प्रसूती गृह नयाँ भवनमा सरेपछि सुत्केरीलाई राहत 

पर्वत फलेबासकी शर्मिला क्षेत्री आइतबार अपरान्ह पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रसूती गृह परिसरमा भेटिइन्। भाउजू उमा खड्काको डेलिभरीका लागि उनी यहाँ थिइन्। यसअघि उनकी दिदीको डेलिभरीका लागि पनि आएकी रहिछन्। 

तर, यसपालि भाउजूको डेलिभरीका लागि आउदा उनलाई नौलो लाग्यो। कारण, अस्पतालले सञ्चालनमा ल्याएको नयाँ प्रसूती भवनमा भाउजूको डेलिभरी हुँदै थियो। ‘एकदमै राम्रो लाग्यो। पहिला दिदीको बच्चा हुँदा पनि आएकी थिएँ। उता पूरानो बिल्डिङमा थियो त्यतिबेला,’ खुसी हुँदै उनले भनिन्, ‘अहिले त नयाँ बिल्डिङमा प्राइभेट हस्पिटलमा जस्तै गरि उपचार गराउन पाइने भयौं।’ 

स्याङ्जा बाडखोलाकी सिनाज दानी पनि उस्तै दंग थिइन्। नयाँ भवनबाट अस्पतालले सेवा थालेपछि खुसी लागेको उनले बताइन्। ‘पहिला चेकअप गराउन आउँदा बस्ने ठाउँ पनि थिएन। भारी ज्यान लिएर घण्टौं उभिनु परेको थियो,’ उनले भनिन्, ‘अहिले एकदमै राम्रो लाग्यो। प्राइभेट अस्पताल जस्तै भएछ।’

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा कोरोनाको पहिलो लहर सुरु भएदेखि नै कोभिड–१९ डेडिकेटेड अस्पताल पनि घोषणा गरिएको थियो। कोभिडका बिरामीलाई पनि यसै अस्पतालबाट उपचार थालेपछि बिरामीहरु नीजि अस्पताल जान थालेका थिए। पहिलो लहरमा केही साता बन्द भएको प्रसूती सेवा दोस्रो लहर सुरु भएपछि पनि केही साता रोकिएको थियो। 

कोभिडको बिरामीको दर बढेपछि अन्य बिरामी राख्ने ठाउँ नभएको बताउदै अस्पतालले अरु रोगको उपचार नहुने सूचना निकालेको थियो। कोभिड संक्रमित बिरामीसँग सम्पर्क हुने डरले सुत्केरी महिला त्रसित हुने अवस्था नयाँ भवन सञ्चालनमा आएसँग टरेको छ। अस्पतालको प्रसूती वार्ड सञ्चालनमा आएपछि बिरामीहरु दंग छन्। साँघुरो भवनमा कोचिदै लाइनमा बस्नुपर्ने बाध्यता हटेपछि बिरामीहरु खुसी छन्। 

यसअघि प्रसूती वार्डको रुपमा प्रयोग हुँदै आएको उक्त भवनको रेट्रोफिटिङको काम थालिएको छ। भवन पूरानो भएकाले रेट्रोफिटिङ गर्न थालिएको अस्पतालका निर्देशक डाक्टर भरतबहादुर खत्रीले जानकारी दिए। ‘पूरानो प्रसूती भवनमा अहिले रेट्रोफिटिङको काम गर्दै छौं। पूरानो पनि भयो, कोठाहरु अँध्यारो भयो, अलि कमजोर पनि भयो,’ उनले भने, ‘त्यहाँको सबै स्ट्रक्चर नै चेञ्ज गरेर भूकम्प प्रतिरोधी बनाउन लागेका छौं।’

यसअघि नै अस्पताल रेट्रोफिटिङ गर्ने भनिए पनि ठाउँ अभावले गर्न नसकिएको उनले बताए। मातृ तथा शिशु उपचार कक्षमा कोभिडका बिरामी राख्नुपर्ने भएकाले पहिलेको प्रसूती गृह भएको भवनबाट रेट्रोफिटिङ थाल्ने उनले बताए। पूरानो बिल्डिङलाई क्रमश रेट्रोफिटिङ गरिने छ। 

अस्पतालमा दैनिक २० को हाराहारिमा डेलिभरीका लागि आउने गरे पनि अहिले ५ देखि ६ जनाको डेलिभरी गर्ने गरिएको निर्देशक खत्रीले जानकारी दिए। दैनिक ९ देखि १० जना सुत्केरी महिलाको नियमित स्वास्थ्य जाँच गरिने उनले सुनाए। ‘अहिले लकडाउनको कारण पनि होला। मान्छे केही घटे। तर, सिएस कहिले रोकिएन,’ उनले भने, ‘सबै सेवा सुरु थियो। तर, संख्या घट्यो।’

अहिले प्रसूती वार्ड, एनसियु, मेडिकल वार्ड नयाँ भवनमा सरि सकेको छ। अपरेशन थिएटर सर्न बाँकी छ। १५० शय्या क्षमताको प्रसूती वार्डको यो नयाँ भवन ०७३ भदौमा गगन थापा स्वास्थ्य मन्त्री हुँदा शिलान्यास गरेका थिए। 

३३ करोड ८७ लाख ९८ हजार लागत अनुमान गरिएको यो भवन ३ वर्ष भित्रमा निर्माण सकेर सेवा सुरु गर्ने बताइएको थियो। लागत अनुमान ३३ करोड रहे पनि २८ करोडमा निर्माण सम्पन्न भएको निर्देशक खत्रीले बताए।

प्रकाशित मिति: : 2021-07-19 05:35:00

प्रतिकृया दिनुहोस्