कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’: जसले गिरिजाकाे काँधमा 'राजतन्त्रकाे मरेकाे घाेडा' बाेकाए

Breaknlinks
Breaknlinks

जनआन्दोलन चरम उत्कर्षमा थियो। ठाउँ-ठाउँबाट विद्रोहको स्वर गुञ्जिन थालेका थिए। गाउँ-गाउँबाट यति धेरै आवाज सुनिएका थिए कि, ती आवाजलाई छेक्न, थुन्न सक्ने साहस कमजोर भईसकेको थियो।

यत्रतत्र सर्वत्र राजतन्त्र फाल्नुपर्छ भन्दै आवाज उठिरहेका थिए। भनौं न, राजतन्त्र डिलमै पुगेको थियो। सत्ता र शक्तिको विरुद्धमा बोल्यो कि ठाउँको ठाउँ कारबाहीको भागिदार हुनै पर्थ्याे।

ठ्याक्कै समय त याद छैन कलाकार दुर्गा बराल 'वात्स्यायन'लाई। जनआन्दोलन चर्किरहेको बेला उनले एउटा कार्टुन बनाएका थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मरिसकेको संवैधानिक राजतन्त्रलाई घोडाजस्तो बनाएर डस्टबिनमा फालिएको छ। गिरिजाले सकि-नसकी त्यो फोहोरको थुप्रोबाट राजतन्त्र उठाएर अघि बढाइरहेकाे देखिन्छन्।

झट्ट हेर्दा हाँसो उठ्ने। तर, धेरै गहकिलो सन्देश दिएको थियो कार्टुनले। कार्टुनले निकै ठूलो बहस सतहमा ल्याएको थियो, त्यो बेला। सत्तापक्ष र प्रतिपक्ष दुई खेमामा बाँडिएर कार्टुनबारे बहस चलेको थियो। कार्टुनिस्टलाई फाँसी नै दिनेसम्मका कुरा पनि उठेको थियो रे ! ‘पत्रकारहरु पनि के लेख्ने-नलेख्ने भन्नेमा थिए। कार्टुनले ठूलै हलचल नै ल्यायो। आन्दोलनकारीहरुलाई बल पनि पुग्यो,’ वात्स्यायनले पूराना दिन सम्झिए।

यो एउटा मात्रै होइन। प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा वात्स्यायनले कार्टुनमार्फत सयौंले गर्न नसकेको विद्रोह गरेका छन्। कान्तिपुरकाे कोसेलीमा छापिने चोटिला कार्टुनले चर्चित कार्टुनिस्टका रुपमा ख्याति कमाएका वात्स्यायनको त्यो भन्दा पर अर्को पनि परिचय छ। कलाकारको। जुन उनको कार्टुन चर्चाले छाँयामा पार्‍यो।

प्रकृतिले जन्माएको कला मोह

अहिलेको पोखरा-१३ आर्बामा उनको जन्म। घरको वातावरण कस्तो थियो भने त्यसै मोहित बनाएर ल्याउने। घरको आँगनबाट दक्षिण भेगमा फाँट देखिन्थ्यो। सूर्य उदाउँदा, अस्ताउँदा घरको बार्दलीबाट लालित्य देखिन्थ्यो। त्यो लालित्यमा उनी मोहित हुन्थेँ रे ! ‘त्यही प्रकृतिकै कारण पनि म कलाकार भएँ,’ वात्सायनले सुनाए।

पोखरा धेरै नामबाट चिनिने शहर हो। सुन्दरताको शहर हो। पोखरा यो मानेमा पनि सुन्दर छ कि, पोखरा वात्सायनको शहर पनि हो। प्रकृतिले नै उनलाई कला त दिएको थियो। त्यसलाई थप निर्खान उनी काठमाडौं पुगे। काठमाडौंमा घरेलु शिल्प कलामा कला पढाउँछन्। मासिक ४५ रुपैयाँ भत्तासमेत दिन्छन् भन्ने उनले थाहा पाएका थिए। ४५ रुपैयाँ पनि पाइने, कला पनि सिक्न पाए अरु के चाहियो ?

घरेलुमा गएर अप्लाई गरे। जाँच लिए। भर्ना भएँ। भर्ना त भए। तर, सुरुमै ३५ रुपैयाँ चाहिँ डिपोजिट काटिने रहेछ। पछि घरेलुमा तीन महिनाजति काम गरे। पैसा पुगेन, काठमाडौँ बस्नै गाह्रो भयो। घरेलुमा छाडेर २/३ महिना बेरोजगार हुन पुगे।

जनक शिक्षा सामग्री केन्द्रमा आर्टिस्ट चाहिएको भन्ने थाहा पाएछन्। कुनै पोस्ट् नलिई काम गर्न थाले। ०२२ सालमा जनक शिक्षा सामग्रीमा जोडिएको थिए। नाै दिनको ५ रुपैयाँमा काम गर्न थाले। त्यहाँ उनले दुई छाँक जोहाका लागि निकै ठूलो पापड बेले।

अनि, सुरु भयो कार्टुनकर्म

न्युरोडमा एउटा डाँफे रेस्टुरेन्ट भन्ने थियो (अहिले छ, छैन)। पत्रकार, लेखकहरू प्राय चियाखाजा खान आउथे। रमेशनाथ पाण्डे जो ‘नयाँ सन्देश’का सम्पादक थिए। एक दिन त्यहाँ थिए। चिनजान भयो। उनलाई पत्रिकामा कार्टुनिस्ट चाहिएको रहेछ। तर, उनलाई कार्टुनको कुनै ज्ञान थिएन।

चित्र कोर्न जानेकै थिए। कार्टुन बनाउन  सम्पादकसँग आर्ट गराउँछु, मलाई कन्सेप्ट दिनुर्पयो भनेर भने। उनकै कन्सेप्टमा कार्टुन बनाउन थाले। त्यो बेला औलामा गन्न सकिने कार्टुनिस्ट थिए।

सम्पादककै कन्सेप्टमा कार्टुन बनाउन थाले। कार्टुन बनाउनुको उद्देश्य भनेकै बनाएबापत अलिअलि भए पनि खर्च आउला भन्ने नै थियो। यसैबिच फाइन आर्ट पढ्न विदेश जान तयारी पनि थाले। तर जान भने पाएनन्। ‘जापानमा तालिम लिन जाने मौका मिल्यो। ३ महिना जापान बसें,’ उनले भने।

काठमाडौं बसाइँ २६ सालमा टुट्यो। उनी पोखरा फर्किए। केही नभए पनि स्टुडियो बनाएर पेन्टिङ गरेरै भए पनि जीविका चलाउछु भन्ने विचारेर उनी जन्मथलो फर्किए। आर्ट जानेकै थिए। धेरथोर सिकिसकेका थिए। पोखराको मोहरिया टोलमा आएर स्टुडियो बनाए। चित्र बनाउन नपाउँदै पर्यटकहरू आएर लगिहाल्थे।

‘सुरुसुरुमा ७५ रुपैयाँमा चित्र बेच्थेँ। त्यो त धेरै सस्तो रहेछ भन्ने थाहा पाएँ। माग बढेर मैले बनाउनै सकिनँ। अनि ७५ को दोब्बर डेढ सय मूल्य राखेँ। ४/५ वर्षपछि बढाएर ६ सय पुर्‍याएँ,’ उनले सुनाए।

धेरै चित्र बनाउँदा बनाउँदा पछि त चित्र पनि बनाउन मन लाग्नै छाड्यो। पछि चित्रकला प्रदर्शनी पनि गर्न लागे। ०३५ सालमा पहिलो पटक काठमाडौँमा एकल चित्रकला प्रदर्शनी गरे।

काठमाडौं छोडेपछि टुटेको कार्टुनकर्म

काठमाडौं छोडेपछि साथीभाई पनि छुटे। पत्रिका पनि उतिसाह्रो आउन्नथ्यो पोखरा। पछि ‘राष्ट्रपुकार’मा कार्टुन बनाउन थाले। कार्टुन बनाएपछि साइकल चढेर एअरपोर्ट गएर डकुमेन्ट गरेर पठाउनुपर्थ्याे। ‘राष्ट्रपुकार’पछि मातृभूमि ‘देशान्तर’, ‘सुरुचि’ र ‘गोरखापत्र’मा। ५२ सालदेखि कान्तिपुरमा  बनाउदै आएका छन्।

सबैका श्रद्धेय वात्स्यायन

कवि तीर्थ श्रेष्ठ र कलाकार दुर्गा बराल ‘वात्सायन’को सम्बन्ध ५० वर्ष पूरानो हो।  वात्सायनको ५ दशक लामो संगत गरिसकेका तीर्थले वात्सायनबारे अघि सुनाए, ‘दुर्गा बराल असल र कुशल कलाकार हो। नेपाली कलामा अति यथार्थवाद् देखाउने कलाकार हो उहाँ। पहिलो चित्रकला प्रदर्शन गर्दा नेपाली नाट्य सम्राट बालकृष्ण समले भनेको सम्झिन्छु, दुर्गा बरालको रुपमा साल्भाडोर डालीको जन्म भएको छ। पछिल्लो कालखण्डमा कलामार्फत नेपाली जनजीवनलाई बलियो ढंगले उभ्याउनु भयो। सो कल्डको विभत्सता देखाएको छ उहाँको कलाले।’

वात्स्यायनले कलाकर्म सुरु गर्नुभन्दाअघि नेपाली जनताको पीडा यसरी कहिले नआएको उनी सुनाउँछन्। ‘द्वन्दपछि पनि उहाँले कला प्रदर्शन गर्नु भयो। द्वन्दले महिला, बालबालिका कति पीडित भएका छन्। क्यानभासका माध्यमबाट कालजयी प्रस्तुत गर्नु भयो। आफ्नो समय। आफ्नो देशका बारे गहन चिन्तन। क्यानभासमा प्रस्तुत गर्ने क्षमता छ,’ उनी भन्छन्।

चन्द्रमान सिंह मास्केले भित्राएको वाटर कलरको प्रयोग गरेर चित्र बनाउने कलालाई उनले देशभर फिजाए। ‘कलाकार कृष्णप्रसाद श्रेष्ठले अघि बढाउनु भएको थियो। देशभरि नै पोखरालाई पानी र कलाको सहरको रुपमा स्थापित गर्न दुर्गा बरालले पानी र कुचि खेलाउनु भयो। अहिलेको सबै चित्रकारमा दुर्गा बरालको पेन्टिङ शैली पोखरेली चित्रकारमा देखिन्छ,’ वात्सायनबारे तीर्थले अघि सुनाए।

नेपाली काटुर्नलाई शसक्त रुपमा उभ्याउने खम्बा हुन्, दुर्गा बराल। जुन ढंगले नेपाली मौलिकतालाई काटुर्नमा पस्के त्यो अरु कसैले गरेका थिएनन्।

व्यंग्य चित्रमा ०२२ सालमा प्रवेश गरेका वात्सायन पोखराली रंगकर्मका मेकअप मेन पनि हुन्। कला, साहित्य, रंगमञ्च, फिल्ममा पनि प्रयोग भएको छ उनको कला। एउटा कलाकार मात्रै होइन। सिंगो वाङमयमा उनकाे ठूलाे योगदान रहेको तीर्थले सुनाए।

वात्स्यायनका केही कार्टुनहरु:

-पुन: प्रकाशित सामाग्री 

प्रकाशित मिति: : 2023-03-07 21:00:00

प्रतिकृया दिनुहोस्