डोल्पाली कृषकलाई आत्मनिर्भर बनाउन सिमीजोन कार्यक्रम लागू 

हिमाली जिल्ला डोल्पामा स्याउ पछि सिमीजोन कार्यक्रम पनि लागू गरिएको छ।

जिल्लाको ठुलिभेरी नगरपालिकाका अन्तर्गत पर्ने १,२,४,५,६,७,८,९,१०,११, काइके गाउँपालिका अन्तर्गत पर्ने वडा नं २,३,४,५ र त्रिपुरासुन्दरी नगरपालिकाका वडा नं ३ र ४ गरेर करिब ३० हेक्टर जमिनमा सिमीजोन क्षेत्र निर्धारण गरिएको छ।

जिल्लाका कृषकहरुलाई दलहन बालीमा आत्मनिर्भर बनाई रैथाने बालीको संरक्षणसँगै बजारीकरण गर्नका लागि सिमीजोन कार्यक्रम लागू गरिएको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वयन ईकाइले स्याउ पछि सिमिजोन कार्यक्रम लागू गरेको हो।

डोल्पाको रैथाने बाली एवं कोशेलीको रुपमा देशका विभिन्न जिल्लाहरुमा निर्यात गरिँदै आएको स्थानीय जातको सिमीको व्यावसायिक उत्पादन गरी विक्रिवितरण गरेर कृषकलाई आत्मनिर्भर बनाउने उदेश्यले सिमीजोन कार्यक्रम लागू गरिएको कार्यालयका निमित्त प्रमुख रामदरेस रायले बताए।

त्यतिमात्र नभई यस कार्यक्रमले परापूर्वकालदेखि उत्पादन हुँदै आएको सिमी बालीको दिगो संरक्षणगर्न समेत टेवा पुग्ने उनको विश्वास छ।

जिल्लाका सरोकारवाला व्यक्तिहरुको राय सल्लाह एवं सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरुको स्थलगत प्रतिवेदनका आधारमा जोन क्षेत्र निर्धारण गरिएको रायले बताए।

दलहन बाली सिमीको उत्पादन, प्याकेजिङ् र बजारीकरणका लागि मात्रै करिब २३ लाख बजेट प्राप्त भएको उनको भनाइ छ।

जोन क्षेत्र निर्धारण गरिएका स्थानीय तहमा रहेको सम्पुर्ण कृषि फर्म, कृषि उद्योग, कृषि समूह र कृषि सहकारीलाई सुचिकृतका लागि सूचना समेत जारी गरिसकेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-06 14:08:00

प्रतिकृया दिनुहोस्