क्रसर डनको रजगज : स्थानीय सरकारलाई राजश्व लोभ, प्रत्येक वर्ष बग्छ किसानको खेत

थाहा खबर

काठमाडौं

गोरखा :  मंगलबार राति दरौँदी नदीमा आएको बाढीले सिरान्चोक गाउँपालिका-४ स्थित सेराफाँटको करिब तीन सय रोपनी खेत बगायो। गण्डकी प्रदेश सरकारले  करिब  करोडौं रुपैयाँ लगानीमा निर्माण गरिरहेको बाँध फुटेपछि त्यहाँको खेत बगाएको हो।

सोही सेराफाँटस्थित दरौँदी नदीबाट आर्थिक वर्ष २०७५/०७६ मा नदीजन्य पदार्थ उत्खनन गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ बताउँछन्। 

अध्यक्ष गुरुङ भन्छन्, ‘त्यहाँ हामीले आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लगाएर नदीजन्य पदार्थ उत्खनन गरेका थियौँ। त्यहाँ नदीजन्य पदार्थ उत्खनन गरेर हामीले केही लाख राजश्व संकलन गरेका थियौँ। तर, भविष्यमा हुन सक्ने सम्भावित जोखिम समयमै मापन गर्न नसक्दा एकै पटक करोडौँ नोक्सान भएको छ।’

गाउँपालिकाले २०७५/०७६ मा नदीजन्य पदार्थ उत्खनन गरेपछि त्यहाँ दरौँदी नदीले धार परिवर्तन गर्न थाल्यो। नदीले धार नै परिवर्तन गरेपछि बाँध निर्माणका प्रदेश सरकारले चालु वर्ष करोडौँ रकम विनियोजन गरेको थियो। तर, समयमा नै निर्माण भएन। मंगलबार राति आएको बाढीले बाँध फुटाएर त्यहाँको करिब तीन सय रोपनी जग्गासमेत बगायो।

हालसालै गाउँपालिकाले ११ लाख लागतमा निर्माण सम्पन्न गरेको कुलो पनि बगाएको अध्यक्ष गुरुङ बताउँछन्। अझै केही दिन लगातार पानी आए गाउँपालिका-४ स्थित कुमालटारीका धेरै खेत बगाउने सम्भावना रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-06-18 19:09:00

प्रतिकृया दिनुहोस्