अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन्।
गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ।
त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ।
पहिराले उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडकखण्डमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए।
उता पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङ जिल्लाका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ।
सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सडक खुलाउने प्रयास भइरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ। स्मरणीय छ गए राति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुई जनाको ज्यान गएको छ। रासस