‘छकालै’ चर्चा

सुजन अधिकारी

एउटा समूह छ । जहाँ २० जना कथाकारको ऊर्जा छ । ती ऊर्जावाहक आत्मालाई सुन्दा लाग्छ, हरेकको धड्कन अलग–अलग छ । पुस्तकको आवरणमा ती ऊर्जाहरूलाई साझा बनाएर लेखिएको छ, ‘छकालै’ ।

छकालैले पूर्वी नेपालतिर बिहानै भन्ने अर्थ बोक्छ । त्यही बिहानै सुदूरपश्चिम पुग्दा छकालै हुन्छ । यसरी एउटै साझा बारीमा भाषा, शब्द र तिनका अर्थका बोटहरू भिन्न महत्त्व र विशेषता बोकेर उभिएका छन्, नेपाली माटोमा । जे होस् हामीकहाँ सयौँ भाषाहरू मिली बनेको एउटा ठूलो पहाड छ । जो बहुरंग ओढेर सजिएको छ ।

हाम्रो परम्परा, संस्कार, संस्कृति, दैनिकी र वर्तमान युगमा हामी तथा हाम्रो समाजजस्ता विषयलाई निकै गहन रूपमा लिनुपर्छ । यही संसारभित्र हुर्किएका र आ–आफ्ना परिवेशलाई राम्रोसँग छामेका अनुहारहरूले जुटाएको प्रमाण हो, छकालै ।

समकालीन कथाकारहरूको संयुक्त कथा संग्रह ‘छकालै’मा नेपालका अलग–अलग भूगोलभित्र आफ्नै अवस्थिति बोकेर बाँचिरहेका दृष्यहरूको क्लिष्ट चित्रलाई नियाल्न सकिन्छ । नेपालभित्रका भिन्न–भिन्न भूगोलको सांस्कृतिक, भाषिक, सामाजिक, विभिन्न आयाम र विविधताभित्रको सौन्दर्यलाई एउटै गमलामा रोपेर अनेक रङहरूको फूल फुलाउने प्रयत्न गर्नु वर्तमानको सबैभन्दा उत्कृष्ट कार्य हो ।

प्रकाशित मिति: : 2021-09-25 10:46:00

प्रतिकृया दिनुहोस्