कक्षाकाेठाकाे बेञ्चबाटै छुटेकी आश्मा

कमल आचार्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

म बस्ने बेञ्चकाे अर्को पट्टी केटीको बेच्नमा भखर्रै नयाँ केटी आएको थिइन्।

एक महिनापछि बल्ल त्याे कक्षाकाेठामा एउटा नयाँ केटीको आगमन भएको थियो, जाे असाध्यै राम्री पनि थिइन्।

कक्षाकोठाकाे बेञ्चहरूमा केटाहरुबीच आफ्नाे कब्जा जमाउने खुब हाेडाबाजी चल्थ्याे। कक्षाकाेठामा ती नयाँ केटी आएपछि भने सबै केटाहरूले आफ्नाे बेञ्च खाली भएकाे भन्दै उनलाई आफूसँगै बसाल्न तानातान गर्न थाले।

मसँगै अरु साथीहरुकाे अनुमान के थियाे भने ती केटी पक्कै कि यही विद्यालयकाे पुरानाे विद्यार्थी हाे, कि प्रिन्सिपलकी छाेरी हाे। त्यसभन्दा पहिले ती केटी कुनै कक्षाकाेठा र विद्यालयमै देखिएकी थिइनन्। उनकाे परिचय पाउँन र नजिक हुन अन्य केटा साथीहरू विभिन्न याेजना बनाउँदै थिए। नढाँटी भन्ने हाे भने, मेराे मनमा पनि उनकाे बारे जान्ने काैतुहलता जागिसकेकाे थियाे। तर, मैले बाहिर देखाइनँ। याे मनकाे कुरा मैले मनमै राखेँ।

एकमनले यस्ताे पनि साेच्याे कि- आखिर उ, काे नै पाे हाे र ? उ जस्ता केटीहरू कक्षाकाेठा र विद्यालयमा कति छन् कति ! ७० भन्दा बढी विद्यार्थीहरूकाे बीचमा खास हुन उ सँग के नै पाे खासियत छ र !

उनी अङ्ग्रेजी विषयमा ट्यालेन्ट रहिछन्। अङ्ग्रेजी भाषा पनि खरररर बाेल्थिन्। याे देखेर मेराे साथीहरू त ट्वा परे-परे, म पनि अचम्मित भएँ।

म र मेरा साथीहरूकाे अङ्ग्रेजी भने उस्तै थियाे- न व्याकरणकाे ज्ञान, न शब्द र उच्चारणकाे ज्ञान। उनी अङ्ग्रेजी बाेल्दा यस्ताे लागिरहेकाे थियाे कि, उनी कुनै बाह्य देशबाट आएकी हुन्।

पछि विस्तारै मैले थाहा पाए, उसकाे नाम रहेछ- आश्मा। उनी हाम्राे कक्षाकाेठामा भर्ना भएकाे नयाँ केटी भए पनि त्याे विद्यालयसँग उनकाे सम्बन्ध भने वर्षाै पुरानाे रहेछ।

उनकाे हजुरबुबा विद्यालयकाे प्रिन्सिपल र आमा साेही विद्यालयकै स्थायी शिक्षक हुनु हुँदाेरहेछ।

म विद्यालयमा भर्ना हुनुअगावै उनकाे हजुरबुबा र आमाले कक्षाकाेठाका सबै विद्यार्थीहरुलाई भन्नु भएकाे रहेछ- 'आश्मा नाम गरेकी एउटा केटी आउँदैछे। उसलाई सबैले पढाइमा सहयोग गर्नु।'

सायद यही कारणले हाेला, ती केटीलाई अन्य केटी साथीहरुले नै इज्जत र सम्मानजनक व्यवहार गर्थे।

त्यो सब जानेपछि मलाई उसँग कुरा गर्ने रहर लाग्याे। यस विषयमा मलाई मेराे साथीहरुले केही हदसम्म उक्साए पनि। तर, उनीहरूकै उक्साहटले ती केटीसँग बाेल्नकाे लागि आत्मविश्वास जागेकाे थियाे।

एकदिन कक्षाकाेठामा मैले छेवैकाे साथीलाई भने, 'ओइ, सुन न यार ! मलाई त्यो केटी राम्री लाग्छे। कुरा गर्ने वातावरण मिलाइदेउन। बरू म तिमीलाई दामी नास्ता खुवाउँछु।'

यत्तिकैमा अगाडि 'इकोनोमिक्स' पढाइरहनु भएकाे शिक्षकले भन्नुभयाे, 'केटाहरू के को हल्ला हो याे ?'

हामी एकछिन शान्त बस्याैँ। तर केही मिनेटपछि हाम्राे ताल उस्तै। त्याे केटीसँग जसरी पनि बाेल्ने काैतुहलताले हामीलाई हल्ला गर्न राेक्न सकेन। र यसपटक भने शिक्षककाे आदेश अनुसार म र मेराे साथी कक्षाकाेठाबाटै बाहिर निस्कन बाध्य भयाैँ।

नढाटी भन्दा, कक्षाकाेठाबाट बाहिरिएपछि मेराे मनमा लड्डु फुटिरहेकाे थियाे। मलाई झन् साथीसँग ती केटीसँग बाेल्ने वातावरण बनाइदिन सजिलाेसँग कुरा गर्ने अवस्था आयाे।

ती साथीसँग बाहिरिएपछि म दाेस्राेपल्ट 'सर्प्राइज्ड' भएँ। कारण, ती साथीले पनि ती केटीलाई पहिल्यैदेखि चिन्दा रहेछन्। उनीहरूले एउटै 'वाेर्डङ स्कूल'मा पढेका रे !

त्यसाे त मलाई त्याे साथीले आफ्नाे बारेमा पनि भनेकाे थियाे, 'मेराे जिन्दगीमा पनि काेही छ यार !' 

त्यतिबेला अचानक मेराे मनमा विभिन्न अनुमानहरू खेल्न थाले- 'कतै मेराे साथीले मन पराएकाे केटी पनि त्यही मैले भनेकाे केटी त हाेइन?'

तर विस्तारै बुझ्दै जाँदा उनीहरू राम्राे साथीमात्र रहेछन्। धन्न म बचेँ। उनी मेराे लागि सुरक्षित भएकाे साेचेँ।

त्यसकाे केही दिनपश्चात मेराे केटा साथीहरूले त, मलाई नै ती केटीकाे नामले बाेलाउन थाले। जिस्काउन थाले। वास्तवमा ती केटीसँग बाेल्ने मेराे हिम्मत नभए पनि उसकाे नामले जिस्काउँदा भने मनमा आनान्द लाग्थ्याे। तर बाहिर भने देखाइनँ। त्यसकाे केही दिनकै फेरि याे कुरा केटीहरुकाे कानमा पुगेछ। र अन्ततः केटीहरुले नै याे कुरा आश्माकाे कानसम्म पुर्याए।

आश्माले सबै कुरा थाहा पाइछन्। पछि त उनले मलाई ठूला आँखाले तर्केर हेर्न थालिन्। उनकाे हेराइबाट म डराएँ। राताे-पिराे भएँ।

करिब एक महिनापछि कुराकानीकाे लागि उनले मलाई आफै बोलाइन्। तर म थिए सर्ट-पाइन्ट र कालो चप्पलमा, उनी थिइन् सेतो सर्ट, कालो पाइन्ट र महंगाे जुत्तामा।

आश्मासँग पहिलाेपल्ट भेटेपछि फेरि मेरा साथीहरुले नयाँ माहाेल बनाए, पार्टी दिनुपर्छ भनेर। यसमा मैले कुनै लाेभ भने गरिनँ। साथीहरूले भनेबमाेजिम नै समोसा मटर र चाउमिनको पार्टी दिएँ।

विस्तारै उनीसँग कुराकानी हुन थाल्यो। उनीसँग साइकल थिएन। उनको घर विद्यालयकाे नजिकै भएर पनि होला, साथीहरुसँगै हिँड्दै जान्थिन्।

उनका साथीहरुले पनि आश्मालाई जिस्काउथे, 'जा, गएर साइकलमा बस् न !'

कुनैदिन विद्यालय नआउँदा साझ फर्किने बेलामा उनको घरअगाडि साइकल लिएर उभिन्थेँ। साइकलको चेन बनाएजस्तो गर्दै दायाँबायाँ नजर डुलाउथेँ।

सधैँ यसरी नै विद्यालय जान्थेँ। उ घरबाट निस्कनुभन्दा दश मिनेट पहिल्यै म उनकाे गेटमा पुग्थेँ। सँगै बसेर विद्यालय जाने हिम्मत भने कहिल्यै आएन।

हिम्मत नभए पनि मैले सधैँ कल्पना गर्थे, उनलाई साइकल पछाडि राखेर विद्यालय गएकाे।

आजकल लाग्छ, जति बढि कुराकानी र भेटघाट गर्यो उति सम्बन्ध बलियो हुँदोरहेछ। तर उतिबेला लुकि-छिपी उसलाई हेर्दा नै मनमा खुसी मिल्थ्यो। उसकाे एक झलक पाउनकै लागि के के पाे गरिनँ र !

उतिबेला सामाजिक सञ्जाल‌ नभएर पनि हाेला, अचेलकाे प्रेमभन्दा वेग्लै महशुस हुन्थ्याे।

एउटा महिनाकाे अन्तिममा विद्यालयका शिक्षक र साथीहरूले शैक्षिक भ्रमणकाे लागि लुम्बिनी जाने याेजना बनाए। लुम्बिनी जाँदा गाडिमा आश्मा र म सँगैकाे सिटमा बसेका थियाैँ। तर बाेल्ने हिम्मत नै आएन।

अहिले त्याे क्षण सम्झदाँ म साँच्चीकै कायल हुन्छु।

लगभग नाै महिनापछि उनी पाल्पा जाने भइन्। उतै मामाघरमा बसेर पढ्ने रे। त्यतिबेला भने मेराे मन खिन्न बन्याे। उदास बन्याे।

उनी पाल्पा गइसकेपछि पनि मैले उनको घर अगाडि साइकल रोकेर उनी निस्कने गेटलाई हेरेर टाेलाइरहन्थे। कुनै चार्डपर्वकाे बिदामा उनी त्यही गेटमा आउँछिन् कि भनेर खुब कुरेँ। तर अहँ, उनी आइनन्।

त्यसयता आजसम्म पनि आश्मासँग भेट भएकाे छैन। उनी कहाँ छिन्, के गर्दै छिन्, कस्ताे अवस्थामा छिन्, काेसँग छिन् जस्ता प्रश्नहरूले आज पनि मन बेचैनी हुन्छ।

सायद, गल्ती मेरै थियाे। नचाहदा-नचाहदै मैले उनलाई आफ्नाे बनाउने माैका गुमाएँ।

प्रकाशित मिति: : 2021-09-18 20:09:00

प्रतिकृया दिनुहोस्