गुलियो अंगुरले कृषकलाई दिन थाल्यो अमिलो पीडा

Breaknlinks
Breaknlinks

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायतका स्थानमा व्यवसायिक अंगुर खेती गरिएको छ।

नगरिपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको अंगुर खेतीले फल दिन थालेको दुई वर्ष भयो। अघिल्लो वर्षजस्तै यस वर्ष पनि लटरम्म अंगुर फलेको छ।

रहर लाग्नेगरी फलेको अंगुर देख्दा फर्ममा पुग्ने जो काेहीको पनि मन लोभिने गर्छ। तर,अंगुर कृषकलाई भने लटरम्म फलेको अंगुर देख्दा चिन्ताले पिरोल्न थालेकाे छ।

फर्ममा लटरम्म फलेको पुष्ट दाना भएको अंगुर बिक्री नभएर बोटमै कुहिन थालेपछि कृषकलाई चिन्ताले पिरोल्न थालेकाे हाे।

गुलियो अंगुरको अमिलो पिडा

डोल्पालीलाई गुलियो अंगुरको स्वाद चाख्न जहाज नै चढेर नेपालगञ्ज र सुर्खेतलगायतका बजारमै झर्नु पर्थ्याे। कि त जहाजमा प्रतिकिलो एक सय रुपैयाँ तिरेर झिकाएर खानु पर्थ्याे।

यसरी झिकाइएको अंगुर पेटभरी होइन, चाख्नमात्र पाइन्थ्यो। तरअब समय फेरिएको छ।

त्रिपुरासुन्दरी नगरपालिकामै फालाफाल अंगुर उत्पादन हुन थालेकाे छ। बिहान-दिउँसो-साँझ जुनसुकै समयमा पनि डोका वा बोरामा अंगुर पुग्छ।

कुनै बिषादी नहालेको गुलियो कालो अंगुर पेटमा अटाए ति खान पाइन्छ। तर,अर्गानिक अंगुर नबिकेपछि कृषकलाई गुलियो अंगुरले अमिलो पिडा दिन थालेको छ।

त्रिपुरासुन्दरी १ मा बस्ने सुस्मिता श्रेष्ठले खाँती ज्युलामा व्यवसायिक अंगुर खेती गरेकी छन्। श्रेष्ठले स्थानीय जातको सिमि, मकै, कोदोलगायतका अन्नबाली हटाएर अंगुर खेती सुरु गरेकी हुन्।

चार रोपनी क्षेत्रफलमा सुरु गरेको अंगुरले हाँगै झुक्ने गरि फल्न थालेको दुई वर्ष भयो। सुरुमा नगरपालिकाबाट अनुदानमा पाएको अंगुर रोप्न पाउँदा र लगाएको अंगुर पहिलो वर्ष फल्दा उनीमा जति उत्साह थियो, अहिले त्यो उत्साह आधा घटेको छ।

यस वर्ष आफ्नो फर्ममा करिब पन्ध्र क्विन्टलसम्म अंगुर फलेको श्रेष्ठले बताइन्। फलेको सबै अंगुरको एक भाग पनि बेच्न नसकिएको भने उनको गुनासो छ।

नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लगेर बेच्न पाए चार लाखसम्मको अंगुर उत्पादन भएको उनको भनाई छ। 'अरु परम्परागत खेती हटाएर अंगुर खेती सुरु गरेँ। फर्ममा लाखौँको अंगुर फलेको छ। तर बजार नहुँदा अंगुर त्यसै कुहिँदै आएको छ, घरमा आर्थिक संकट हुन थालिएकाे छ,'श्रेष्ठले भनिन्।

'गत वर्ष बीस-पच्चीस हजारको अंगुर बेचेँ, यस वर्ष मुश्किलले पचास हजारसम्म बिक्री भयो होला। अरु सबै कुहिएर खेर गइरहेको छ। दुख कष्ट गरेर हुर्काएको अंगुर बिक्री नहुँदा मन दुख्छ', उनले सुनाइन्।

उनले थप्दै दुखेसाे पाेखिन्, 'डोल्पामा अंगुर बेच्न समस्या छ। डोकोमा बोकेर गाउँ–गाउँ, मेला पर्वमा पुर्‍याएर प्रतिकिलो एक सय रुपैयाँमा दिँदा पनि बिक्री हुँदैन्। गुलियो अंगुरले अमिलो पिडा दिएको छ।'

स्थानीय सरकारले बजारको सुनिश्चतता गरेको भए कृषकहरु आत्मनिर्भर भई आर्थिक हिसाबमा पनि मजबुत हुनसक्ने उनकाे तर्क छ।

'एक जना मान्छे नै खटाएर अंगुरको रेखदेख गर्नुपर्छ। कुनै निकायबाट घेरवारको व्यवस्था गरिदिएको भए धेरै राहत हुने थियो', उनले भनिन्।

त्यस्तै अर्का कृषक कमल हमालको पिडा पनि उस्तै छ। उनले पनि १५ क्विन्टल सिमि र मकै उत्पादन हुने पाँच रोपनी खेतमा अंगुर लगाएका छन्।

अंगुरले लटरम्म फलेको छ। फर्ममा तीन लाखसम्मको अंगुर फलेको उनि बताउँछन्। तर पनि उनले यस वर्ष मुश्किलले पच्चीस हजारको मात्र अंगुर बिक्री गरे।

'जिल्लाका मुख्य बजारका रुपमा रहेका त्रिपुराकोट, दुनै, जुफाल लिकुमा एउटै कृषकको अंगुर कट्न गाह्रो हुन्छ, अरु चालीस पचास जना कृषकको अंगुर बिक्ने कुरै भएन्', हमालले भने।

'बजार अभावमा वर्षेनी लाखौँ मुल्यको अंगुर त्यसै खेर जान थालेको छ। घरमा खाएर, आफन्तलाई बाँडेर पनि नसकिने अंगुर छ। रातदिन मान्छे खटाएर फलाएको अंगुर बोटमै कुहिएको देख्दा मन पिडाले भरिन्छ', उनले सुनाए।

'नगरपालिकाले अंगुर खपतकालागि कि ढुवानी अनुदान कि त वाइन प्रशोधन मेसिन ल्याई दिएको भए राम्रो आम्दानी हुन्थ्यो कि भन्ने आशा छ। होइन भने प्रत्येक वर्ष सयौँ क्विन्टल अंगुर खेर जान थालेको छ। अब काटेर फाल्नुबाहेक अरु कुनै विकल्प छैन्', उनले दुख पाेखे।

त्रिपुराकोट, गल्ली, रल्ली, रंग र खदाङ्गमा गरेर चालीस पचास जना कृषकले व्यवसायिक अंगुर खेती गर्दै आएका छन्।तर,उनीहरु सबैको लाखौँ मुल्य बराबरको हजारौँ किलो अंगुर वर्षेनी बोटमै कुहिएर खेर जाने अवस्था छ।

दुई करोडभन्दा बढीकाे लगानी

त्रिपुरासुन्दरी नगरपालिकाले व्यवसायिक अंगुर खेतीकालागि पटक-पटक गरेर दुई करोड चालीस लाख रुपैँया खर्च गरेको छ।

नगरपालिकाले व्यवसायिक अंगुर खेती गर्न इच्छुक कृषकलाई निशुल्क बिरुवा वितरणदेखि एंगल र जाली खरिदका लागि सो रकम खर्चिएको हो।

स्वर्गीय मेयर बुढाको योगदान

कृषकलाई आत्मनिर्भर बनाई नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन स्वर्गीय मेयर ओम बहादुर बुढाले भारतको नासिक पुगेर अंगुरका बिरुवा खरिद गरि ल्याएर कृषकहरुलाई वितरण गरेका थिए।

अंगुरकालागि उर्वर माटो भएकै कारण व्यसायिक अंगुर खेतीमा बुढाले जोड दिए।

मेयर बुढा कृषि भन्नेबित्तिकै हुरुक्कै हुन्थे। उनले कृषि व्यवसाय गरेर खान्छु भन्ने कृषकलाई नगरपालिकाबाट सक्दो सहयोग गरे।

भारतको नासिकमा जस्तै अंगुर फलाएर आत्मनिर्भर बनाउने सपना साकार पारेका कृषि प्रेमी मेयर बुढाजस्तै नेतृत्व नगरले बिरलैमात्र पाउने कृषकहरुको भनाई छ।

प्रत्येक वर्ष उत्पादित अंगुर खपतकालागि नगर क्षेत्रमै प्रशोधन केन्द्र खोल्ने मेयर बुढाको सपना भएकाले उनी जिवित भएको भए बजारीकरणको समस्या भोग्नु नपर्ने कृषकहरुले भनाई छ।

यस वर्ष अंगुर फर्म घेरवारकालागि बजेट छुट्याए पनि सबै रकम कोरोना नियन्त्रणमा खर्च भएको प्रमुख प्रशासकिय अधिकृत पृतिभक्त गिरीले बताए।

अंगुर कृषकलाई मध्यनजर राख्दै अर्को वर्षदेखि घेरावार, ढुवानी अनुदानलगायत अंगुरको बजारीकरणकालागि विशेष कार्यक्रम ल्याइने गिरीको भनाई छ।

प्रकाशित मिति: : 2021-10-02 17:42:00

प्रतिकृया दिनुहोस्