गण्डकीको बजेटमाथि विपक्षीको प्रतिक्रियाः खिचडी सरकारको खिचडी जस्तो बजेट!

सरकार गठन भएको चार दिनमै गण्डकी सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्‍यो। ५ सदस्यीय मन्त्रिपरिषद्को गण्डकी सरकारमा ४ बिना विभागीय मन्त्री छन्। मन्त्रिपरिषद्ले पूर्णता नपाई सकेको अवस्थामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल स्वयःले नै आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गरे। 

सरकारले ल्याएको बजेटलाई विपक्षी दलका सांसदहरूले खिचडी बजेट आएको प्रतिक्रिया दिएका छन्। पुरानो सरकारले ल्याएका योजनालाई सामान्य फेरबदल गरेर दुरुस्तै बजेट ल्याइएको उनीहरूले बताएका छन्। 

कास्कीका प्रदेश सभामा निर्वाचित सांसद मनबहादुर गुरुङले खिचडी जस्तो सरकारले खिचडी जस्तो बजेट ल्याएको प्रतिक्रिया दिएका छन्। ‘यो खिचडी सरकारको खिचडी बजेट न हो। पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारले ल्याएको बजेटको निरन्तरता त हो। अर्को, उनीहरुसँग कुन कन्सेप्ट छ ? कुन दृश्टिकोण छ ? एक हिसाबले भन्ने हो भने,’ उनले भने, ‘त्यसैको निरन्तरता हो।’ केही कुरालाई पोके बजेट जस्तो सबै कुरा एकै ठाउँमा राखेर चुनावी बजेट जस्तो बनाएको उनको टिप्पणी छ। कार्यकर्ता पोस्ने खालको बजेट ल्याएको उनले प्रतिक्रिया दिए।

धेरै जस्तो बजेट पोकै बनाउन खोजेको उनले आरोप लगाए। ‘मेरो विचारमा पोकै बनाएर राख्छ होला। अहिले त कोभिड समस्या समाधानको लागि, नियन्त्रणको लागि आजभन्दा एक वर्ष अघि पनि पीसिआरको कुरा थियो, क्वारेन्टाइनको कुरा थियो, आइसोलेसनको कुरा थियो, बत्तिको कुरा थियो,’ उनले भने, ‘अहिलेको मुख्य समस्या त खोप हो नि, जनतालाई खोप दिने कुरा थियो। खोप दिने कुरा त अघिल्लो सरकारले सिद्धान्त र प्राथमिकतामै ल्याएको थियो। केन्द्रिय सरकारले त ५० अर्बको बजेट छुट्याएको छ। तर, यो सरकारले बजेट पनि छुट्याएन।’ छोटो समयमा ल्याउने भनेको हिजोकै सरकारको फोटो कपि गर्ने उनको टिप्पणी छ। 

धेरै जनताको आवश्यकता संसद विकास कोष (निर्वाचन पूर्वाधार कोष)सँग जोडिने राम्रो काम भएकाले निरन्तरता दिएको हुन सक्ने उनले प्रतिक्रिया दिए। 

मुस्ताङबाट प्रदेश सभामा निर्वाचित सांसद इन्द्रधारा विष्टले बजेट राम्रै ल्याए पनि कार्यान्वयन गर्न चुनौती रहेको बताए। संसद विकास कोष केन्द्र सरकारले संसद खारेज भएकाले नल्याएको हुन सक्ने उनले बताए। संसद विकास कोषलाई जनताको भावनाअनुसार सांसदले खर्चिन पाउने भएकाले यसलाई निरन्तरता दिनु राम्रो रहेको उनले प्रतिक्रिया दिए। ‘छुट्याउन त ३६ निर्वाचन क्षेत्रलाई ७२ करोड नै छुट्याएको छ। कसरी वितरण गर्छ थाहा छैन। निर्वाचित सांसद हामी जति पनि छौं, हामीलाई त धेरै कुरा जनतासँग प्रतिबद्धता गरेका छौं,’ उनले भने, ‘यसलाई जनतामुखि बनाएर दिन सक्यौ भने यो कार्यक्रम खासै नराम्रो कार्यक्रम होइन।’ सत्तापक्ष र विपक्षमा रहेका सांसदलाई बजेट विनियोजनको क्रममा एक पक्षले अर्को पक्षको माग सुनुवाई नगर्न सक्ने सम्भावना रहेकाले पनि संसद विकास कोषलाई निरन्तरता दिनु राम्रो रहेको उनले बताए। 

कास्कीबाट निर्वाचित सांसद कृष्ण थापाले निर्वाचित सांसदको अपमान हुने गरि तोडमोड गरिएको बताए। संसद विकास कोष नितान्त राजनीतिक स्वार्थबाट प्रेरित रहेको उनको टिप्पणी छ। ‘हिजो उहाँहरुले नै अबण्डा बजेट हुँदा पोके बजेट के के भनेर भन्नु भएको थियो। समग्रमा भन्नु पर्दा यो अपारदर्शि छ। पोके बजेट हो,’ उनले भने, ‘योजना बजेट नछुट्याएर एकमुष्ट छुट्याएर करोडको कुरा होइन। अर्बौको बजेट एकमुष्ट राख्ने, त्यस हिसाबले पनि यो अपारदर्शि छैन। आर्थिक पारदर्शिताको हिसाबले पनि यो ठिक छैन।’

अघिल्लो सरकारले ल्याएको बजेटमा समेटिएका प्रतिफल दिने आयोजनालाई असफल पार्ने गरि बजेट आएको उनले बताए। नगद पैसा नै बाड्ने गरि आर्थिक अनुशासनभन्दा बाहिर रहेर बजेट ल्याइएको उनले बताए। 

यस्तै, सांसद प्रभा कोइरालाले सांसद विकास कोष पहिलेकै कार्यक्रमको निरन्तरता रहेको बताइन्। ‘अघिल्लो सरकारले पनि ल्याएकै थियो। यो सरकारले पनि ल्याएछ ठिकै छ। अलिकति परिमार्जन गरेर ल्याएकौ रैछ,’ उनले भनिन्, ‘पहिलो आर्थिक वर्षको बजेटमा प्रत्यक्षलाई अलि प्राथमिकतामा राखेको थियो भने अहिलेको बजेटले प्रत्यक्ष र समानुपातिकलाई पनि समान ढंगले वितरण गर्ने गरि ल्याएको रैछ। यसलाई त्यति अतिरञ्जित गर्नुपर्छ जस्तो मलाई लागेन।’

बजेटबारे अधिकांश पहिलाको कार्यक्रमसँग जोडिएको उनले बताइन्। शब्दमा परिमार्जन गरेर बजेट आएको उनले टिप्पणी गरिन्। 
 

प्रकाशित मिति: : 2021-06-16 07:12:00

प्रतिकृया दिनुहोस्