अन्तरजातीय बिहे गरेर जङ्गलमा लुकेको जोडी घर फर्कन खोज्दा दुलही पक्षबाट कुटपिट, प्रहरीले समेत धम्क्यायो दुलाहालाई 

अन्तरजातीय विवाह गरैकै कारण ज्यान मार्ने धम्की आएपछि जंगलमा लुकेर बसेका कैलालीका नव बरवधुमाथि घर पुग्नेबित्तिकै दुलहीका आफन्तले कुटपिट गरेका छन्। 

कैलालीको भजनी नगरपालिकाका २० वर्षीय प्रकाश विश्वकर्मा र १९ वर्षीया मालती रावललाई शुक्रबार दिउँसो आफन्तजनले कुटपिट गरेका हुन्। 

युवतीका आफन्तले छलफल गर्ने भनी बोलाएर युवकलाई कुटपिट गरी युवतीलाई खोसेर लगेको प्रकाशकी फुपू कमला बिसीले बताएकी छन्। 

‘केटीको माइती पक्षबाट सहमति गर्ने भनेपछि उनीहरु आज घर आउँदै थिए तर घर नपुग्दै केटीतर्फका मान्छे आए। केटीलाई भ्यानमा हालेर लगे,’ कमलाले भनिन् ‘३०–३५ जनाको समूहमा आएका थिए, उनीहरुले प्रकाशलाई कुटे।’

कमलाका अनुसार, प्रकाश र मालती करिब एक वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए। परिवारको सहमतिमा बिहे गर्न भन्ने कुरा आयो। युवतीको परिवारले दलितको छोरालाई छोरी नदिने भनेपछि उनीहरुले भागी बिहे गरेका थिए। 

भागी बिहे गरेर उनीहरु भारत जान खोजे पनि युवतीका आफन्तको धम्कीका कारण २१ दिनदेखि जंगलमा बस्न बाध्य भएको युवती कमलाले बताएकी छिन्। 

‘उनीहरु भागेर भारत जान खोजेका थिए। तर, युवातीका आफन्तले प्रकाशको घरमा आएर रुकुम हत्याकाण्ड जस्तै मारिदिने चेतवानी दिएपछि पछाडि हटे।’ कमलाले भनिन्,‘प्रकाशका बुबालाई मुटु रोगको समस्या छ, अस्पतालले भल्व फेर्न भनेको थियो, त्यही कारण यो घटनाले बुबा घटना होला भनेर उनीहरु भाग्न सकेनन्।’

भागेर जंगलमा बस्दै आएका उनीहरु साथीहरुसँग गोप्य रुपमा भेटे पनि घर फर्किन सकेका थिएनन्। 

जंगलमा लुक्दै आएका उनीहरुले आफूहरुलाई सहयोग गर्न भन्दै शुक्रबार विहान ९ बजेतिर एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा हाले जसमा आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए। त्यसको केही समयपछि दिउँसो १ बजे घर फर्किदै गरेका उनीहरुलाई युवतीको माइती पक्षका मान्छेको समूहले आक्रमण गरेको थियो। 

घटनापछि प्रहरी र भजनी नगरपालिकाका जनप्रतिनिधिले मिलाउने प्रयास गरेको छ तर युवतीका आफन्तले  प्रकाशलाई मार्ने धम्की दिएका छन्। 
घाइते अवस्थामा रहेका युवकलाई अहिले सोधपुछका लागि इलाका प्रहरी कार्यालय, भजनीमा लगिएको छ। युवतीको अवस्था भने अज्ञात छ। दलितसँग भागेर बिहे गरेको भन्दै युवतीलाई समेत आफन्तले कुटपिट गरेका छन्। 

प्रहरीले अनुसन्धान गर्ने नाममा युवकलाई त्रशित बनाउन खोजेको स्थानीयले बताएका छन्। प्रहरीले पनि केटी पक्षसँग मिलेमते गरेरे युवकलाई झन् पीडा थप्ने काम गरेको स्थानीय प्रकाश ताम्राकारले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनले भने, ‘प्रकाशलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ, प्रहरीले पनि केटालाई तँ पागल भन्दै धम्क्याउनुका साथै कति पटक ‘सेक्स’ गरिस् भन्दै नकारात्मक प्रश्न गरिरहेका छन्। 


आफन्तले हत्या गर्ने धम्की दिएपछि अन्तरजातीय विवाह गरेको जोडी २१ दिनदेखि जंगलमा (भिडियोसहित)

प्रकाशित मिति: : 2021-07-09 17:31:00

प्रतिकृया दिनुहोस्