प्राणवायुको रक्षा गर्ने राम 

Breaknlinks
Breaknlinks

सासको महत्व अस्पतालको शय्यामा मृत्यु कुरेर बसेको बिरामीलाई सोध्नुस्।

एकै मिनेट अक्सिजन नपाएर ज्यान गुमाउनु परेको मृतकका आफन्तलाई सोध्नुस्। मृत्युसँग जुँध्दै गरेको एउटा जिन्दगीलाई सोध्नुस्। त्यहाँ पाउनुहुनेछ तपाईंले खोजेको प्रश्नको उत्तर।

वायु सकियो त एक मुठ्ठी श्वास सकियो। प्राण सकियो। अनि, सकियो जिन्दगीसँग जोडिएका तमाम सपनाहरु। सम्बन्धहरु। उ सँग जोडिएका मनहरु।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको डिकेन्टिङ भवन। बर्खे झरीले रोकिने छाँटकाँट देखाएकै छैन। आफ्नाहरु कुरेर बसेका आँखामा प्रष्टै देखिन्छ अत्यास।

झमझम पानीमा रुझ्दै कहिले डाक्टर बोलाउन दौडिन्छन् त कहिले अक्सिजनको 'फ्लो' बढाइदिन गुहार्छन् नर्सहरुलाई।

एकै सेकेण्डमात्र ढिला भयो भने मृत्युले जित्ला भन्ने डर छ। त्यसैले त चनाखो बनेर बसेका छन् राम अधिकारी।

पोखरा १७ ढुँगेसाँघुका राम अधिकारी प्राणवायुको रक्षक हुन्। दोस्रो लहरको कोरोना महामारी सुरु भएयता पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको डिकेन्टिङ भवनको अक्सिजन कक्षको हेरचाहमा खटिएका हुन्, राम।

यहाँ आएदेखि घडीको सुइभन्दा छिटो उनको मन कुद्छ। 'सेन्ट्रल सप्लाई सिस्टम'मा तल-माथि हुनेबित्तिकै जे पनि हुन सक्छ। त्यसैले त राम चनाखो बनेर बसेका छन्।

हामी पुग्दा राम सप्लाई सिस्टममा के-के गर्दै थिए। एकैछिन हामीले अलमल्याई हाल्यौं। 'नाइट ड्युटी'मा खटिएका रामका आँखा हिजोको अनिदोले लोलाएका थिए। गह्रुँगो सिलिण्डरलाई घिसार्दैै सिस्टममा जोडेपछि बल्ल उनलाई हामीसँग गफिन समय मिल्यो।

‘यहाँबाट हामीले जोड्दिन्छौं। यहाँबाट भित्र सप्लाई हुने हो। प्रतिघण्टा ६/७ वटा सिलिण्डर सकिन्छ,’ उनले भने।

एकै छिन ढिला भयो कि सात जिन्दगी सकिन्छ भन्ने राम्रोसँग बुझेका छन्, उनले। त्यसैले त रातभर जागै बस्छन्।

‘यहाँ ८ वटा जोड्न मिल्छ। एक घण्टामा सकिहाल्छ। ढिला गर्ने त कुरै भएन, जोडिहाल्नु पर्‍यो,’ उनले थपे। 

एक महिनाअघि अक्सिजन अभावमा एकै रात आठ जनाको ज्यान गयो। आठमध्ये एक सुत्केरी महिलासमेत थिइन्। अक्सिजन ल्याउन ढिलाई भएकै कारण बिरामीको निधन भएको भन्दै चर्को आलोचनासमेत भएको थियो।

राष्ट्रिय रुपमै यो घटनाले तरंग पैदा गराएको थियो। त्यतिबेला राम ड्युटीमै खटिएका थिए। अक्सिजन कम्पनीले ढिला गर्दा सो घटना घट्न पुगेको थियो। ३० मिनेट जति अस्पतालमा हाहाकारै मच्चिएको थियो।

राम अहिले पनि सम्झिन्छन्, ‘म पनि यही थिएँ। उता इमर्जेन्सी वार्डमा थियो त्यो, अक्सिजन आउन ढिलाई हुदा बिरामीको मृत्यु भएको थियो।’

उनले थपे, ‘अहिले त त्यस्तो अभाव छैन। बिरामी पनि घट्दै छन्।’

बिरामी निको भएर घर फर्किदा रामलाई छुट्टै आनन्द मिल्छ। अक्सिजन सप्लाई हुन एकैछिन ढिलाई हुँदा बिरामी छट्पटाउदा केही नराम्रो हुने पो हो कि भन्ने डर भइरहन्छ उनलाई।

प्राण भर्न नसकिने हो कि भन्ने कुराले उनलाई चिन्तित बनाइरहन्छ। 

प्रकाशित मिति: : 2021-07-03 10:17:00

प्रतिकृया दिनुहोस्