लकडाउन र निषेधाज्ञाको ‘साइड इफेक्ट’ : मारमा क्यान्सर, मिर्गौला र मुटु रोगी

अनलाइनखबर

सागर बुढाथोकी

काठमाडौंका ५५ वर्षीय एक पुरुषलाई कलेजो दिन उनकी २५ वर्षकी छोरी तयार भइन्। बाबु–छोरीको सबै परीक्षणमा सकारात्मक रिपोर्ट आयो। प्रत्यारोपणका लागि उनीहरू २०७८ वैशाख दोस्रो साता त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना पनि भए।

प्रत्यारोपणमा सघाउन भारतको फोर्टिस अस्पतालका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोलीले काठमाडौंका लागि टिकट बुक गरिसकेको थियो। त्यही बेला सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगायो।

‘वैशाख १६ देखि निषेधाज्ञा जारी भएपछि डेढ महीना लामो तयारी बालुवामा पानी सरह भयो’, त्रिवि शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले भने। तीन महीना बितिसक्दा पनि ती पुरुषको कलेजो प्रत्यारोपण कहिले हुने टुङ्गो लागेको छैन।

नवलपरासीकी ३८ वर्षीया महिला मिर्गौला प्रत्यारोपण गर्न काठमाडौं आएकी थिइन्। मिर्गौला दिन उनकी आमा तयार थिइन्। लामो तयारी र स्वास्थ्य जाँचपछि ललितपुरको किस्ट अस्पतालमा वैशाख दोस्रो साता उनको प्रत्यारोपण हुने निश्चित भयो।

प्रत्यारोपणअघि कोरोना संक्रमण छ/छैन भनेर जाँच गरियो। नभन्दै ती महिलामा संक्रमण देखियो। त्यही संक्रमणकै कारण उनले वैशाख १२ गते ज्यान गुमाइन्। मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक तथा युरोलोजिस्ट डा. नारायण भुसाल प्रत्यारोपण गर्नुअघि डायलासिस गर्ने क्रममा उनलाई संक्रमण भएको बताउँछन्।

प्रकाशित मिति: : 2021-07-18 09:17:00

प्रतिकृया दिनुहोस्