गण्डकीमा मन्त्रालय बाँडफाँडः काँग्रेस र माओवादीलाई ४-४, जसपालाई २

Breaknlinks
Breaknlinks

गण्डकीमा मन्त्रालय बाँडफाँड टुंगिएको छ। काँग्रेस, माओवादी, जसपा, राजमो र एक स्वतन्त्र सांसदसहितको गठबन्धनमा बनेको सरकारमा कुन पार्टीको भागमा कति मन्त्रालय दिनेबारे टुंगो लागेको हो।

नयाँ सहमतिअनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय लिने छ। माओवादीले ४ र जसपाले २ मन्त्रालय पाएको छ। स्वतन्त्र सांसद दीपक मनाङे यसअघि नै मन्त्री नियुक्त भइसकेका छन्। गठबन्धनको सरकारलाई राजमोले साथ दिए पनि सरकारमा भने सामेल छैन।

जेठ २९ मा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ४ बिना विभागीय मन्त्री नियुक्त भएका थिए। बाँकी मन्त्रिपरिषदबारे नीति तथा कार्यक्रम र बजेट ल्याएपछि टुंगो लगाउने भनिएको थियो।

मन्त्रालय बाँडफाँडको टुंगो लागि सके पनि कुन मन्त्रालय कसको भागमा पर्नेबारे भने टुंगो लागेको छैन। माओवादी केन्द्रका सांसद दीपक कोइरालाका अनुसार पहिलेकै मन्त्रालय कायम हुने छ।

गण्डकीमा अहिले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ११ मन्त्रालय छन्। पृथ्वीसुब्बा गुरुङको कार्यकालमा ७ मन्त्रालयबाट फुटाएर ११ बनाएका थिए।

काँग्रेसबाट मुखमयन्त्री पोखरेल र विना विभागीय मन्त्री कुमार खड्का नियुक्त भई सकेको अवस्थामा अझै २ मन्त्री काँग्रेसबाट नियुक्त हुने छन्। माओवादीबाट लमजुङकी मधुमाया अधिकारी बिना विभागीय मन्त्री भई सकेकी छन्।

अब माओवादी केन्द्रबाट ३ मन्त्री नियुक्त हुने छन्। जनता समाजवादी पार्टी (जसपा) भने गठबन्धनको नयाँ सरकारमा भाग्यमानी बनेको छ।

जम्मा २ सांसद रहेको जसपाको भागमा भागबण्डा अनुसार २ मन्त्रालय परेको छ। यसअघि जसपाका हरिशरण आचार्य बिना विभागीय मन्त्री नियुक्त भई सकेका छन्। सरकारलाई सघाएको राजमो भने सरकारमा सामेल छैन।

सांसद कोइरालाका अनुसार कुन मन्त्रालय कसले लिनेबारे पनि छिट्टै टुंगो लाग्ने छ। 'मुख्यमन्त्रीज्यु आज काठमाडौं जानु हुन्छ होला। छिट्टै मन्त्रालय कसले लिने भन्नेबारे पनि टुंगो लाग्ने छ,' उनले भने। आइतबार साँझसम्ममा टुंग्याएर शपथ लिने कार्यक्रम हुन सक्ने उनले बताए।

प्रकाशित मिति: : 2021-06-19 11:45:00

प्रतिकृया दिनुहोस्