चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

Breaknlinks
Breaknlinks

काठमाडाैंस्थित ठमेलकी एक रैथाने सुन्दर युवती- जाे अनुहारकाे मात्र हाेइन, सम्पन्न परिवारकाे थिइन् पवित्रा (नाम परिवर्तन)। 

बिएसी नर्सिङ अध्ययनरत उनी पढाइमा अब्बल थिइन्। 

उनी ठमेलकाे गल्लीमा हिँडिरहदा गिद्दे नजर लगाउँदै थिए दिनेश (नाम परिवर्तन)। पवित्रा देखेपछि उनीले लामाे समयदेखि एउटा प्रेमिल षड्यन्त्र बनाए। उनी याेजना बनाउँथे, याे युवतीसँग कसरी नजिक हुने ? कसरी सम्बन्ध गाँस्ने ? 



साइबर अपराधको मारमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म

फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो



दिनेशले ठमेल क्षेत्राकाे एक म्यूजिक सामानहरूकाे पसल चलाउँदै आएका थिए। उनकाे पसलमा गितार, ड्रम सबै पाइन्थयाे।

उनले जसाेतसाे पवित्रालाई आफ्नाे प्रेम जालमा पारे। पवित्रालाई उनले विश्वास दिलाउन थाले कि साँच्चिकै प्रेम छ, जीवनभरकाे लागि। तर, उनकाे ध्येय भने अर्कै थियाे, कसरी हुन्छ पवित्राबाट पैसा लुट्ने र आफ्नाे स्वार्थ पूरा गर्ने। 

त्यसाे त उनीहरुकाे सम्बन्ध करिब चार वर्षसम्म चल्याे।

दिनेशभन्दा पवित्रा सम्पन्न परिवारकी छाेरी थिइन्। पैसावाल थिइन्। प्रेममा रहँदा पवित्राले विभिन्न बाहनामा घरबाट पैसा माग्दै दिनेशकाे अभाव र चाहनाहरु पूरा गरिदिइन्।

दिनेशले पवित्रालाई त्यसरी षड्यन्त्रकाे प्रेममा पागल बनाएका थिए कि, पवित्राले आफूभन्दा ज्यादा दिनेशलाई माया गर्न थालेकी थिइन्। 

उनीहरुकाे सम्बन्ध राम्रै चलिरहेकाे थियाे। दिनेशको पसल भए पनि बाह्य खर्चकाे पैसा पवित्राले नै जाेहाे गर्थिन्।

बिएसी नर्सिङ अध्ययनरत पवित्राकाे घरमा डाक्टरदेखि पाईलटसम्म बिहेका लागी माग्न आए। तर, पवित्रा भने दिनेशकाे मायामा पागल बनिसकेकी थिइन्।  जस्ताेसुकै सम्पन्न परिवारबाट बिहेकाे  प्रस्ताव आउँदा पनि वास्ता गरिनन्। 

उनलाई परिवारले पनि उत्तिकै पुलपुल्याएर राखेका थिए। त्यसैले पनि उनको चाहाना पूरा गर्न परिवारले केही बाँकी राखेन।

पवित्रा यतिसम्म क्रेजी बनिसकेकी थिइन्। आफ्नो कलेजमा तिर्ने भनेर घरबाट लिएको रकम दिनेशलाई दिइन्। उनी बारम्बार पैसा हरायो भनेर नाटक रच्थिन् घरमा। 

अझै त्यतिमात्र कहाँ हाे र, पवित्राले दिनेशलाई मनपर्ने खानेकुरा घरबाटै बनाएर पसल पुर्याउथिइन्।

हुँदा-हुँदा कलेज नै ‘बंक’ गरेर पवित्राले दिनेशलाई भेट्थिन्। घुम्थिन्। दिनेशसँग घर बसाउने कुरामा ढुक्क थिइन्। तर दिनेशकाे मन र मष्तिस्कमा भने अर्कै चाहा थियाे।



एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित

दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 



दिनेशकाे चाहना भनेकाे जति सकिन्छ पवित्राबाट पैसा लुट्ने थियाे।

जब विस्तारै पवित्राले आफूलाई छाड्न नसक्ने महशुस गर्न थालिन्, तब दिनेशले आफ्नाे बाटाे लिन थाले। उनले पवित्राबाट आफ्नाे स्वार्थ पूरा गरेपछि उनी विस्तारै सम्बन्धबाट तर्किए।

दिनेशले यति सम्म गरे कि दुबईमा रहेका एक भारतीय नागरिकलाई पवित्रा सुम्पिए।

भारतीय नागरिक दिनेशसँग लामाे समयदेखि फेसबुकका साथी थिए। ती भारतीय नागरिकलाई दिनेशले पवित्राको फोटो पठाउथे। 

पवित्राकाे फाेटाे देखेपछि भारतीय नागरिक भुतुक्क भए, सुन्दरता देखेर। नहाेउन् पनि कसरी? उनी आफैमा सुन्दर थिइन्।

ती नागरिकले दिनेशलाई 'याे केटी मिलाइदेउ न' समेत भने।



मलेसिया बसेर नेपालका युवतीलाई उनीहरूकै नाङ्गो फोटो पठाउने खजुमको साइबर आतङ्क 

अन्ततः ती भारतीयले पवित्रालाई फेबुकमा 'रिक्वेस्ट' पठाए। पवित्रालाई यसबारे केही थाहा थिएन। उनले 'रिक्वेस्ट' एसेप्ट गरिन्।

सुरुमा ती भारतीयले पवित्रासँग सम्बन्ध गाँस्न खाेजे। तर, पवित्रालाई वास्तै थिएन। किनकि उनी दिनेशसँग क्रेजी बनिसकेकाे थिइन्। 

विस्तारै पवित्रासँग दिनेश टाढा हुँदै जान थाले। याे कुराले पवित्रलाई चिन्तासमेत हुन थालेकाे थियाे।

एकातिर दिनेश टाढा हुँदै थिए, भने अर्काेतिर ती भारतीयले पवित्रालाई मनपर्ने कुरा, उनको बानी सबै जानकार झै‌ बनेर भन्न थाले। 

त्यसाे त, पर्दा पछाडि पवित्राको आनि-बानी अनुसार व्यवहार गर्न भारतीयलाई दिनेशले नै ‘गाइड’ गरेका थिए। 

भारतीय नागरिकले पवित्रालाई युरोपमा आफ्नो होटल भएको बताएका थिए। त्यतिमात्र हैन, भारतमा धेरै सम्पति भएको र हाल दुबईमा ब्यापार गर्दै बसेको भन्दै धाक लगाउथे। तर, खासमा उनी दुबईमा मजदुरी गर्दै बसेका थिए।

बिस्तारै ती भारतीयले पवित्राको मन जित्न थाले।

यता दिनेशले वास्ता गर्न छाडेपछि पवित्राले विस्तारै भारतीय नागरिकसँग नजिक भइन्। उनलाई लाग्न थालेकाे थियाे कि, ती भारतीयसँग आफ्नाे सबै कुरा मिल्छ। तर, खासमा त्याे केवल षड्यन्त्र थियाे। 

पवित्रा मिलादिएकाे भन्दै दिनेशले ती भारतीयसँग माेटाे रकम लिए।

विस्तारै पवित्रा र भारतीय नागरिकबीच करिब डेढ वर्षसम्म 'अफेयर' चल्यो। त्यो बीचमा दर्जनौं पटक ती भारतीय नागरिक नेपाल आए। नेपाल आउँदाको खर्च पवित्राले नै ब्याहाेर्ने गरेकी थिइन्।

दुबईबाट आएका प्रेमीलाई पवित्राले राम्रै होटलमा राख्ने गरेकी थिइन्। बेलायतको ‘इङल्याण्ड’मा होटल रहेको बताउने भारतीय नागरिकले पवित्रालाई बिहे गरेर उतै ‘सिफ्ट’ गराउने सपना बाँडेका थिए।

पवित्रापनि उनको आश्वासनमा भुलेकी थिइन्। बिएससी गरेकी पवित्राले नेपाल बस्नु छैन, किन जागिर खानु? भनेर ढुक्कले बसिन्।

भारतीय नागरिकसँग पवित्राको गहिरो प्रेम बसिसकेको थियो। यता पवित्राको घरमा दिनहुँ बिहेको कुरा चल्न थालेपछि उनले आफ्नो प्रेमीलाई बिवाह गर्न प्रस्ताव गरिन्। उनको प्रस्ताव सुनेर ती भारतीय एकाएक गायब बने।

चार वर्षभन्दा बढी समय बिताएका प्रेमी दिनेशले छाडेपनि उनी ती भारतीयसँग आफ्नाे भविष्य देख्न थालेकी थिइन्। तर, ती भारतीय पनि पवित्राकाे पैसा लुटेर गायब भए। 

त्यसपश्चात पवित्रा विरक्तिइन्। उनलाई सम्हालिन गाह्राे भयो। त्यो कुरा उनका परिवारलाई पनि थाहा भयो। परिवारका सदस्यले उनलाई नेपाल प्रहरीको साईबर ब्यूरोमा पुर्याए।

साईबर ब्यूराेका अधिकारीले पवित्रालाई ‘काउन्सीलिङ’ गरे। त्यसपछि पवित्रा सम्हालिदै घर फर्किन्।

ब्युरोका अधिकारीहरूकाे पहिलो प्रथामिकता विरक्तिएकी पवित्रालाई ‘काउन्सीलिङ’ गर्नु थियो, त्यो गर्यो। त्यसपछि पवित्रालाई फसाउने पुराना प्रेमी दिनेशविरुद्ध उजुरी गर्न भने। उनको उजुरीबिना प्रहरी अघि बढ्ने कुरा भएन। तर पवित्रा भने ब्युरोको सम्पर्कबाट बाहिर गइन्।

ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले भने, ‘पवित्राले उजुरी दिएको भए हामी अनुसन्धान अघि बढाउने थियौं, तर उनले उजुरी दिइनन्। उनले उजुरी नदिएपछि हामीले केही गर्न मिलेन। उनी आउँदा हतासमा थिइन्। हाम्रा अधिकारीले काउन्सीलिङ गरेपछि उनी फ्रेस त भइन्, तर हाम्रो सम्पर्कमा आइनन्।'

नोटः पवित्रा नाम परिर्वतन र प्रहरीमा उजुरी नपरेका कारण हामीले तीनै जनाको नाम गोप्य राखेका छौं।

प्रकाशित मिति: : 2021-07-11 20:07:00

प्रतिकृया दिनुहोस्