहयोग गर्न पनि तत्पर रहेको बुढाको भनाई छ।
भौगोलिक विकटता सुरक्षामा चुनौती

कठिन भौगौलिक बिकटता र सुरक्षाकर्मीको न्युन उपस्थितिका कारण पनि उपल्लो डोल्पा गुम्बाहरु बर्षौ देखि तस्करको निशानामा पर्दै आएको स्थानीयको भनाई छ। तस्करहरु खुलेयाम हातहतियार सहित गुम्बा चोर्दा पनि घुम्दा पनि स्थानीयबासी मुख दर्शक भएर बस्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ।

जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भौगोलिक रुपमा विकट र पातलो बस्ती भएका कारण पनि उपल्लो डोल्पाका गुम्बाहरु तस्करको निशानामा परेको बताए।

“प्रतिकूल मौसमका कारण उपल्लो डोल्पामा छ महिना मात्र सुरक्षार्मी बस्न सक्छन्, बाँकी समय सुरक्षाकर्मीको उपस्थिति हुँदैन्, सोही समयमा मौका छोपी अपराधिक मनोवृत्ति भएका व्यक्तिले चोरी गर्ने गरेको पाइएको छ’, पाण्डेले भने।‘सञ्चारको असुविधाका कारण उपल्लो डोल्पाबाट सूचनाहरु सदरमुकामसम्म सूचना आदानप्रदान गर्न लाग्छ, तस्करहरु चोरी गरेर भागिसक्दा समेत प्रहरीलाई सूचना नआउँने र प्रहरीले सूचना पाएर घटनास्थलमा पुगुञ्जेलसम्म चोरहरु फरार भइसक्ने हुनाले पनि सुरक्षा चुनौती थपिएको छ”उनले भने।

उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडा पार्न दरबन्दी थप गर्नुका  साथै प्रहरीका लागि बाह्रै महिना बस्नसक्ने भौतिक पुर्वाधारहरु खडा गरेमा यस्ता घटनामा कमी ल्याउन सकिने डिएसपी पाण्डेको विश्वास छ।

उपल्लो डोल्पामा पर्ने तीन स्थानीय तहमा अस्थायी र स्थायी गरेर ७ वटा प्रहरी चौकीहरु रहेका छन्।
प्रत्येक वर्ष पुरातात्विक महत्वका मूर्ति तस्करी भइरहँदा पनि प्रहरीले संलग्न गिरोह पत्ता लगाउन नसकेको सरोकारवालाहरु बताउँछन्।
योजनाबद्ध तरिकाले उपल्लो डोल्पाका गुम्बाहरु रित्याउने खेल हुँदासमेत प्रहरीले पेचिलो अनुसन्धान गर्न नसक्नुले पनि तस्करहरुलाई प्रोत्साहन मिलेको उनीहरुको भनाइ छ।

यता पुरातत्व विभागले भने उपल्लो डोल्पामा रहेका ऐतिहासिक गुम्बाहरु श्रृङ्खलाबद्ध रुपमा चोरी हुनुमा गलत हल्ला रहेको बताएको छ।
उपल्लो डोल्पाका विभिन्न गुम्बाहरुमा राखिएका पुरातात्विक मूर्ति तथा धर्मगन्थको मूल्य करोडौँ रुपैयाँ पर्ने भन्दै गलत अपवाह फैलाउनाले पनि गुम्बाहरु तस्करको निशानामा पर्ने गरेको पुरातत्व विभागको भनाइ छ।

प्रकाशित मिति: : 2021-06-09 18:30:00

प्रतिकृया दिनुहोस्