जसले गाए–हेर न हेर कान्छा, जसले रचेँ– यहाँ फूल नखिलेछ!

हिमाल खबर

काठमाडौँ

गणेश रसिक

 

वैशाख पूर्णिमा, भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन। प्रसङ्ग आजकै दिन हो। दार्जीलिङ गिग कमान बस्तीको एउटा घर, जहाँ आफ्ना परिवारसँग बस्थे सहवीर बर्देवा र मनकुमारी दम्पती। सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए– जितेन्द्र बर्देवा। 

इलाम, वि.सं. २०२३ वैशाख बुद्ध पूर्णिमाको दिन। चौबीसबाट पच्चीस टेक्दै थिए जितेन्द्र। तरेली परेको चियाबारीको सानो थुम्को, काखमा रहेको जनभवनको खुला आँगन। पन्डाल, सामियाना रङ्गीचङ्गी ध्वजापताकाले सजिएको समारोहस्थल। सारा दर्शकहरूको आँखा केन्द्रित छ मञ्चमा। प्रमुख अतिथि छन्– वरिष्ठ कवि एवं मन्त्री केदारमान व्यथित।

समारोहमा सम्पूर्ण इलामेको तर्फबाट रू.५०१ नगद र दोसल्लासहित अभिनन्दित हुँदै थिए– नेपाली शिक्षा, साहित्य र भाषाका शिखर पुरुष महानन्द सापकोटा। र, सँगसँगै सम्मानित हुँदै थिए- दार्जीलिङे योद्धा कवि एवं गीतकार अगमसिंह गिरी। (तर, उनी आफ्नो अस्वस्थताका कारण कार्यक्रम अगाडि नै दार्जीलिङ फर्केका थिए।)

त्यही साँझ, त्यही मञ्च, त्यही माहोलबीच आफ्नो जन्मदिन मनाउँदै थिए जितेन्द्र बर्देवा। हार्मोनियमका रीडहरूमा असला माछा पानीमा बगेसरह सलल बग्ने उनका अभ्यासयुक्त औंलाहरू। मधुरो तर तिखारिएको कर्णप्रिय स्वर। एकपछि अर्को सुनिरहूँ झैं लाग्ने, कुनै चलनचल्तीका लोकभाका र शब्दहरू। कुनै भने आधुनिक कविताको झल्को दिने विम्ब भएका काव्यात्मक आधुनिक गीत-सङ्गीतहरू, जुन बिल्कुलै भिन्न स्वाद र शैलीका थिए सङ्गीत पारखीका लागि।
 

प्रकाशित मिति: : 2021-07-02 22:00:00

प्रतिकृया दिनुहोस्