डोल्पामा ट्याक्टर दुर्घटना हुँदा आमाको मृत्यु, दुई बर्षीय छोरा बेपत्ता, दुई घाइते

डोल्पाको जगदुल्ला गाउँपालिका अन्तर्गत वडा नं १ मा पर्ने हुरिकोटमा ट्याक्टर दुर्घटना भएको छ।

हुरिकोटबाट बालुवा बोकेर सोही गाउँपालिकामा पर्ने माझगाउँतर्फ जाने क्रममा लु ४ त ३२२८ नं ट्याक्टर काठेपुल तर्ने क्रममा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय काइगउँले जनाएको छ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना खोलमा बेपत्ता भएका छन्। दुई जना घाइते छन्।

दुर्घटनाबाट सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ बर्षीया सेतु विकको उपचारका क्रममा काईगउँ स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

मृतक बिकको २ बर्षीय छोरो किरण विक पनि खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताए। विकको हातखुट्टामा गम्भिर चोट लागेपछि उपचारको लागि काइगउँ स्वास्थ्य चौकीमा पु-याइएको थियो।

दुर्घटनामा परेर सोही ठेगानाका बर्ष १९ का अबितिर विक र बर्ष ४५ का कुसे बिक सामान्य घाइते भएको र स्वास्थ्य चौकी उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते दुबैको अवस्था सामान्य रहेको र रुकुम पश्चिम चौहरजहारी नगरपालिका बस्ने बर्ष २६ का चालक ठगेन्द्र खत्री फरार रहेको प्रहरीको भनाई छ।

चालको खोजी कार्य हुनुका साथै घटनाका बिषयमा अनुसन्धान सुरु गरिएकोे प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-06-25 10:40:00

प्रतिकृया दिनुहोस्