कास्कीमा निषेधाज्ञा २५ गतेसम्म थप: सार्वजनिक सवारी जोर बिजोर गरेर चल्न पाउने

फाइल तस्वीर
फाइल तस्वीर

कास्कीमा जारी निषेधाज्ञाको समयावधि थपिएको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको समयावधि असार १५ गते राति १२ बजे सकिँदै छ।

थपिएको निषेधाज्ञामा केही हेरफेर गरिएको छ। निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार सार्वजनिक सवारी सञ्चालनलाई जोर बिजोर गरेर चल्न पाउने छन्।

स्वास्थ्य मापदण्ड अपनाएर क्षमताभन्दा बढी यात्रु नराखी सार्वजनिक सवारी चलाउने अनुमति दिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।

चालक सहचालक दुवैले स्वास्थ्य मापदण्ड अपनाई सहचालकले फेस शिल्ड, मास्क, पञ्जा लगाउनुपर्ने र ढोकामा सेनिटाइजरको व्यवस्था गरि सार्वजनिक सवारी चलाउन जिल्ला प्रशासन कार्यालय कास्कीले भनेको छ। यस्तै लामो दुरीको सवारीलाई भने सञ्चालन अनुमति दिइएको छैन।

नीजि सवारीको लागि पनि कायम गरिएको जोर बिजोर प्रणाली कायमै छ। नीजि गाडीले ४ जना भन्दा बढी मान्छे सवारीमा चढ्न नपाइने सूचनामा भनिएको छ।

मनोरञ्जनका क्षेत्र, विद्यालय, जिम हल बाहेक डिपार्टमेन्ट स्टोर्स, सपिङ मल फेन्सी पसल, निर्माण सामग्रीलगायतका पसल बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

अनलाइन डेलिभरीका लागि बेलुकी ७ बजेसम्मको सेवा प्रवाह गर्न पाइने अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचना अनुसार संक्रमण र मृत्युदरमा कमी आए पनि संकमण दर र प्रकोप अपेक्षाकृति रुपमा नियन्त्रणमा नआएको हुनाले केही सहज हुने गरी निषेधाज्ञाको समयावधि थप गरिएको प्रशासनले बताएको छ।

प्रकाशित मिति: : 2021-06-28 19:43:00

प्रतिकृया दिनुहोस्