थाइल्याण्डमा माछापालन पढेर प्रतीकले गाउँमा सुरु गरे व्यवसाय

प्रतीक खड्गी (३०) दिनभर माछासँगै रमाउछन्।

थाइल्याण्डमा  माछा पालन सम्बन्धि अध्ययन गरेर नेपाल फर्किएका खड्गीको उर्लाबारी बजारबाट सात किलोमिटर उत्तरमा पुख्र्यौली घर र जमिन छ। त्यही धान खेतलाई मासेर प्रतीकले अहिले पुमोरी एग्रो फर्म सञ्चालन गरिरहेका छन्। आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोजेका छन्।

२०७६ सालमा सुरु गरेको ब्यवसायमा एक करोड २५ लाख रुपैंयाँ लगानी भइसकेको छ। तर,ब्यावसायबाट अझै कमाई सुरु भएको छैन्। मत्स्यपालनसँगै बङ्गुर, हाँस, कुखुरा, टर्की,तित्रा र कडकनाथको पालन गरिरहेका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहेका छन्।

०७६ साउनमा सुरु भएको व्यवसाय झण्डै आठ महिना संरचना निर्माणमा नै बित्यो। तीन बिघा पाँच कट्ठा जमिनलाई जस्तापाताले घेरेर प्रतीकले त्यसै भित्र एक बिघा क्षेत्रफलमा ३ वटा माछापोखरी निर्माण गरेका छन्। त्यस्तै वायोफ्लक प्रविधिबाट माछापालन गर्न तीन वटा पोखरी निर्माण गरिएको छ।

माछाका भुरा उत्पादन गर्न अलग्गै पोखरी निर्माण गरेका छन्। सबै काम प्रारम्भिक चरणमा छन्। दुई वर्षको बन्दाबन्दीले गर्दा ८ महिना कुनै काम गर्न सकिएन। प्रतिकले भने, 'माछामा मात्रै केन्द्रित हुँदा ब्यावासाय सङ्कटमा पर्छ भन्ने डर लाग्यो, त्यसैले बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथ समेत पाल्न थालेको हुँ।' उनका अनुसार फर्ममा अहिले ३० माउ बङ्गुर र ६० वटा बुच्चा–बुच्ची छन्। १५ वटा बाख्रा, खसी, २ माउ गाई, ३ वटा टर्की,२५ वटा कडकनाथ, ४० वटा स्थानीय जातका कुखुरा र ४० वटा हाँस छन्।

फर्मलाई अझ बिस्तार गर्ने योजना रहेकोले हाल मासु प्रयोजनका लागि उनले केही पनि बिक्री गरेका छैनन्। अबको एक वर्षमा पंक्षी र बङ्गुरको सङ्ख्या दोब्बर बनाउने योजना छ। थोरै परिणाममा काम गर्दा लगानी नउठ्ने भएकोले फर्म विस्तार गर्न लागेको उनले बताए।

शहरमा वातानुकूलित घर छ। शहरको प्रतिष्ठित ब्यापारी घरानामा जन्मिए पनि प्रतीक गाउँमै रमाउछन्। माछाका विषयमा नयाँ नयाँ खोज गर्छन्। खड्गीले फर्म वरिपरि ठाउँ ठाउँमा क्यामरा जडान गरेका छन्।

कुनै कारणले फर्म छोडेर बाहिर जानुपर्दा पनि उनी मोवाइलबाटै फर्मको प्रत्यक्ष निगरानी गर्न सक्छन्। प्रतीकले भने – सवा करोड पुँजी लगानी भएको व्यवसायलाई सामान्य काम गर्ने मजदुरको भरमा छोड्न मिल्दैन। पाँच जनाले रोजगार पाइरहेको फर्मले आगामी एक वर्षभित्र १५ जनालाई रोजगार दिने लक्ष्य राखेको छ।

'कुनै दैवी विपत्ति लागेन भने आगामी माघ फागुनदेखि मासिक तीन लाख रुपैंया कमाइ गर्ने लक्ष्य हो,' उनले भने।

प्रकाशित मिति: : 2021-07-19 05:37:00

प्रतिकृया दिनुहोस्