नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो।
जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो। आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ।
नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन्। जर्सीको डिजाइनको विजेता आदर्शले एक लाख रुपैयाँ पुरस्कार पाएका छन्।
यसअघि क्यानले सार्वजनिक गरेको जर्सीमा क्यान पदाधिकारीबाटै विरोध भएपछि जर्सी छनोट खुल्ला गरिएको थियो। जसमा ५०० बढी डिजाइन आवेदन आएको थियो।
जर्सीको अन्तिम टुंगो लगाउनका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो।
आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ। डिजाइन फाइनल भएपछि उक्त जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ।