सिरानीमा मानव-खप्पर राखेर निदाउँने डाक्टर

Breaknlinks
Breaknlinks

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो– डोटी दिपायल। सरकारी कार्यालयले भरिभराउ देखिने दिपायलस्थित राजपुरको डाँडो अचेल सुस्ताएको छ। केही चहलपहल छ त त्यही राजपुरस्थित सुजङ अस्पतालमा।

प्रायःजसो अस्पतालको प्राङ्गणमा भइरहन्छ अबिर जात्रा। त्यसरी आपसमा अबिर लगाएर खुशियाली छाउनुको राज हो– पुत्रलाभ।

एकातिर नारा घन्किन्छ– छोराछोरी बराबरी। पढालेखाहरूले भनिरहेका हुन्छन्, ‘छोराछोरीमा भेदभाव गर्नु हुँदैन।’ तर, तिनै पढालेखा भनिएकाहरू नै निजी अस्पतालको दैलोमा सुटुक्क पुगिसकेका हुन्छन्– श्रीमतीको गर्भभित्र हुर्किरहेको सन्तानको लिङ्ग थाहा पाउन।

आडम्बरले भरिभराउ छ– हाम्रो समाज। डा. पङ्कजप्रताप भन्छन्, ‘हाम्रो शिक्षा केवल सर्टिफिकेटमुखी भयो। व्यावहारिक देखिएन। सोचमा परिवर्तन आउन सकेको छैन। सामाजिक व्यवहार सिक्न सकेका छैनौं।’

सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरका अनुसार कैयौँ गर्भवती आमाका मनमा गह्रुङ्गो भारी बनेर बसेको हुन्छ एउटा प्रश्न– ‘कतै छोरी पो जन्मिन्छे कि ?’

व्यथा लागेर अस्पतालको दैलोमा पुगेकी आमाको पेटमा छोराछोरी जे भए–नि सकुशल धर्तीमा अवतरण गराइरहेका छन्– डा. पङ्कज प्रताप। निकै कुशल छ उनको हात। एक्लैले दैनिक सरदर ४०–५इ जना बिमारी जाँच्नेदेखि उस्तैपरे दिनमा चार वटासम्म अपरेसन गर्न सक्षम छन् उनी।

बेलाबखत आफ्नै सुरमा तलमाथि गरिरहेका देखिन्छन्। केके सम्झेजस्तो के के बिर्सेजस्तो निकै नै सोचमग्न जस्ता देखिने उनी बिताइरहेका छन् एक फकिरको जिन्दगी। सुदूरपश्चिममा एउटा उखान छ –‘उठ जोगी फटक चाला, जहाँ पायो त्यही खाला।’

रवीन्द्रनाथ टैगोर (बंगाली कवि) को भनाइ सम्झना आउँछ – ‘कोइ तुँआर डाँक शूँणे न आशे, तो अकेले चलो रे !’

तिमीलाई असली मार्ग थाहा छ हूलका हूल मानिसहरू गलत बाटो हिँडिरहेका देखेर तिमीले चिच्याउँदै भन्यौँ– गन्तव्यमा पुग्ने बाटो त्यो हैन यताबाट आऊ। तर तिम्रो कुरा कसैले मानेनन् भने तिमी आफू एक्लै हिँड।

उनी पनि एक्ला यात्री बनेका छन्। घरपरिवार भएर पनि कोही नभए जस्ता। घरजग्गा भएर पनि सुकुम्बासी जस्ता। डा. पङ्कजको जिन्दगीको कथा विचित्रको छ। परिवारिक समस्यासँग जुझिरहेकै छन् उनी। निकै कुशल हात भएका एक डाक्टर जो झट्ट हेर्दा कठोर होलान जस्ता देखिन्छन्। काँक्रो चिरेझैं चिरिरहेका हुन्छन्– कैयौँ आमाहरूका पेट। त्यसरी पेट चिरेर सिलाउँदा त म कसैलाई बचाउँदै छु भन्ने सोचेर दङ्ग परिरहेका हुन्छन्। बिमारीको छेउमा मुस्कानपूर्ण चेहरा देखाउँछन् र भन्छन् –‘केही नमान्नू है ! एकछिनमा सबै ठीक हुन्छ।’

वरिष्ठ स्त्रीरोग विशेषज्ञ। सिनियर कन्सल्टेन्ट एक सर्जन– जो कयौं शिशुलाई धर्तीमा अवतरण गराउन सहयोग पुर्‍याउछन्। शिशु निकालिसकेपछि होशियारीपूर्वक सिलाउछन् आमाको पेट। जो उनको दैनिक कार्य नै बनिसकेको छ। तर, मिल्दैन आफ्नै मन सिलाउने सियो।

बेलाबखत फाटिरहन्छ मन। दुखिरहन्छ उसैगरी। भेटिदैनन् मनका एनेस्थेसियन पनि। भित्र के के भरिएजस्तो त्यो मनले रुवाइरहन्छ उनलाई। बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म कन्सल्टेन्टको रुपमा कार्यरत उनी सुनाउँछन् – ‘पछिल्लो समय निद्रै लाग्दैन। कहिलेकाही दुःख लाग्छ। के–के हुन्छ आफैँलाई थाहा छैन।’

एकातिर घरपरिवार अर्कोतिर आफू। सानो छोरो जनकपुरमा आमासँगै छ। जो आइदिन्छ बेलाबखत सम्झनामा। अनि मोबाइलको ग्यालरी पल्टाउछन् र हेर्छन् छोराको तस्बिर। निकै कोमल र संवेदनशील छ मन।

त्यही मनले  बेलाबखत सम्झाइरहन्छ जीवनसाथी डा. शब्बु शाहले त्यति टाढा नजानुहोस् भनेको कुरा। उनको कथा सुन्दा सम्झनामा आइदिन्छन् भावेश भुमरीका गीतका पंक्तिहरू–

प्रियसीलाई घर छोडी रापतीको भेल तर्दा 
आधा छाती पहिरो गयो हातको औंठी छालमा खस्दा

उनको छातीभित्र पनि जब भइदिन्छ पहिरो गएझैँ। तब चल्मलाउँछन्– परेलीभित्र आँसुका थोपा। डा. सब्बु रेडियोलोजिस्ट हुन्। उनी जनकपुरमै कार्यरत छन्।

एमबीबीएसको इन्टर्नशिप गर्नेताका कान्ति बाल अस्पतालमा उनका आँखा जुधेका थिए– डा. शब्बुसँग। त्यतिखेरैदेखि प्रेम बस्यो– दुई जना बीचमा। त्यही प्रेम आजभन्दा १० वर्ष अघि विवाहमा परिणत हुन गयो।

भोलासिंह लायन्स मिथिला स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले २०५० सालमा जनकपुरबाट प्रथम श्रेणीमै उत्तीर्ण गरे– आईएस्सी पनि। पढाइका क्रममा कहिल्यै दोस्रो बनेनन्।

ती दिन सम्झिन्छन् उनी, ‘फुसले छाएको घर थियो। बिदा हुँदा विद्यालयवरिपरि भैंसी चराउन जान्थेँ। घाँस काट्थेँ। घरको आर्थिक अवस्था त्यति राम्रो थिएन। जुनसुकै विषयमा होस्, उच्च शिक्षा हासिल गरिदिए हुन्थ्यो भन्ने मात्र थियो– आमा बुवाकोे इच्छा।’ बीएस्सीमा भर्ना भइसकेका उनले धेरै आश नगरे पनि चिकित्सा शास्त्र पढ्न छात्रवृत्तिका लागि आवेदन भने दिइरहे। नभन्दै चीनमा चिकित्साशास्त्र अध्ययनार्थ छात्रवृत्ति पनि पाए।

विद्यालयमा पढ्दाताका रगत देख्दा समेत बेहोश हुने उनी चीनमा पढ्दा सिरानीनजिक मानव खप्पर लिएर सुत्ने गर्थे। बिगत सम्झिदै भन्छन् उनी– ‘गाउँमा साइकल चलाउँदासमेत बेहोश भएको थिएँ। रगत देखेर त कैयौं पटक ढलेँ। एमबीबीएस पढ्दा मानव खप्पर शिरानीनजिकै हुन्थ्यो। पढ्दापढ्दै निदाउँथेँ। खप्पर र कङ्काल हेर्दा चाँडो घुस्थ्याे– दिमागमा।’

नेपाल फर्केर वीर, कान्ति, प्रसुति गृह लगायत विभिन्न अस्पतालहरुमा सर्जनका रुपमा काम गरिसकेका उनले ‘डिस्टान्स लर्निङ’ अन्तर्गत जन–स्वास्थ्य विषयमा स्नातकोत्तर गरे। काम गर्दैजाने सिलसिलामा सन २०१२ मा पुनः चीनमा एमडी पढ्न छात्रवृत्ति पाए।

एमडीको पढाइ सकेपछि काठमाडौंमा पुनः तल्लिन रहे आफ्नो पेशामा। केही महिना बीपी मेमोरियल कलेजमा समेत काम गरेर २०१७ मा उनी फर्के आफ्नै जन्मभूमि जनकपुरतिर। र, जानकी मेडिकल कलेजमा असिस्टेण्ट प्रोफेसर बने।

पछिल्लो समय डा. नवीन पोखरेलको सम्पर्कबाट डोटी पुगेका उनले आफ्नो दुई नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशलाई उस्तउस्तै देखे। जहाँ अन्धविश्वास उस्तै छ।

मनमा ‘इगो’  र झगडालु प्रवृत्ति उस्तै छ। अनि छ– पूजापाठमा बढी जोड। ज्योतिषको सल्लाह लिएर आइदिन्छन्– कहिलेकाहीँ यस्ता पनि बिमारी जो यति बजेर यति मिनेटमा अपरेसन गरेर बच्चा निकालिदिनोस् भनेर झगडा गर्न थाल्छन्।

उनका अनुसार, अस्पतालमा जनशक्तिको कमि छ। त्यति सजिलो छैन काम गर्न। उनले दुई–तीन वटा शल्यक्रिया नगरेको प्रायः दिनै छैन। अहिलेसम्म कसैको घाउको टाँकासम्म फुस्केको पनि गुनासो आएको छैन।

यसै प्रसङ्गमा उनले सुनाए, ‘कुनै पनि डाक्टरले बिमारीलाई नराम्रो सोचेर उपचार गर्दैन। जतिसुकै नराम्रो डाक्टर किन नहोस्, उसको एउटै उद्देश्य एउटै कामना हुन्छ बिरामीलाई निको पार्न सकियोस्। कहिलेकाहीँ दशा लाग्दा हिँड्दा–हिँड्दै पनि जान्छ मान्छे। अप्रेसन सफल भइसकेपछि पनि भइदिन्छ मृत्यु। सबै उपरवालाको लीला हो।’

सुरुमा कोरियनले सञ्चालनमा ल्याएका थिए सु जङ्ग अस्पताल। उनीहरूले आफू चलाउदाको सेवा सुविधा छुट्टै थियो। आज भन्दा ३० वर्ष अगाडी धनगढी डोटी सडक निर्माणको ठेक्का पाएर कार्यरत थियो कोरियाको शम्भु कन्सट्रक्सन। जसको मुख्य कार्यालय थियो– बानेडुग्रीसैनमा। शाखा कार्यालय थियो दिपायल राजपुरमा।

बानेडुग्रीसैनमा आफ्ना कामदारका निम्ति सानो क्लिनिक सञ्चालन गरेका थिए तिनै कोरियनले। डोटीका तत्कालीन सांसद थिए भक्तबहादुर बलायरको आग्रहमा कोरियनले अस्पताल सञ्चालन गर्ने भए। तर, बानेडुग्रीसैनमा उपलब्ध हुन सकेन जमिन। अस्पताल निर्माणको कुरा आएपछि नगरविकासले राजपुरस्थित सरकारी जमिन उपलब्ध गरायो।

कोरियन डाक्टर मिस्टर नेमले काठमाडौंस्थित कोरियन संस्था होसिना काउन्सिलमा खवर पठाए। होसिना काउन्सिलबाट खवर आयो व्यक्तिको नाममा सञ्चालन गर्न मिल्दैन कुनै संस्था भए त्यसमार्फत सञ्चालन गर्न सकिन्छ।

त्यसपछि भक्तबहादुर बलायरको अध्यक्षतामा ‘ग्रामीण विकास सेवा केन्द्र’ नामक संस्था खोली त्यसैको मातहतमा २०४९ सालमा नौ बेडको अस्पताल सुरु भएको हो।

२०६७ सालमा कोरियनबाट समुदायमा हस्तान्तरण भएको अस्पताल बिस्तारै सुस्ताउन थाल्यो। त्यसै अस्पताललाई देखाएर केही लगानीकर्ताहरूले सु जङ्ग हेल्थ एण्ड टेक्निकल एकेडेमी खोले। जहाँ स्टाफ नर्सको पढाइ भैरहेको छ।

डोटी जिल्लावासीमध्ये थुप्रै छन् डाक्टरहरू। सबै सहरतिरै पलायन भए। पाएको छैन जिल्लाले सेवा गर्ने हातहरू। 

डा. पङ्कजभन्दा अगाडि पनि त्यहाँ सेवा गर्न डाक्टर नपुगेका हैनन् तर छोटो समयमै हिँडे। उनी आएको वर्ष दिन हुन थाल्यो। यतिखेर उनी कहलिएका छन् राम्रो चिकित्सकका रुपमा।

पाठेघरसम्बन्धी समस्या भएका महिलाहरू कैलाली, डडेल्धुरा लगायतका जिल्लाबाट पनि धाइरहेका छन् सु जङ्ग अस्पतालमा। जहाँ एक दक्ष चिकित्सकको ज्ञान र सिपालु हातको प्रसंसा भैरहेको छ।

उनकाअनुसार महिलाको पाठेघरमा मासु पलाउने क्रम महिनावारी सुरु भएदेखि महिनावारी सुक्ने समयसम्मै देखिन्छ। यसले पिसाव नलीलाई थिचेको हुन्छ। यसो हुँदा महिलामा पिसाव सम्बन्धी समस्यासमेत देखा पर्दछ।

यस्तो अवस्थामा पाठेघरले थिचेको युरेटरलाई खोज्दै छुट्याउनु पर्ने हुन्छ। बेहोस गर्ने सुइ लगाइसकेपछि साढे एक घण्टामै भ्याइसक्नु पर्ने हुन्छ अप्रेसनको सम्पूर्ण कार्य। जुन कार्य उनी एक्लैले गरिरहेका छन्।

जीवनको ४७औं वसन्तमा प्रवेश गरिरहेका ती तिनै चिकित्सक हुन् जो थोरै समय बच्दा घरि ओशो प्रवचन सुन्छन्। घरि युटुवबाट भावुक बनाउने गीतहरू सुन्छन्। घरि नाबालक छोरोको तस्बिर हेर्छन र भिजाउछन् आँखाका परेली। भन्न त उनी पनि अरुले झैं भनिदिन्छन्– जिन्दगी हाँसिखुसी बिताउनुपर्छ भनेर। तर, सधैँभरी भनेजस्तो हाँसो र खुसी पनि कहाँ पाइन्छन र मात्र चित्त बुझाउनु न हो जिन्दगी !

कैयौँले तर्क गरे प्रश्न तेस्र्याए जिन्दगी के हो भनेर। कहाँ भेटिन्थ्यो जिन्दगीको एउटै खाले परिभाषा। सबैका आआफ्नै खाले परिभाषा छन्। आआफ्नै खाले गोरेटा छन्। जिन्दगीका तिनै गोरेटामा यात्ररत भैदिन्छ मान्छे। जीवनको गोरेटोमा लम्किदै गर्दा सुदूरपश्चिमको डोटी दिपायल पुगेका उनै डा. पङ्कज प्रताप देवको जिन्दगी हेरिरहूँ लाग्छ। एकातिर ईष्र्या गर्न लायक जिन्दगी छ उनको।

अर्कोतिर कुनै स्रष्टाले उनको बारेमा अध्ययन गरेर आख्यान तयार पारिदिए हुन्थ्यो जस्तो। बाहिर देख्दा कतै उदाश जस्तो, कतै कठोर जस्तो देखिने उनी नौनीजस्तो कोमल मन लिएर सेवा भावले ओेतप्रोत छन्।

कहिलेकाहीँ रिसाउँछन् बिरामीसँग बिरामीका आफन्तसँग अनि त्यहाँ कार्यरत स्टापहरूसँग पनि। उनी सुनाउँछन्–‘त्यो रिस धेरैबेरसम्म रहँदैन। क्षणभरमै सिद्धिन्छ। तर, कोठामा गएर निकै नै पछुताउछु। लाग्छ मलाई के भइराछ। किन रिस उठ्न थाल्छ। मैले किन त्यसो गरेँ। मनमा खेल्ने यस्तै तरङ्गहरूले दुखी तुल्याइ दिन्छन् रातभर नै।’

उनी जीन्दगीको पछिल्लो मोडमा नितान्त एक्ला यात्री बनेका छन्। र त भनिदिन्छन्– ‘एक्लै हिँड्न सुरुदेखि नै सिकेको हुँ। पैसाका कारण पनि निकै दुुःख पाएँ। आफैं कमाएर दुःख गरेर पढेँ। अब त लाग्दैन केही। वर्तमानमा जे छ त्यसैमा रमाउनु पर्छ। पैसा कसैले लिएर आएको हैन र कोही लगेर जानेवाला पनि छैन। एक्लै आएको थिएँ, एक्लै जानु पर्छ। जिउँदो हुँदा कोही कसैलाई हेर्दैन मरेपछि सबै रुन्छन्। त्यसैले अरुलाई हाँसीखुसी बाँच्ने प्रेरणा दिन सकूँ।’

प्रकाशित मिति: : 2021-08-21 12:54:00

प्रतिकृया दिनुहोस्